‘दिदीको हातबाट टिका लगाउँछु तर बिरामीसंगै हुन्छु’

डा. सुदीप श्रेष्ठ ( बरिष्ठ क्यान्सररोग विशेषज्ञ ) – नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि

तिहार असाध्यै मन पर्छ । यसपटक पनि मैले मेरो दिदीको हातबाट टिका लगाउँदै छु । टिका लगाइदिन दिदी आफै मेरो घरमा आउनुहुन्छ । हामी नेवार समुदायमा तिहारका बेला दिदी बहिनीहरु नै दाजु भाईको घरमा आउने चलन हुन्छ । उहाँहरु धेरै परिकार सहितका कोशेली (सगुन) लिएर आउनु हुन्छ ।

मेरो घरमा तीन पुस्ताले एकै पटक टिका लगाउँदै छ । बुबाको पुस्ता, मेरो पुस्ता र मेरा छोराछोरीको पुस्ता । त्यसैले पनि निकै रमाइलो हुन्छ ।

जुवातास खेल्ने चलन छैन
कतिपयले तिहारमा जुवातास खेलेको देखेको छु सुनेको छु । कतिपयले यसलाई परम्परा र संस्कृतिको रुपमा पनि लिएको पाएको छु । तर मलाई यस्तो खेल्न मन पर्दैन । हाम्रोमा खेल्ने चलन पनि छैन् । अर्को कुरा मलाई यस्तो खेल्ने फुर्सद पनि हुँदैन् ।

प्राथमिकता विरामीकै सेवामा
पेशाले डाक्टर भएकोले जुन सुकै बेला पहिलो प्राथमिकता त बिरामीमा नै हुने भयो । त्यसमाथि हामीले सञ्चालनमा ल्याएको नेपाल क्यान्सर अस्पतालको नेतृत्व गर्नुपर्ने भएकोले थप जिम्मेवारी म माथि छ । अझ चाडबाडको बेलामा त्यो जिम्मेवारी थप बढ्छ ।

त्यसैले हामीले चाडबाडका बेलामा पनि पुरा ध्यान रंग रमाइलोमा खर्चिन पाउँदैनौँ । बिरामीको अवस्था तथा उपचारमा नै बढी केन्द्रीत हुनुपर्छ । यसपटक मैले भाइटिकाको दिनमा शल्यक्रिया राखेको छैन् । त्यसबाहेक अरु सेवा सुचारु हुनेछ । फेरी मेरो घर र अस्पताल संग संगै जस्तो भएकोले पनि म बिरामीसंगै नजिक रहेर पर्व मनाउँछु । हामी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले पालो गरेर टिका लगाउने र चाडपर्व मनाउने योजना छ ।

दिदीलाई दक्षिणामा जिन्सी सामान
तिहारमा दिदीको हातबाट टिका लगाउने आशिर्वाद लिने, परिकार खाने, उपहार लिने अनि दिदीलाई पनि टिका लगाएर दक्षिणा तथा उपहार दिने चलन छ । मैले पनि सोही परम्परा पच्छ्याउने गरेको छु ।

नगदै भन्दा पनि दिदीलाई दक्षिणा स्वरुप जिन्सी सामान (कपडा साडी) दिन्छु होला । फेरी दक्षिणको कुरा आफ्नो गच्छे अनुसार नै दिने हो । स सानो बेलामा दक्षिणा नगदको निकै महत्व हुन्थ्यो । अहिले चाँही भेटघाट र आशिर्वाद महत्वपूर्ण लाग्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *