स्वास्थ्य मन्त्रालयले फेरी भन्यो, ‘सरकारी संस्थामा विदा लिएर निजी तथा गैरसरकारी संस्थामा काम गर्न पाईदैन’

'त्यसरी काम गरेको भेटिए विदा रद्ध र कार्वाही समेत हुन्छ'

काठमाडौँ, २४ बैशाख । अहिलेसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र त्यस मातहतका निकायमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले  विदा लिएर निजी स्वास्थ्य संस्था तथा गैर सरकारी संस्थामा काम गर्नु नौलो विषय थिएन ।

तर, अहिले भने मन्त्रालयले सरकारी कर्मचारीले यसरी विदा लिएर बाहिर काम गर्न नमिल्ने भन्दै गरेको खण्डमा कार्वाही भोग्नु पर्ने चेतावनी दिन थालेको छ ।

स्वास्थ्य मन्त्रालयमा प्रशासन तर्फको सचिवको जिम्मेवारीमा आएका मधुसुदन बुर्लाकोटीले आज दोस्रोपटक सूचना निकाली यसबारेमा जानकारी गराएका छन् ।

प्रतिष्ठानहरु, विभागहरु, अस्पतालहरु र केन्द्रहरु सबैलाई सम्वोधन गरी जारी गरिएको निर्देशनात्मक सूचनामा मन्त्रालय अन्तर्गतका कतिपय चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले अध्ययन, असाधारण, घर विदा, विरामी विदा, भैपरी आउने र पर्व विदा जस्ता विदा लिएर बाहिर काम गरेको गुनासो प्राप्त भएको उल्लेख गरेका छन् ।

उनले स्वास्थ्य सेवा ऐन २०५३ र नियमावली २०५५ मा सबै सरकारी कर्मचारीको समय नेपाल सरकारको अधिनमा हुने र विदा अधिकारको कुरा होइन सहुलियत मात्रै हो भन्ने स्पष्ट कानूनी व्यवस्था रहेको उल्लेख गरेका छन् ।

पत्रमा जुन उदेश्यका लागि विदा लिइएको सोही प्रयोजनमा उपयोग गर्नु पर्ने हुन्छ भन्दै एउटा विदा लिएर अर्को काम गरेको भेटिए विदा रद्ध गरी कार्वाही हुने चेतावनी दिएका छन् ।

सचिव बुर्लाकोटीले स्वदेशी तथा विदेशी निजी स्वास्थ्य संस्थाहरुले सरकारी चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीले त्यस्तो कार्य गरेको देखिएमा मन्त्रालयमा तथा सम्वन्धित निकायमा जानकारी गराउन समेत आम सर्वसाधारणसंग अनुरोध गरेका छन् ।

सचिव बुर्लाकोटीले यसअघि पनि यहि प्रकारको सूचना जारी गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *