डा. केसीको अनशनमा एक छैनन् दलहरु, नेकपा भित्रै फरक फरक मत

काठमाडौँ, २५ असार । डा. गोविन्द केसीको पन्ध्रौँ अनशनको आज दशौँ दिन । जुम्लास्थित जिल्ला खेलकुद परिषदको कवर्ड हलबाट गत बुधबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाइकियर युनिटमा सारिएका उनले अनशन जारी नै राखेका छन् ।

तर,  उनको माग तत्काल सम्वोधन हुने छाँट अझै देखिएको छैन । दिन लम्विदै जाँदा डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै उनको हेरचाहमा खटिएका चिकित्सकहरुले बताएका छन् ।

डा. केसीको मागलाई तत्काल सम्वोधन गर्न दवाव दिन नेपाल चिकित्सक संघले आइतबारमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी ज्ञापनपत्र बुझाएको छ ।

संघले नै डा. केसीको स्वास्थ्य अवस्था र अनशन तोड्ने विषयमा अध्यय्न गरी प्रतिवेदन दिन दुई सदस्यीय टोली जुम्ला पठाएको छ । बरिष्ठ उपाध्यक्ष डा ढुण्डी पौडेल सहितको दुई सदस्यीय सो टोली जुम्ला पुगेर सम्भवत आज राजधानी फर्कँदै छ ।

यसपटकको अनशनमा चिकित्सक संघ देखियो बढी सक्रिय

यस्तै प्रकृतिका माग अघि सार्दै डा. केसीले यसअघि १४ पटक काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा अनशन गरेका थिए । त्यतिवेला निकै ढिलो गरेर प्रतिक्रिया जनाउने चिकित्सक संघले यसपटक शुरु देखिनै आफ्नो सक्रिय उपस्थिति देखाएको छ ।

त्रिवि शिक्षण अस्पतालमा हुने अघिल्ला अनशनहरुमा शुरु देखि नै नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएशन सक्रिय बन्थ्यो । डाक्टर तथा अरु मेडिकल विद्यार्थीको संस्थाहरुले पनि त्यसमा समर्थन गर्दथे र नेपाल चिकित्सक संघ धेरै ढिलो मात्रै समर्थनमा उत्रिन्थ्यो । यसपटक अरु निस्कृय छन् तर नेपाल चिकित्सक संघ सुरुका दिन देखि नै सक्रिय बनेको छ ।

कतिपयले संघका पदाधिकारीहरु यस खालको सक्रियतालाई डा केसीको अनशनमा गरिएको राजनीति भनेर समेत टिप्पणी गरेका छन् । तर संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ सो आरोपको खण्डन गर्दछन् । उनी भन्छन्, ‘पहिलेका आन्दोलनमा टिचिङ अस्पतालका रेजिडेन्टको घेरामा हुन्थ्यो, अहिले जुम्लामा छ । त्यसैले हामी शुरु देखि नै सक्रिय बनेका हौँ ।’

अघिल्ला अनशनहरुमा बढी सक्रीय देखिन एनआरडीए, डाक्टर सोसाइटी अफ नेपाल, एनडीए जस्ता संस्थाहरु यसपटक तुलनात्मक रुपमा कम सक्रिय भएको जस्तो देखिन्छ ।

नेपाली कांग्रेस र विवेकशील साझाको विरोध
सरकारमा रहँदा डा. गोविन्द केसीसंग धेरैपटक सम्झौँता गरेको नेपाली कांग्रेसको नेतृत्वले यसपटक डा. केसीको आन्दोलनलाई शुरु देखि नै सक्रिय समर्थन गरेको छ ।

प्रमुख प्रतिपक्षमा बसेको कांग्रेसले डा केसी मुद्धालाई संसदमा त उठाएकै छ सडकबाट समेत उठाउने तयारी गर्दैछ । उसले यो मुद्धाबाट पूर्ण रुपमा राजनीतिक लाभ लिन लागेको देखिन्छ ।

उता अर्को दल विवेकशील साझा पार्टीले त यसअघि जस्तै विरोधका कार्यक्रम गर्दै आएको छ ।

डा. केसीको अनशनमा नेकपा भित्र फरक फरक मत

सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) भित्र डा केसी अनशनले खासै महत्व पाएको देखिदैन । डा केसीको अनशनप्रति अनुदार देखिदै आएका प्रधानमन्त्री केपी ओली झुक्ने मनस्थितिमा देखिदैनन् ।

उनले डा केसीको अनशनबाटै राज्यलाई झुकाई माग पुरा गराउने शैलीलाई अमर्यादित भन्दै आएका छन् । उनकै लाइनमा पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालको समेत टिप्पणी आएको छ ।

यसअघि केसीका मुद्धामा नजिक मानिने शिक्षा मन्त्री गिरिराजमणि पोखरेल त्यति सफ्ट देखिएका छैनन् । खासगरी चिकित्सा शिक्षा विधेयकको बारेमा मिडियाले चर्को आलोचना गरेपछि डा केसीको आन्दोलनको सन्दर्भमा यसपटक मन्त्री पोखरेलको छवी समेत धुमिल भएको छ ।

यद्धपी नेकपाका नेता नारायणकाजी श्रेष्ठलाई अघि सारेर मन्त्री पोखरेलले पार्टी निकटका विज्ञहरुमार्फत सल्लाह लिइरहेका छन् ।
यता नेकपा निकटको डाक्टरहरुको संगठन राष्ट्रिय चिकित्सक संघ पनि डा केसीको यसपटकको अनशनमा समर्थन वा विरोधमा देखिएको छैन ।

अहिलेसम्म उसको कुनै विज्ञप्ती समेत आएको छैन । यद्धपी पार्टी निकट मानिने केही डाक्टरहरु व्यक्तिगत तवरमा समर्थन र विरोध गर्नुपर्ने लविङमा लागिसकेका छन् । केही भने पर्ख र हेरको अवस्था भन्दै मौन बसेका छन् ।

पार्टी भित्रकै डाक्टरहरुको मत बाझिएपछि नेकपालाई धारणा बनाउन समेत अफ्टेरो परेको हो ।

त्यसो त डा केसीको अनशनमा नेकपा निकट डाक्टरहरु कहिले पनि एक जुट भएनन् र समान धारणा बनाउनै सकेनन् । डा केसीको अनशनलाई कहिले चर्को समर्थन गर्ने र कहिले चर्को बिरोध गर्ने कतिपय डाक्टरको शैली लाभ हानिको आधारमा गरिएको चिकित्सा शिक्षा भित्रकै अर्को राजनीति भन्दै आलोचनामा समेत हुने गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *