निमोनियाको संक्रमण कति खतरनाक ?

डा. केदार सेन्चुरी जनरल फिजिसियन, वीर अस्पताल

निमोनिया श्वासप्रश्वाससँग सम्बन्धित रोग हो । हाम्रो शरीरमा दुईवटा फोक्सो हुन्छन् । फोक्सोमा ठूलो श्वासनली, सानो नली, ब्रोंकाइलगायत विभिन्न खालका टिस्यु हुन्छन् । यिनै टिस्युमा कुनै कारणले संक्रमण भएर फोक्सोको कुनै क्षेत्र वा पूर्ण फोक्सोमा संक्रमण भएपछि हामीलाई निमोनिया हुन्छ ।

यस्ता संक्रमणले कहिले फोक्सोको तल्लो भागलाई त कहिले मथिल्लो भागलाई असर गरिरहेको हुन्छ । निमोनिया फरक–फरक कारणले लाग्छ । त्यसकारण पहिले कारण पत्ता लगाउन जरुरी हुन्छ ।

भाइरस, ब्याक्टेरिया र फंगल्सका कारण संक्रमण हुने गर्दछ । यिनै संक्रमणसँग जुध्न नसकेपछि फोक्सोको नियमित काममा असर पर्छ । ब्याक्टेरिया, भाइरस वा फंगल्सले फोक्सोको प्रतिरोधात्मक क्षमता नष्ट गर्छ र त्यसका टिस्युहरूमा संक्रमण फैलाउँदै जान्छन् । फोक्सोका टिस्युलाई संक्रमण गरेपछि पानी जम्ने, पिप जम्ने र कहिलेकाहीँ हावा जम्ने हुन्छ ।

बच्चा र वृद्ध बढी जोखिममा
हाम्रोमा कुनै उमेर विशेषको निमोनिया भएको देखिँदैन । विशेषगरी बालबालिका र वृद्धालाई बढी जोखिम भए तापनि युवाहरूमा पनि प्रशस्तै निमोनियाको संक्रमण भएको पाइन्छ ।

बच्चाहरूको फोक्सो पूर्ण रूपमा विकसित भइनसकेको हुँदा निमोनियाले सजिलै संक्रमण गर्न सक्छ । त्यसका साथै उनीहरूको रोगप्रतिरोधात्मक क्षमता पनि कमजोर हुने हुँदा सधैँ जोखिम समूहमा पर्छन् । सबैभन्दा जोखिम समूहमा नवजात शिशु हुन्छन् । त्यसैगरी, उमेर ढल्कँदै गएका वृद्धको पनि फोक्सोका टिस्युहरूमा विभिन्न कारणले गर्दा असर पुगिरहेको हुन्छ ।

अझ उनीहरूमा कडा खालको दम, मुटुको रोगले पनि सताउने सम्भावना रहेको हुन्छ । यस्तो समस्या भएकालाई सामान्य चिसो वा रुघाखोकी लाग्दा पनि निमोनियाको संक्रमण चाँडै हुन सक्छ । स्वभावैले उमेर ढल्कँदै जाँदा रोगप्रतिरोधी क्षमतामा पनि कमी हँुदै जान्छ र निमोनिया संक्रमण चाँडै हुन्छ ।

दीर्घरोगीहरूमा पनि उस्तै
निमोनियाको अर्को उच्च जोखिम समूह भनेको दीर्घरोग भएका र अंग प्रत्यारोपण गरेका व्यक्ति हुन् । खासगरी लामो समयदेखि औषधि सेवन गरिरहेका, अंग प्रत्यारोपण भएका बिरामी, दीर्घरोग, फोक्सो, मुटुसम्बन्धी रोग भएका बिरामीलाई चाँडो निमोनियाले सताउन सक्छ । एचआइभी एड्स संक्रमित बिरामीलाई पनि निमोनिया हुनबाट जोगाउनुपर्छ ।

निमोनियाले के गर्छ ?
निमोनियाले बिगार्ने भनेको फोक्सो हो । फोक्सोको काम भनेको बाहिरको स्वस्थ हावा लिएर शरीरलाई चाहिने अक्सिजन पूर्ति गर्ने र कार्बनडाइअक्साइड बाहिर फाल्ने हो, त्यसले श्वासप्रश्वास नियमित हुन दिँदैन । फोक्सो नै स्वस्थ नभएपछि हामीलाई श्वास फेर्न गाह्रो हुन्छ ।

फोक्सोमा संक्रमण भएपछि हावालाई छान्ने काम हुन सक्दैन । त्यसले आवश्यक मात्रामा अक्सिजन शरीरले पाउँदैन । यसको असरले श्वासप्रश्वास अवरुद्ध भई समस्या सिर्जना हुन्छ । जसले गर्दा मानिसको मृत्युसमेत हुन सक्छ । निमोनियाको उपचार समयमै हुन सकेन भने अन्य विभिन्न किसिमका समस्या थपिँदै जान्छन् । यस्तो अवस्थासम्म समस्या बढ्दै गए संक्रमण भएको फोक्सोको भाग नै काट्नुपर्ने हुन सक्छ ।

निमोनिया सरुवा हो कि होइन ?
सबै निमोनिया सर्छ भन्ने हँुदैन । निमोनिया लागेका बिरामीको शरीरमा किटाणु स्थिर भएर बसिसकेको छ भने सर्ने स्म्भावना कम हुन्छ । तर, स्थायी भइनसकेको अवस्थामा श्वासप्रश्वासका माध्यमबाट सर्न पनि सक्छ । तर, यो भाइरलजस्तो चाँडै सर्ने होइन ।

रोगप्रतिरोधात्मक क्षमता कम भएकाहरूमा सर्ने सम्भावना बढी हुन्छ । ब्रोंक्राइटिस भएका, फोक्सोसँग सम्बन्धित समस्या भएकाहरूलाई अन्य किसिमका संक्रमण भएमा तुरुन्त निमोनिया संक्रमण हुन सक्छ ।

कारणहरू

  • फोक्सोमा भाइरस, ब्याक्टेरिया र फंगल्सको संक्रमण ।
  • रुघाखोकी बिग्रिएर निमोनिया हुन्छ ।
  • कहिलेकाहीँ रुघाखोकी नलागी अन्य समस्याका कारण पनि हुन सक्छ ।
  • एकपटक निमोनिया भएको छ र पूर्ण रूपमा उपचार भएन भने पटक–पटक दोहोरिन सक्छ ।
  • संक्रमित मानिससँगको असुरक्षित संसर्गबाट पनि निमोनियाको सम्भावना बढी हुन्छ ।
  • फोक्सोसँग सम्बन्धित समस्या भएकाहरूलाई निमोनियाको उच्च जोखिम हुन्छ ।

रोकथाम

  • धुवाँ–धुलोबाट बच्ने
  • रुघाखोकी लागेका मान्छेको सम्पर्कमा नजाने ।
  • बच्चालाई निमोनियाको खोप दिने ।
  • कुपोषण हुन नदिने ।
  • चिसोबाट जोगाउने ।
  • वृद्धलाई सामान्य इन्फेक्सन छ भने वेलैमा उपचार गराउने ।
  • रोगप्रतिरोधी क्षमता कम भएकालाई पनि वेलैमा जाँच गराउने ।
  • लामो समय रुघाखोकी निको नभए रगत जाँच गराउने ।
  • चुरोट, बिँडी नखाने, खाने गरेको छ भने बन्द गर्ने ।
  • निमोनियाको औषधि चिकित्सकले दिएको समय अवधिभर नछोडी सेवन गर्नुपर्छ । बीचमा छोड्यो भने ब्याक्टेरियाको क्षमता औषधिको भन्दा बढ्न गई पुन: बल्झन सक्छ र सो औषधिले काम नगर्न सक्छ ।
  • रुघाखोकीमा हेलचेक्रयाइँ नगर्ने ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *