सन्दर्भ : विश्व क्यान्सर दिवस

क्यान्सर रोगको उपचार सेवामा वीर अस्पतालको ऐतिहासिक भूमिका

– डा. सन्तोष पौडेल

नेपालमा क्यान्सर उपचार सेवाको कुरा गर्ने हो भने वीर अस्पतालको छुट्टै इतिहास छ । देशकै सबैभन्दा पुरानो यो अस्पतालले क्यान्सर रोग उपचार सेवामा समेत अग्रणी भूमिका खेल्दै आइरहेको छ ।

नेपालमै क्यान्सरको उपचार पद्धतीको कुरा गर्दा सर्जरी सेवा यसै अस्पतालबाट सुरु भयो । क्यान्सर उपचारमा औषधिको प्रयोग साथै रेडियो थेरोपीको सुरुवात पनि वीर अस्पतालले नै सबैभन्दा पहिले गर्न सफल भयो ।

तर,  समय वित्दै जाँदा समयानुकुल नेपालमा पनि विभिन्न रोगका लागि विशिष्टिकृत सेवा सहितका अस्पतालहरु खुल्ने क्रम सुरु भयो ।

यसै क्रममा क्यान्सर उपचारकै लागि भनेर सरकारले भक्तपुर क्यान्सर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल नेपालगञ्ज, सुरेश वाग्ले क्यान्सर सेन्टर महाराजगञ्ज लगायत विशिष्टिकृत अस्पताल सञ्चालनमा ल्यायो । यी अस्पताल सञ्चालनमा ल्याउनुको पछाडी सरकारको उदेश्य क्यान्सर रोगको उपचार विशिष्टिकृत रुपमा होस् भन्ने हो ।
तर,  क्यान्सर उपचारलाई विशिष्टिकृत भन्दा भन्दै यो पनि विभिन्न अंगमा देखिने हुँदा सोही विषय विज्ञको पनि उपचारमा सम्लग्नता अपरीहार्य हुन्छ ।

क्यान्सर अस्पतालहरुमा सबै विधाका चिकित्सक साथै अन्य विज्ञ स्वास्थ्यकर्मी पुर्‍याउने अहिलेको देशको परिस्थितिमा सम्भव पनि छैन । त्यसैले वीर अस्पताल जस्ता केन्द्रीय अस्पतालहरु क्यान्सर जस्तो विशिष्टिकृत सेवामा बहु विशेषज्ञ सेवा दिन सक्छन् । जसले गुणस्तर अझ बढी हुन सक्दछ ।

क्यान्सर उपचारका लागि वीरमा थपिएका सेवाहरु

वीर अस्पतालले क्यान्सर उपचारको रेडियोथेरापी पद्धतीमा यस वर्ष टोमो थेरापी मेसिन भित्र्याएको छ । यो मेसिन संसारभर उपलव्ध मध्येकै नयाँ प्रविधिको हो । यसले क्यान्सरको तन्तुलाइ तोकिएको ठाउँमा (टार्गेटेड रुपमा) सेक्न मद्धत गर्दछ । जसले गर्दा क्यान्सर नभएको तन्तु वा अंगमा अनावश्यक रेडियसन पर्दैन । साथै अत्यावश्यक स्थानमा चाहिने मात्रामा पुग्दछ । यो नविनतम प्रविधिबाट धेरै बिरामीले लाभ लिन सक्नुहुनेछ ।

कम जनशक्तिका कारण हामीले चाहे जति समय मेसिन सञ्चालन गर्न सकेका छैनौँ । तर सेवाको समय मेसिनलाई चाहिने कुलिङ पिरिय बाहेक चलाउँदा धेरै संख्यामा बिरामीहरुलाई सेवा दिन सकिन्छ ।

वीरमा भित्रिएको टोमो थेरापीसंगै डा. पौडेल

केमो थेरापी लिने बिरामीका लागि वीर अस्पतालले डे-केयर केमो थेरापीको सेवा सञ्चालन गरिरहेको छ ।

अप्रेशन पूर्व वा पश्चात पनि क्यान्सरको प्रकृति अनुसार विभिन्न औषधिहरु क्यान्सरमा प्रयोग हुन्छन् । यस्ता बिरामीको लागि राज्यले प्रदान गरेको सहुलियत पनि बिरामीलाई उपलव्ध गराउँदै आएको छौँ ।

अंग अनुसार विभिन्न खालका क्यान्सर हुने हुँदा अस्पतालहरुमा हरेक सर्जिकल विभागले पनि क्यान्सर सर्जरी सेवा प्रदान गरिरहेकै छन् ।

विशेषगरी पेटको आमाशय वा आन्द्राको क्यान्सर, स्तन क्यान्सर, जिब्रो, थाइरोइर, घाँटीको क्यान्सर, हाडजोर्नी तथा मांसपेशी, प्रोष्टेट तथा मिर्गौलाको क्यान्सर, ब्रेन तथा मेरुदण्डको क्यान्सर आदिका सर्जरी नियमित हुने गरेका छन् ।

क्यान्सर उपचारको निदानमा वीर अस्पतालमा सीटी, एमआरआई, एक्सरेका साथै मेमोग्राम, बोन स्कयान जस्ता अत्याुधिनक प्रविधि उपलव्ध छन् । निकट भविस्यमा स्पेक सीटी भित्र्यानउे तयारीमा बीर अस्पताल लागेको छ । यी प्रविधिले क्यान्सरको पहिचान तथा यसको फैलावट एवं वरिपरिको फैलावट बारे स्पष्ट पार्न मद्धत गर्दछ ।

यस्तै हिस्टोप्याथोलोजी, साइटोप्यालोजी र इम्युनोहिस्टोक्यामेस्ट्र जस्ता मोलीक्युलर ल्याब्रोटरी टेष्ट मार्फत क्यान्सरको सिक्वेन्सिङ समेत अध्ययन गर्ने तहमा वीर अस्पताल प्याथोलोजी सेवा रहेको छ ।

अझ सरकारले मन खोलेर वीर अस्पताललाई सहयोग गरेको खण्डमा यसले प्रदान गरिरहेको सेवामा संख्यात्मक एवं गुणात्मक फड्को मार्न सकिन्छ । आम जनताले क्यान्सर रोग पत्ता लागेपछि देख्ने अन्धकार भविस्यलाई आशाका किरणले उजिल्याउन सकिन्छ ।

धेरै क्यान्सरहरु उपचार र प्रविधिको विकाससंगै निको हुने खालका छन् भने अन्य निको हुन नसक्ने क्यान्सरहरुमा पनि जीवनलाई सहज बनाउन धेरै पद्धतीहरु विकास भइसकेका छन् । त्यसैले बिरामीहरुले आत्मबल बढाउन जरुरी छ ।

अर्को कुरा क्यान्सर रोग लाग्नुको पछाडी हाम्रो खानपान र जीवन शैलीमा आएको परिवर्तन मुख्य कारक मानिन्छ । यसका लागि हरेक व्यक्ति सचेत बन्नु आवश्यक छ । यसका लागि क्यान्सर स्क्रिनिङ देखि तथा परीक्षण, स्वस्थ खानपान र नियमित व्यायम आदीमा ध्यान दिनु पर्दछ ।

अर्को कुरा राज्यले पनि क्यान्सरको गुणस्तरीय उपचारको सुनिश्चित गरि आम जनताको स्वास्थ्य मात्र होइन, यस्ता उपचारमा हुने ठूलो आर्थिक व्ययभारको पनि जिम्मेवारी लिनु पर्छ । त्यो भन्दा अघि रोग न्युनिकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरी सोही अनुसार कदम चाल्न जरुरी देखिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *