भरतपुर अस्पताललाई प्रादेशिक मेडिकल कलेज बनाइने

चितवन, ९ जेठ । जिल्लाको सदरमुकाम भरतपुरमा रहेको भरतपुर अस्पताललाई प्रादेशिक मेडिकल कलेज बनाइने भएको छ । अस्पताललाई प्रादेशिक मेडिकल कलेज बनाउने योजनालाई प्रदेश नं ३ ले आउँदो वर्षका लागि प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा समेट्ने भएको छ ।

प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले यस प्रदेशमा उत्कृष्ट अस्पतालकारुपमा भरतपुर अस्पताल देखिएकाले यसलाई प्रादेशिक मेडिकल कलेजकारुपमा विकास गर्न लागिएको बताए ।

उनका अनुसार यो अस्पतालको भौतिक संरचना, बिरामीको चाप, देशको मध्यभागमा अवस्थिति, यातायातको सहजता र गुरुयोजनाअनुरुप काम भइरहेकाले मेडिकल कलेज बनाउन उपयुक्त छ । उनले भने, “प्रदेश सरकारको नीति तथा कार्यक्रममा यस अस्पताललाई मेडिकल कलेज र हेटौँडा अस्पताललाई प्रदेशस्तरको सुविधा सम्पन्न अस्पतालका रुपमा विकास गर्ने योजना ल्याउँछौँ ।”

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा रुद्र मरासिनीले हाल ६०० श्यया सञ्चालनमा रहेको, विशिष्ट सेवा सञ्चालन भएको, विशेषज्ञ चिकित्सक र प्राध्यापक रहेको, बिरामीको चाप बढ्दो रहेको, आवश्यक जमिन र भौतिक संरचना भएकाले मेडिकल कलेज बनाउन उपयुक्त भएको बताए ।

अस्पताल विकास समितिले यसअघि नै मेडिकल कलेज बनाउने निर्णय गरी प्रदेश सरकारलाई पेश गरिसकेको छ । प्रदेश सरकारका सामाजिक विकास मन्त्रीको उपस्थितिमा यस क्षेत्रका प्रदेश सांसद, दलका प्रतिनिधिलगायतको उपस्थितिमा भरतपुरमा गरिएको छलफलमा पनि यस अस्पताललाई प्रादेशिकस्तरको मेडिकल कलेज बनाउने सहमति बनेको थियो ।

अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष राजकुमार राजभण्डारीले गएको दुई वर्षमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र स्वास्थ्यमन्त्री गगनकुमार थापाको पहलमा रु २५ करोड भन्दा बढी निकासा भई विशिष्ट सेवा र अस्पताल विस्तारका काम भएको बताए ।

उनले जोर्नी प्रत्यारोपण, न्यूरो सर्जरी, स्पाइनल इन्जुरी, डायलासिस, अक्सिजन प्लान्ट, सिटी स्क्यानजस्ता सेवा विस्तार र पूर्वाधार थपिँदै जाँदा अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गर्ने अवस्थामा पुगेको बताए ।

अस्पताल विकास समितिका पूर्वअध्यक्षसमेत रहेका प्रदेश सांसद विजय सुवेदीले यस अस्पताललाई प्रदेश ३ को सरकारी मेडिकल कलेज र एक हजार श्ययाको अति विशिष्ट सेवा दिने रिफरल अस्पतालका रूपमा विस्तार गर्नुपर्ने बताए ।

विसं २०१३ मा एउटा छाप्रोबाट शुरु भएको भरतपुर अस्पताल अहिले विशाल भवनमा सञ्चालित छ । पन्ध्र श्ययाबाट सेवा शुरु गरेको अस्पतालमा अहिले ६०० श्यया छन् । हाल अस्पतालमा १४ वटा विभागमार्फत सेवा दिइँदै आइएको छ । दैनिक एक हजार ५०० सम्म बिरामीले यहाँ उपचार सेवा लिन्छन् ।

नेपालमा काठमाडौँको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने भरतपुर अस्पताल हो । यसले वर्षको १५ हजारभन्दा बढी महिलालाई यो सेवा दिँदै आएको छ । चितवन, मकवानपुर, नवलपरासी, धादिङ, गोरखा, लम्जुङ, तनहुँलगायतका जिल्लाबाट उपचारका लागि यहाँ बिरामी आउने गर्दछन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *