धामी बने सामाजिक डाक्टर, बिरामी ‘रिफर’ गर्न थाले अस्पताल

स्वास्थ्य चौकी पुग्न सात घण्टा, अस्पताल एक दिन

- नेपाली हेल्थ

काभ्रे, २३ माघ । परम्परागत रूपमा झारफुक र जोखाना हेरेर बिरामीको उपचार गर्दै आएका धामीझाँक्री अहिले ‘सामाजिक डाक्टर’का रूपमा आफूलाई चिनाउन थालेका छन्।

पुर्खौंदेखि धार्मिक परम्परा र मूल्यमान्यतालाई कायमै राख्दै धामीझाँक्रीको पेसा गर्दै आएका उनीहरूले बिरामीलाई स्वास्थ्य संस्था जानुपर्ने जनचेतना फैलाउन थालेका छन्। यससँगै उनीहरू अहिले ‘सामाजिक डाक्टर’का रूपमा चिनिन थालेका हुन ।

यद्यपि जिल्लाको डाँडापारि क्षेत्रमा प्रशस्त स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी हुँदा पनि धामीझाँक्रीप्रतिको विश्वास भने घटेको छैन। तर धामीझाँक्रीले नै स्वास्थ्य संस्थामा जान सिफारिस गर्न थालेपछि विस्तारै सचेतना पनि बढेको स्थानीय बुद्धिजीवी बताउँछन्।

‘सर्वसाधारण बिरामी भएको बेला हामीकहाँ आउँछन्’, १७ वर्षदेखि झारफुक गर्दै आएका खानीखोला गाउँपालिका-५ का माइला तामाङले भने, ‘हामीले झारफुक मात्र गर्दैनौँ, अवस्था हेरेर बिरामीलाई स्वास्थ्य संस्थामा जान प्रेरित गर्ने गरेका छौं।’

सोही गाउँपालिकामा वैद्य र झारफुकको काम गर्दै आएका दोमनडाँडाका राजन बुढाथोकीले पनि झारफुकसँगै गाउँघरमा पाइने जडिबुटी दिएर बिरामीलाई ठीक नभए अवस्था हेरेर स्वास्थ्य संस्थामा जान सल्लाह दिने गरेको बताए। ‘‘धामीझाँक्रीको झारफुकले निको नहुने रोग लागेको अवस्थामा अस्पताल जान सल्लाह दिने गरेका छौँ’, उनले भने।

रुघाखोकी, झाडापखाला र ज्वरोको औषधिका पनि १० घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ।

जिल्लाका विकट क्षेत्र डाडागाउँ, फोक्सीनटार, फलामेटार, मिल्चे, सालधारा, बनखु, च्यासिङखर्कलगायत ठाउँमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले स्वास्थ्य सेवासुविधा र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दे आएका छन्।

केही वर्षअघिदेखि स्थानीय धामीझाँक्रीलाई सचेत गराउने कार्यक्रमसमेत हुँदै आएको छ। ‘यहाँका मानिसले बढी विश्वास राख्ने भएकाले हामीले स्थानीय धामीझाँक्रीमार्फत उनीहरूको साथ र सहयोगमा स्वास्थ्य केन्द्रसम्म आउने वातावरण मिलाएका छौँ’, गैरसरकारी संस्था सिडियो नेपाल ललितपुरकी कार्यक्रम संयोजक आरती बस्नेतले भनिन्।

केही वर्ष अघिसम्म धार्मिक एवं सामाजिक अन्धविश्वासका कारण सर्वसाधारणले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य हुँदै गएको स्थानीय महिला स्वयंसेविका सविन तामाङको भनाइ छ। ‘बिरामीहरू साधारण झारफुकपछि उपचारका लागि नजिकैको उपस्वास्थ्य चौकी आउन थालेका छन्’, उनले भनिन्, ‘यसले अकालमा ज्यान गुमाउनेको संख्यामा कमी आएको छ।’ पछिल्लो समय धामीझाँक्रीको सक्रियताले डाँडापारिबासीले स्वास्थ्य संस्थाप्रति विश्वास गर्न थालेको उनले बताइन्।

स्वास्थ्य चौकी पुग्न सात घण्टा, अस्पताल एक दिन
सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आए पनि डाँडापारिमा भने स्वास्थ्य संस्था पायक स्थानमा छैन। यसले सुत्केरी गराउन सात घण्टा पैदल हिँड्नुपर्ने बाध्यता कायमै छ।

जिल्लाको कर्णालीका रूपमा चिनिने डाँडापारिको तालढुंगा स्वास्थ्य चौकी जान काभ्रे, मकवानपुर, सिन्धुली हरिहरपुरगढी हुँदै पाँच घण्टाको दूरी नाप्नुपर्ने अवस्था छ।

भौगोलिक कठिनाइका कारण स्वास्थ्य चौकी पुर्‍याउनै सात घण्टा पैदल हिँडेर बुहारीलाई सुत्केरी गराउन ल्याएको मकवानपुरको बेतिनीबाट सात घण्टा पैदल हिँडेर तालढुंगा स्वास्थ्य चौकी आएका सुनिल तिमल्सिनाले गुनासो गरे। ‘यातायातको पहुँच छैन। अस्पताल पुग्न एक दिन लाग्छ। त्यसैले हिँडेरै आउनुको विकल्प भएन’, उनले गुनासो गरे।

आकस्मिक रूपमा बिरामी हुँदा पनि एक दिनको पैदल हिँडेर सदरमुकाम धुलिखेल आउनुपर्ने डाँडापारीवासीको बाध्यता छ। सामान्य रुघाखोकी, झाडापखाला र ज्वरोको औषधिका पनि १० घण्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

  • आजको अन्नपूर्ण पोष्टमा प्रकाशित समाचार
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *