अतिरिक्त शुल्क विरुद्धको विद्यार्थीहरुको आन्दोलनमा एलायन्स र सोसाइटीको समर्थन

काठमाडौँ, १५ माघ । त्रिवि अन्तरगर्तका केही निजी मेडिकल कलेजहरुले आफूहरुसंग सरकारले तोकेभन्दा कैयौँ बढी अतिरिक्त शुल्क मागेको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुलाई समर्थन आउने क्रम शुरु भएको छ । उनीहरुको आन्दोलनलाई सोलिडारिटी फर डा. केसी अलायन्स तथा अप्रत्यक्ष रुपमा डाक्टर सोसाइटी अफ नेपालले समर्थन गरेको छ ।

डा. गोविन्द केसी अलायन्सले आज बेलुका विज्ञप्ती जारी गर्दै बढी शुल्क लिने कलेजहरुलाई कालोबजारी ऐन अनुसार कारबाही चलाउन समेत माग गरेको छ । एलायन्सका तर्फबाट आज बेलुका जारी विज्ञप्तीमा विरोधमा उत्रिएका विद्यार्थीहरुलाई आफ्नो समर्थन रहेको भन्दै थप संगठित भएर प्रतिवाद गर्न भनेको छ ।

यस्तै समाजका महासचिव डा. तोसीमा कार्कीद्धारा हस्ताक्षरित विज्ञप्तीमा राज्यले तोकेको शुल्कमै अध्ययन गराउँछौँ भनि काउन्सिलिगमा आएका विद्यार्थीहरुसंग थप शुल्क माग्नु माफियाकरण र दण्डहिनताको चरम नमुना भन्दै विरोध जनाइएको छ । उसले अतिरिक्त शुल्क लिने कलेजहरुलाई कानूनको दायरामा ल्याउन समेत सम्वन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

नयाँ विद्यार्थीसंग धमाधम अतिरिक्त शुल्क उठाउन थालेपछि महाराजगञ्ज मेडिकल कलेजको स्वतन्त्र विद्यार्थी युनियनले विरोध जनाएको थियो । महाराजगञ्ज स्ववियूकै अगुवाईमा आज विद्यार्थीहरुले माइतीघर देखि बानेश्वरसम्म प्रदर्शन समेत गरेका थिए ।

महाराजगञ्जका स्ववियू सभापति डा. मिलन गैरेले निजी मेडिकल कलेजहरुले खुलेआम लुट मच्चाएको भन्दै आफूहरुको आन्दोलन सफल बनाएरै छाडने बताए ।

विद्यार्थीहरुले केही निजी मेडिकल कलेजहरुले आफूहरुसंग ६ देखि १६ लाखसम्म बढी पैसा मागेको बताउँदै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *