अन्तर्वार्ता :

‘हृदयघात हुनुको पहिलो र प्रमुख कारक तत्व सुर्तीजन्य पदार्थको प्रयोग हो’

विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने रोगका कारण विश्वमा प्रत्येक वर्ष ८० लाख बढीले ज्यान गुमाउने गरेका छन् । नेपालमा यसरी ज्यान गुमाउनेको संख्या बार्षिक २७ हजार १२७ भन्दा बढी छ । डब्लुएचओले सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने रोगका कारण हुने मृत्युलाई बचाउन सकिने मृत्युको संज्ञा दिएको छ । आज हामीले यसै सन्दर्भलाई लिएर नेपाल एनसीडी एलायन्सका अध्यक्ष समेत रहेका बरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीसंग कुराकानी गरेका छौँ । हेरौँ कुराकानीको सारसंक्षेप :

सुर्तीजन्य पदार्थ र नसर्ने रोगको सम्वन्धबारेमा तपाँईको बुझाई के हो ?
सुर्तीजन्य पदार्थमा ४ हजार बढी केमिकलहरु हुन्छन् । यी मध्ये झण्डै ७० बढी केमिकलहरु स्वास्थ्यलाई एकदमै असर गर्ने खालको हुन्छ । क्यान्सर नै गराउने खालको हुन्छ । दम खोकी र मुटुजन्य रोग कै समस्या निम्त्याउन सक्ने खालको हुन्छ ।

अर्को कुरा सुर्तीजन्य पदार्थको रुपमा रहने चुरोट विडी सिगार लगायतका बस्तुहरु प्रयोग गर्दा आउने धुवाँ त्यस भित्र राखिएका सुर्ती डढे पछि न आउने हो, त्यसबाट फेरी अर्को केमिकल जसलाई हामी कार्वन मोनो अक्साइड भन्दछौ, त्यो निस्कन्छ । त्यसपछि टार, अनि निकोटिन पनि ।

यी तीन केमिकल स्वास्थ्यका लागि अत्यन्तै हानीकारक मानिन्छ । यी रसायन शरीरमा छिरेपछि नसर्ने रोगको उत्पत्ति गर्दछ । जस्तै भनौँ न धुवामा भएका केमिकलले फोक्सोलाई विगार्छ । दम खोकी लाग्छ । फोक्सोको क्यान्सर हुन्छ । अर्कोकुरा यसले फोक्सोको साथै शरीरको कुनै पनि अंगको क्यान्सर गराउन सक्छ । तेस्रो धुमपानमा भएका केमिकलहरुले मुटुको हृदयघात गराउँछ । रक्तनली सानो बनाउँछ । त्यसको रक्तनलीको खुल्ला भागलाई त्यसले विगारी दिन्छ । त्यसपछि रक्तनलीहरु साँघुरो हुन थाल्छ । त्यसले कुनै बेला त्यसमा पूर्ण अवरोध भएपछि हृदयघात तथा मस्तिष्क घात हुन जान्छ ।

अर्को कुरा चुरोट सेवनका कारण उच्च रक्तचाप अर्थात ब्लड प्रेसर बढ्छ ।

सुर्तीजन्य पदार्थलाई नसर्ने रोगको प्रमुख कारक तत्व भनिन्छ ? नसर्ने रोगको लागि अरु पनि त कारक तत्वहरु हुन्छ नि यहि नै किन प्रमुख कारक तत्व ?
हो, हामीले के बुझौँ भने, जति पनि नसर्ने रोगहरु छ ती सबैको प्रमुख कारक तत्व सुर्तीजन्य पदार्थ हो । मधुमेह बाहेक । मधुमेहमा यसको प्रत्यक्ष असर देखिइसकेको छैन् तर अप्रत्यक्ष रुपमा यसको असर देखिदै आएको छ । मुख्य नसर्ने रोगहरु मुटु, क्यान्सर, मस्तिष्क घात, हृदयघात, दम, मिर्गौला लगायतको कारक तत्व यहि नै हो ।

चुरोट खानेहरुलाई हृदयघात हुने सम्भावना बढी हुन्छ भनिन्छ ? यसको कारण के होला ?
चुरोट खाँदा निस्कने धुवासंग स्वास्थ्यलाई प्रत्यक्ष असर गर्ने केमिकलहरु हुन्छ । निकोटिन धुवामा हुने त होइन, सुर्तीमा हुने हो । तर सल्काईसकेपछि धुवामा मिसिएर निकोटिन पनि शरीर भित्र जान्छ । सुर्ती जलेर निस्कने हानिकारकयुक्त कार्वन मोनो अक्साइड पनि शरीरमा जान्छ । अरु पनि थुप्रै छन् । धुवाका माध्यमबाट पहिले फोक्सोमा जान्छ । त्यसपछि रगतबाट त्यो ‘एब्जर्ब’ भएर त्यो रक्त नलिबाट शरीरभर फैलन्छ । यसले ती रसाइनहरु धमनी देखि अरु रक्तनलीको भित्तामा गएर टासिन्छन् । त्यसपछि त्यो रक्तनलिलाई त्यसले विगारिदिन्छ । त्यो भनेको अंगहरु रोगी हुनु हो । रोगी भएपछि त्यो ठाउँमा कोलिस्टोरलहरु हुने इन्फ्रलामेसन भएको ठाँउमा पछि घाउ बन्छन् । रक्त कणहरु टासिन्छन् । त्यो ठाउँमा पछि गएर रगतको क्लटहरु जम्छसक्छ । यो क्रम बढ्दै जाँदा त्यसले रक्त बहने नसामा अवरोध उत्पन्न गर्दछ । यसपछि उच्चरक्तचापको समस्या हुने, हृदयघात तथा मस्तिष्क घातको सम्भावना हुन्छ ।

चुरोट सेवनले कसरी उच्च रक्तचाप हुन्छ ?
चुरोटको धुवामा भएको केमिकलहरुको असरले हाम्रो शरीरको रक्त नलिहरुलाई खुम्च्याई दिन्छ । अर्थात स्पाजम गरिदिन्छ । विशेषगरी साना रक्तनलीहरुलाई स्पाजम गरिदिन्छ । हामीले पेरीफरल आर्टरी भन्छौँ, यी खुम्चेपछि रक्तचाप बढ्ने हो ।

त्यसले पछि गएर मिर्र्गौलालाई असर गर्दछ । मुटुको माम्सपेशीलाई पनि पनि असर गर्दछ । फोक्सोको क्यान्सरको पनि पहिलो कारण धूमपान तथा सुर्तीजन्य पदार्थ भन्ने नै हो ।

मुटुको कुरा गर्दा उच्च रक्तचाप बाहेक हृदयघात, मस्तिष्कघात लगायतका रोगहरुसंग पनि सुर्तीजन्य पदार्थको सम्वन्ध हुन्छ भनिने गरिन्छ नि ? किन त्यसो भनिएको होला ?
तथ्यांकहरुले के भन्छ भने अहिले यो हृदयघात हुने प्रमुख कारण सुर्तीजन्य पदार्थ मानिएको छ । अर्थात सुर्तीजन्य पदार्थको सेवन गर्नेहरु नै धेरै हृदयघातमा पर्ने गरेको पाइएको छ ।
हृदयघात हुन थुप्रै कारण छन् । जस्तो कि उच्च रक्तचाप एउटा कारण हो, मधुमेह अर्को कारण हो । यस्तै कोलेस्टेरोल अर्को कारण हो । मोटोपना , तनाव आदि आदि । अव चुरोट तथा सुर्तीजन्य पदार्थको कारणले हुने हृृदयघात सबै भन्दा बढी रहेको छ । त्यसैले विभिन्न अनुसन्धानले नम्बर वान कज अफ हार्ट एट्याक सुतीजन्य पदार्थको सेवन हो भन्ने गरेका छन् ।

यस्तै सुर्तीजन्य पदार्थको प्रयोग क्यान्सरका लागि पनि नम्बर वान कज हो । दम खोकी, मस्तिष्क घातको पनि नम्बर वान कारण धूमपान तथा सुर्तीजन्य पदार्थ नै हो ।

मान्छेको मृत्युको नम्बर वान कारण मुटुको रोग हो । मुटुको रोग लाग्ने नम्बर वान कारण सुर्तीजन्य पदार्थ हो । यसलाई कस्तो सम्वन्ध छ भनेर बुझ्ने ? तर हामीले यो पनि भुल्नु हुँदैन कि चुरोट खाने मान्छेको मृत्युको कारण सुर्तीजन्य पदार्थको मानिन्छ ।

विश्व स्वास्थ्य संगठनकै रिपोर्टले नसर्ने रोगबाट मृत्यु हुने हरेक दुई मध्ये एकको कारण सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने रोगबाट भएको बताएको छ ।

त्यसैले हामीले के बुझौ भने जति पनि नसर्ने रोगहरु छ, त्यसको आधा कारण सुर्तीजन्य पदार्थ हो । यदि यसलाई मात्रै रोक्न सकियो भने नसर्ने रोगको आधा समस्या यत्तिकै समाधान भईहाल्छ ।

सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि खेलेको भूमिका यहाँलाई कस्तो छ ? कत्तिको प्रभावकारी पाउनु भएको छ ?
नेपालले सन् २००६ मै विश्व स्वास्थ्य संगठनको फ्रेम वर्क कन्भेन्सन अन टोवाको कन्ट्रोल (एफसीटीसी)मा हस्ताक्षर गरेको छ । त्यहाँ हस्ताक्षर गरिसकेपछि त्यस अनुरुप काम गर्नु पर्ने दायित्व हुन्छ । तर त्यसरी गरेको व्यवहारिक रुपमा देखिएको छैन् । करको दर ७५ प्रतिशत पु¥याउने भनिएपनि अहिले पनि ३३ प्रतिशतको हाराहारीमै अड्केको छ ।

नेपाल सन् २०१५ तिर सुर्तीजन्य पदार्थको प्याकेटमा सबैभन्दा धेरै (९० प्रतिशत) भाग चेतावनीमुलक स्वास्थ्य सन्देश राख्ने निर्णय गरेको थियो । त्यसले संसारभर सुर्तीजन्य पदार्थ नियन्त्रणमा नेपालको छुट्टै पहिचान समेत थियो । यसले अन्तराष्ट्रिय पुरस्कार पनि पायो । तर यसको कार्यान्वयनमा फितलो देखियो । त्यसैले हामीकहाँ कागजमा लेखिए पनि त्यसको कार्यान्वयन हुन गाह्रो छ ।

यसको कारण पनि म भन्छु, देशमा भ्रष्टाचार मौलाएको छ । गरीवी छ । सरकार अस्थिर छ । जहाँ यस्तो अवस्था आउँछ सुर्ती उद्योगीहरुलाई खेल्न अनुकुल बातावरण सिर्जना हुन्छ ।

अर्को कुरा सुर्ती उद्योग धेरै नै शक्तिशाली हुँदा रहेछन् । अन्तराष्ट्रिय रुपमा नै शक्तिशाली हुँदा रहेछन् । जुन देशमा सरकार अस्थिर छ, कमजोर छ, भ्रष्टाचार मौलाउँदो छ । यस्ता देशमा सुर्ती उद्योगीहरुले आँखा गाडेर बस्दा रहेछन् । मेरो बिचारमा नेपालमा पनि यहि भएको हो । स्वास्थ्यले कर बढाउने कुरा गर्छ, अर्थ मन्त्रालयले झन् घटाउँछ । अर्थात उद्योगीको पक्षमा लाग्छ । अहिलेको बजेटमा सुर्तीको करको अवस्था हेर्दा सरकार अर्थात अर्थ मन्त्रालय सुर्ती उद्योगको प्रभावमा परेको सजिलै बुझ्न सकिन्छ । त्यसैले स्वास्थ्यले भने पनि अर्थले गरेन वा टेरेन । निस्कर्ष के हो भने नेपालको यो कमजोर सरकारलाई उद्योगीहरुले आफ्नो हस्तक्षेपकारी भूमिका देखाईरहेका छन् । अर्थ मन्त्रालयमा उनीहरुले सेटिङ गरेरै राखेका हुने रहेछन् ।

करको कुरा गर्नु भयो यो बढाउन किन आवश्यक छ ?
कर बढेपछि मूल्य बढ्छ । मूल्य बढेपछि यसको उपभोगमा कमी हुन्छ । नयाँ सेवन कर्ताहरु यसमा फस्ने सम्भावना कम हुन्छ । यो सुुर्तीजन्य पदार्थ प्रयोगलाई नियन्त्रण गर्ने विश्वव्यापी चलन पनि हो । यति मात्रै होइन हाम्रो कानूनले खिल्ली विक्रीलाई पनि निषेध गरेको छ । १८ वर्ष मुनिकालाई पनि खरीद विक्रीमा सहभागी हुन नपाइने भनेको छ । सार्वजनिक स्थान, होटल, लज, विद्यालय, अस्पताल, अरु सार्वजनिक स्थल पनि सुर्तीजन्य पदार्थ मुक्त क्षेत्र हुन् । यसलाई कार्यान्वयन ल्याए पनि धेरै हद सम्म नियन्त्रण आउन सक्थ्यो । तर हाम्रो कानूनी व्यवस्थाको कार्यान्वयन गर्न कमजोर सरकार भएकै कारण सम्भव देखिएको छैन् । यसलाई राम्ररी कार्यान्वयन गर्ने अहिलेको आवश्यकता हो ।

नसर्ने रोग न्युनिकरणका लागि नेपाल एनसीडी एलायन्सले के के योजना बनाएको छ ?
यो लुज नेटवर्कको रुपमा झण्डै सात आठ वर्ष सञ्चालनमा रहयो । अहिले भने स्थानीय प्रशासनमा विधिवत रुपमा दर्ता भएर यसले काम गरिरहेको छ । नसर्ने रोग न्युनिकरणका लागि हामीले विभिन्न रणनीति तयार गरेका छौँ र विस्तारै कामहरु अघि बढाउँदै छौँ ।

खासगरी जनेचतना अभिबृद्धिका लागि, नीतिगत सुधारका लागि, नयाँ रणनीति बनाउनका लागि पैरवी गर्ने, नसर्ने रोगको स्क्रिनिङ्ग तथा निदानका लागि शिविर राख्ने र उपचार समेत गर्ने योजना पनि अघि सारेका छौँ । मैले फेरी पनि भने नसर्ने रोगको प्मुख कारक सुर्तीजन्य पदार्थ रहेको कारण यसको प्रयोगलाई नियन्त्रण गर्न पनि हाम्रो यो संस्थाले दवावमुलक कार्यक्रम अघि बढाउने छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *