‘भीआईपी’लाई १२ वटा रोगमा, बिपन्नलाई आठ रोगमा मात्र

काठमाडौँ, ५ कात्तिक । सरकारले राष्ट्रिय जीवनका महत्वपूर्ण व्यक्तिहरुलाई १२ वटा रोगमा उपचार सहयोग गर्ने व्यवस्था मिलाएको छ । तर विपन्न नागरिकलाई भने आठवटा रोगमै सिमित गरिएको छ ।

गत वर्ष फागुनमा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले विपन्नका लागि मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाईमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया सहित अरु चारवटा रोगहरु कलेजो, अप्लाष्टिक एनिमिया, थालासेमिया र मस्तिष्कघातको उपचार गर्दा सहुलियत दिने तयारी भएको बताएका थिए । तर थपिएका चारवटा रोगको सहुलियत यतिवेला राष्ट्रिय जीवनका महत्वपूर्ण ठानिएका व्यक्तिहरु( भिआईपी) का लागि मात्र उपलव्ध छ ।

गतवर्ष संशोधित विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका ( दोश्रो संशोधन) २०७३ मा नयाँ रोगको सूची अटाएकै छैन् । बरु भीआईपीका लागि बनाइएको नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायता सम्वन्धी (दोश्रो संशोधन) कार्यविधि २०७३ मा ती चारवटा रोगको सूचि थपिएको छ ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा डा. भीमसिंह तिंकरीले विपन्न नागरिक उपचार कोषले आठ वटा रोगमा मात्रै उपचार सहुलियत दिने गरेको बताए । उनले भीआईपीका लागि बरु उपचार गर्ने रोगको सूचीमा संसोधन भई १२ पुगेको जानकारी दिए ।

‘विपन्नको उपचार सहुलियत दिने रोगहरुको सूची १२ पुग्यो भनेर गतवर्ष ब्यापक हल्ला भयो । समाचारहरुमा पनि आए । तर अहिलेसम्म त्यो प्राक्टिसमा आएको छैन । निर्देशिकामा थपिनु पर्छ त्यो भएको छैन । उनले भने, बरु भीआईपीको उपचारमा सहुलियत दिने कडा रोगको उपचारमा सो व्यवस्था छ,’ उनले भने ।

डा तिंकरीले धेरै विपन्नहरुले उपचार सहुलियत पाउने हल्ला सुनेको भन्दै थपिने भनिएको चारवटा रोगबारे निकै सोधखोज गर्ने गरेको बताए ।

विपन्नका लागि कुन कुन रोगमा पाइन्छ सहुलियत ?

सरकारले  मुटुरोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाईमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमिया  गरी कुल आठवटा रोगका लागि उपचार सहुलियत दिने व्यवस्था मिलाएको छ ।

यो कोष अन्तरगर्त सरकारले मिर्गौला बाहेक अन्य रोगको उपचारमा १ लाख रुपैयाँ सहुलियत दिने गरेको छ । मिर्गौलाको एक्युट रेनल फेलियर भएका विरामीको उपचारमा पनि एक लाख सम्मको औषधि उपचार सुविधा दिने व्यबस्था गरेको छ ।

मिर्गौला फेल भएकाहरुका लागि भने डायालसिस आजिवन निशुल्क छ ।

त्यस्तै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने विरामीलाई मिर्गौला प्रत्यारोपण गर्दा सूचीकृत अस्पताल मार्फत ४ लाख रुपैयाँ बराबरको उपचार सुविधा, मिर्गौला प्रत्यारोपण पूर्वको परीक्षणका लागि ( ग्रहणकर्ता र अंगदाताका लागि) ५० हजार र प्रत्यारोपण पछि औषधिका लािग १ लाख रुपैयाँ बीलको आधारमा दिइनेछ ।

भीआईपीको उपचार सहुलियत

पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व सभामुख, र पूर्व प्रधानन्यायधीशमका लागि बढीमा १५ लाख रुपैयाँ दिने व्यवस्था मिलाइएको छ ।

त्यस्तै पूर्व उपसभामुख, पूर्व उपप्रधानमन्त्री, पूर्वमन्त्री, पूर्व राज्यमन्त्री, पूर्व सहायक मन्त्री, पूर्व सांसद, पूर्व संवैधानिक निकायका पदाधिकारीका लागि बढीमा १० लाख रुपैयाँ दिने व्यवस्था मिलाइएको छ ।

त्यसैगरी शिक्षा, कला, साहित्य, संगित, राजनीति, सार्वजनिक प्रशासन, कानून वा न्याय, सुरक्षा, सञ्चार, खेलकुद, लगायत सामाजिक र राष्ट्रिय जीवनमा उल्लेख्य योगदान पुरयाएका व्यक्तिका लागि बढीमा सात लाख रुपैयाँ दिने व्यवस्था छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *