१८ बर्ष मुनिकालाई चुरोट बेचे पाँच सय जरिवाना, किन्नेसंग तीन सय असुल्ने

पाल्पा, २२ भदौ । पूर्वखोला गाँउपालिकामा १८ बर्ष मुनिका बालबालिकालाई धूमपान तथा मध्यपानका पदार्थहरु खरीद विक्रीमा रोक लगाइएको छ । स्थानीय उद्बुद्ध कलेजको स्वतन्त्र विद्यार्थी युनियनको अगुवाईमा बालबालिकाहरुलाई धूमपान तथा मध्यपानका पदार्थहरु खरीद विक्रीमा रोक लगाइएको हो ।

स्ववियूले विहीबार इलाका प्रहरी कार्यालय पूर्वखोला, होटल संचालक, किराना व्यापारी, स्थानीय अगुवाहरुसंग छलफल गरी यो निर्णयमा पुगेको जनाएको छ ।

उसले यो निर्णयको वेवास्ता गर्दै १८ बर्ष मुनिका बालबालिकाहरुलाई धूमपान ( चुरोट, खैनी, पुकार, भोला जस्ता पदार्थ) मध्यपान ( जाँड रक्सी) जस्ता पदार्थ बिक्री गरे त्यस्ता व्यापारीलाई पहिलो पटक ५ सय रुपैयाँ र दोस्रो पटक १ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने नियम बनाएको छ ।

त्यस्तै नियमको अटेरी गरी धूमपान तथा मध्यपानका बस्तुहरु खरीद गर्ने बालबालिकासंग पहिलो पटक भए ३ सय रुपैयाँ र दोस्रो पटक भए ५ सय रुपैयाँ असुल गर्ने जनाएको छ ।

स्ववियूले घटना निरन्तर दोहोरयाएमा दुबै पक्षलाई हदैसम्मको कारवाही गरिने जनाएको छ ।  उसले यसरी खरीद विक्री भएको थाह दिने सूचनाकर्तालाई उचित पुरस्कार दिने समेत जनाएको छ ।

उद्बुद्धको स्ववियूले यसअघि पनि यस्तो अभियान चलाएको थियो । तर त्यसबेला खरीदकर्तालाई जरिवानाको कुरा त्यतिखेर उल्लेख थिएन ।

स्ववियू अध्यक्ष नविन आचार्यले युवापुस्तामा बिकृतिको रुपमा फैलिएको धूमपान तथा मध्यपानको कुलतमा युवापुस्ता नफसुन र त्यसमा व्यापारी तथा होटल सञ्चालकहरुले सहयोग गरुन भनेरै जरिवानाको कुरा ल्याएको बताए । उनले विक्री गर्नेले नै नगरुन भनेरै किन्नेलाई भन्दा बेच्नेलाई बढी रुपैयाँ जरिवाना राखिएको स्पष्ट पारे ।

उनले भने, हामीले गतवर्ष देखि यो अभियान शुरु गरेका थियौँ, तर त्यसबेला सुरक्षाकर्मी नहुँदा कारवाहीको प्रक्रिया अलि फितलो भएको थियो । यसपटक गाँउमै प्रहरी बस्न थालेको छ । अव हाम्रो नियम कार्यन्वयन गर्न सहज हुने भएको छ ।’

त्यसो त स्ववियूको कदमलाई पूर्वखोला गाँउपालिका, उद्बुद्ध कलेज प्रशासनले समेत साथ दिएको छ ।

स्ववियूले विद्यालय तथा कलेजको वरपरको १०० मिटर क्षेत्रलाई धूमपान तथा मध्यपान निषेधित क्षेत्र, पसलहरुमा धूमपान तथा मध्यपानका पदार्थहरु सजावट गरी राख्न नपाउने नियम समेत ल्याएको छ । उसले त्यसको अनुगमनका लागि अध्यक्ष आचार्य र सचिव मुक्त सारुको संयोजकत्वमा अनुगमन समिति तयार गरेको छ ।

त्यसो त सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ ले नै १८ बर्ष मुनिका बालबालिकालाई सूर्तिजन्य पदार्थको खरीद विक्री गर्न निषेध गरेको छ । तर यसको पूर्ण कार्यान्वनय भने भएको छैन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “१८ बर्ष मुनिकालाई चुरोट बेचे पाँच सय जरिवाना, किन्नेसंग तीन सय असुल्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *