बलात्कार केशलाई ‘होइन’ भन्दै गलत रिपोर्ट दिने दुई डाक्टरमाथि काउन्सिलको कारबाही

काठमाडौँ, २४ असोज । बलात्कृत बालिकाको शारीरिक जाँचका क्रममा गलत रिपोर्ट दिने दुई जना चिकित्सक कारबाहीमा परेका छन् । नेपाल मेडिकल काउन्सिलले गलत रिपोर्ट दिने जनकपुर अञ्चल अस्पतालमा कार्यरत डा विजयकुमार सिंह र डा रम्भा गोइतलाई कारबाही गरेको हो ।

काउन्सिलको मंगलबार बसेको बैठकले अर्को व्यवस्था नभएसम्म उनीहरुको व्यावसायिक प्रमाणपत्र (लाइसेन्स) निलम्वन गर्ने र चिकित्सकीय अभ्यासबाट बन्चित गराउने निर्णय गरेको छ ।

के भएको थियो घटना ?
घटना गत भदौ ८ गते राती पौने ११ बजेको हो । जनकनन्दनी गापा २ धनुषा बस्ने करण मण्डलले आफ्नी १२ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको भन्दै अभिभावकहरु प्रहरीमा उजुरी गरे ।

अर्को दिन विहानै बालिकाको शारीरिक परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल लगियो । तर त्यहाँ कार्यरत डाक्टरहरुले बलात्कार नभएको रिपोर्ट दिए । बालिकाका अभिभावकलाई सो रिपोर्ट चित्त बुझेन र पुन जिल्ला अस्पताल सिराहामा लगेर शारीरिक परीक्षण गराए ।

त्यहाँको रिपोर्ट जनकपुर अञ्चल अस्पतालका डाक्टरले लेखिदिएको भन्दा फरक आयो ।

बालिका बलात्कारको शिकार भएको रिपोर्टले देखायो । बलात्कार जस्तो जघन्य केशमा दुई अस्पतालका डाक्टरबीच रिपोर्ट फरक परेको खबर सार्वजनिक भएपछि नेपाल मेडिकल काउन्सिलले सदस्य कालुसिंह खत्रीको संयोजकत्वमा चार सदस्यीय छानवीन टोली गठन गरयो ।

जसमा फरेन्सिक विज्ञ प्राडा हरिहर वस्ती र प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा मधु तुम्बाहाम्फे र स्वास्थ्य मन्त्रालयका उपसचिव पुस्कर नेपाल सदस्य थिए ।

उनीहरुले मंगलबार बुझाएको प्रतिवेदनमा चिकित्सकद्धय सिंह र गोइतले न्युनतम चिकित्सकीय आचारण तथा व्यवहार विपरित मेडिकल रिपोर्ट दिएको उल्लेख भएपछि काउन्सिलले तत्कालै उनीहरुमाथि एक्सन लिएको हो ।

छानवीन समितिलाई अटेरी गरेका अर्का चिकित्सक एक साता भित्र उपस्थित हुन उर्दी
यसैबीच काउन्सिलले शारीरिक जाँचका क्रममा फरक रिपोर्ट दिने सिराहा जिल्ला अस्पतालका डाक्टर राकेशकुमार सिंहलाई सात दिन भित्र उपस्थित भई प्रष्टिकरण दिन उर्दी जारी गरेको छ ।

काउन्सिलले यस अवधी भित्र समेत अटेरी गरी बसे लाइसेन्स निलम्बन गरिदिने र चिकित्सकीय अभ्यासबाट समेत बन्चित गराउने चेतावनी दिएको छ ।

डा सिंहले छानवीन टोलीले जनकपुर बोलाउँदा म आउँदिन भनेर अटेरी गरेको सदस्यहरु बताउँछन् ।

काउन्सिलले गरेको निर्णयको पूर्ण पाठ यस्तो छ :

नेपाल मेडिकल काउन्सिलको मिति २०७५।०६।२३ गतेको निर्णय :
मिति२०७५।०५।०८ गते राती २२ः४५ बजेको समयमा जिल्ला धनुषा जनकनन्दनी गा.पा वडा नं. २ बस्ने करण मण्डलले नावालिग बालिका बर्ष १२ कि नाम परिवर्तित खजुरी १ लाई जबरजस्ती करणी गरेपश्चात मिति २०७५।०५।०९ गते निज पीडितलाई जनकपुर अञ्चल अस्पतालमा शारीरिक जाँच गर्ने चिकित्सकहरु डा. विजयकुमार सिंह(दर्ता नं. ३१५५) र डा.रम्भा गोइत (दर्ता नं. १०२०६) तथा सोहि बालिकाको मिति २०७५।०५।२५ मा शारीरिक जाँच गर्ने सिराहा जिल्ला स्वास्थ्य कार्यालय (सिराहा जिल्ला अस्पताल) सिराहाका चिकित्सक डा. राकेशकुमार सिंह (दर्ता नं. २१२२७) को प्रतिवेदन फरक पर्न गएको हुँदा यसमा केकसो भएको हो भनि दुबै प्रतिवेदन प्रतिलिपि र सिडि राखी एकिन रिपोर्टका लागि मिति २०७५।०६।०२ को जिल्ला सरकारी वकील कार्यालय, धनुषा, मिति २०७५।०६।१६ को महान्यायधिवक्ताको कार्यालय, काठमाडौ रमिति २०७५।०६।१८ र २० गतेको गृह मन्त्रालयको पत्र प्राप्त हुनआएको सन्दर्भमा नेपाल मेडिकल काउन्सिलले मिति २०७५।०६।१९ गते काउन्सिल सदस्य डा. कालुसिंह खत्रीको संयोजकत्वमा प्रा.डा. हरिहर वस्ती (फरेन्सिक विज्ञ), डा. मधु तुम्बाहाम्फे (प्रसुती तथा स्त्री रोग विशेषज्ञ) र श्री पुष्करराज नेपाल (स्वास्थ्य मन्त्रालयका कानून उपसचिव) रहने गरि बनाएको छानविन समितिले मिति २०७५।०६।२३ गते बुझाएको प्रतिवेदन तथा व्यवसायिक आचरण समितिको सिफारिस उपर बहस छलफल हुँदानिम्नानुसार निर्णय भयो ।
१. जनकपुर अञ्चल अस्पतालमा निज पीडित वालिकाको शारीरिक जाँच गर्ने चिकित्सकहरु डा.रम्भा गोइत र डा. विजयकुमार सिंहले न्युनतम चिकित्सकिय आचरण तथा व्यवहार विपरित मेडिकल रिपोर्ट दिएको ठहरभएकाले निज चिकित्सकहरुलाई अर्को निर्णय नभएसम्मका लागि निजहरुको व्यवसायिक प्रमाणपत्र निलम्बन गर्ने र चिकित्सकिय अभ्यासबाट बञ्चित गराउने । यसको जानकारी सम्बन्धित चिकित्सकहरु तथा सरोकारवाला कार्यालयहरुलाई तत्काल जानकारी गराउने ।
२. काउन्सिलले गठन गरेको छानविन समितिले बयानका लागि बोलाउँदा अटेर गरिबस्ने सिराहा जिल्ला स्वास्थ्य कार्यालय (सिराहा जिल्ला अस्पताल) सिराहाका चिकित्सक डा. राकेशकुमार सिंहलाई सात दिनको म्याद दिई प्रष्टिकरणका लागि काउन्सिलको कार्यालय, बाँसबारीमा उपस्थित हुन सूचित गर्ने । निज डा. राकेशकुमार सिंह उक्त हदम्याद मितिसम्म विना कुनै मनासिव कारणहाजिर नभए वा अटेरगरि बसे निजको व्यवसायिक प्रमाणपत्र निलम्बन गर्ने र चिकित्सकिय अभ्यासबाट बञ्चित गराउने । यसको जानकारी सम्बन्धित चिकित्सक तथा सरोकारवाला कार्यालयहरुलाई तत्काल जानकारी गराउने ।
३. नेपाल मेडिकल काउन्सिलले बनाएको छानविन समितिले दिएको प्रतिवेन अनुसारको सुझाव कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालय मार्फत सरोकारवाला सम्वन्धित निकायमा पठाउने ।
डा. कृष्णप्रसाद अधिकारी
प्रवक्ता तथा कार्यकारी सदस्य
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *