‘काउन्सिलको स्विकृति नलिई डाक्टरको रुपमा एक जना बिरामी छुन पाइन्न’

प्राडा धर्मकान्त बास्कोटा, अध्यक्ष – नेपाल मेडिकल काउन्सिल

विभिन्न अस्पतालमा चिकित्सकीय अभ्यास गरेका ‘विदेशी डाक्टर’ पक्राउ परेको कुरा आएको छ ? के तिनीहरु नक्कली नै हुन् ?
नेपाली होस या विदेशी । युनिभर्सिटीबाट डाक्टरको डिग्री हासिल गरेर मात्रै हुँदैन । नेपालमा चिकित्सकीय अभ्यास गर्न नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्छ । यो जसले गरेको छैनन् तिनीहरु कानूनको दायरामा आउँछन् । हिजोको पक्राउ पनि यसै अन्तरगर्त हो ।

विदेशी डाक्टरबाट स्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेका छौँ भनेका छन् नि सञ्चालकहरु, के भन्नु हुन्छ ?
चिकित्सकीय अभ्यासका लागि नेपाल मेडिकल काउन्सिलको स्वीकृत लिएर मात्रै चिकित्सकीय अभ्यास गर्नुपर्छ भन्ने समेत जानकारी नराख्नेले विदेशी डाक्टर ल्याएरै सेवा दिएको छ भन्ने के ग्यारेन्टी ? चिकित्सक हुनका लागि त दर्ता हुनुपरयो त । जो पायो त्यहिलाई विदेश डाक्टर भन्दै उपचारमा सहभागी गराउन पाइन्छ ? के नेपालीहरु गिनिपिग ( ल्याव एनिमल) हो ? के डिग्री छ त्यो थाह छैन । के गरि राखेको छ त्यो पनि थाह छैन । हामीले यसैको नियमन गर्न खोजेको हो ।

भनेपछि अहिले जो पक्राउ परेका छन् उनीहरु नक्कली नै हुन् ?
त्यो अहिले अनुसन्धानको दायरामा छ । नक्कली वा सक्कली भनेर अहिले हामीले भनेका छैनौँ । तर बुझ्नुपर्ने कुरा के हो भने स्वदेशी होस वा विदेशी नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएको व्यक्ति डाक्टर हुँ भन्न पाउँदैन, डाक्टरको आवरणमा चिकित्सकीय अभ्यास गर्न पाउँदैन । नेपालमा अहिले कतिपय अस्पतालहरुमा यस्ता गतिविधिहरु भईरहेको भन्ने गुनासो आएको छ । काउन्सिलले यसलाई एकदमै गम्भीर रुपमा लिएको छ । त्यसैको शुरुवात हामी गर्न थालेका हौँ ।

कतिपय अस्पतालमा बाहिरबाट एक दुई दिनका लागि भन्दै विदेशी डाक्टर ल्याउने गरेको सुनिन्छ, कतिपय गैरसरकारी संस्थाहरुले पनि विदेशी डाक्टरलाई बोलाएर आफूखुशी स्वास्थ्य शिविर गरेको पाइन्छ । के यो गैरकानूनी हो ?
ठिक भन्नु भयो । यस्ता गतिविधिहरु भईरहेका छन् भन्ने हामीले पनि सुनेका छौँ । तर कुरा के हो भने काउन्सिलसंग स्वीकृति नलिई एक दिन त के एक जना पनि विरामी छुन पाइदैन । त्यो गैरकानूनी हुन्छ । हस्पिटल होस वा एनजीओ डाक्टर भनेर विरामी जाँच्नको लागि त्यो काउन्सिलमा रजिष्टर हुनै पर्छ ।

स्वीकृति विना नै चिकित्सकीय अभ्यास भयो भने के हुन्छ ?
कारबाही हुन्छ । तीन हजार रुपैयाँ जरिवाना देखि तीन बर्षसम्म जेल सजाय हुने सम्मको कारबाही गर्ने व्यवस्था छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *