असोजबाट थप सात जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू हुँदै

काठमाडौँ, १३ भदौ । आगामी असोज महिनामा थप सात जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम शुरु हुने भएको छ । अहिलेसम्म १५ जिल्लाका बीमा कार्यक्रम सञ्चालन भएको छ । यो संगै बीमा कार्यक्रम लागू हुने जिल्लाको संख्या २२ पुग्नेछ ।

स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने निकाय सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले आगामी असोजमा झापा, सुनसरी, सोलुखुम्बु, सिन्धुली, रोल्पा, बर्दिया र सुर्खेतमा बीमा कार्यक्रम सञ्चालन गर्ने तयारी भएको जनाएको छ ।

समितिका कार्यकारी निर्देशक डा. गुणराज लोहनीले छनौटमा परेका जिल्लाहरमा दर्ता सहयोगीका लागि दरखास्त आवहान गर्ने तथा तालिम दिने प्रक्रिया अघि बढेको बताए ।

विसं २०७२ साल २५ चैतमा कैलाली जिल्लाबाट प्रारम्भ भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले १५ जिल्लामा सञ्चालित छ । ती जिल्लाहरुमा कैलाली, बाग्लुङ, इलाम, बैतडी, अछाम, पाल्पा, कास्की, म्याग्दी छन् । त्यस्तै चितवन, मकवानपुर, गोरखा, तनहूँ, जुम्ला जाजरकोट र भक्तपुरमा पनि बीमा कार्यक्रम शुरु भइसकेको छ ।

यो बीमा कार्यक्रममा प्रतिपरिवार (पाँच जना)ले बार्षिक रुपमा तिर्ने २ हजार ५ सय प्रिमियमले बार्षिक रुपमा ५० हजार रुपैयाँसम्मको उपचार हुने व्यवस्था छ । एउटा परिबारमा पाँच भन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति थप ४२५ रुपैयाँ तिर्नुपर्ने र थप १० हजारको दरले उपचार खर्च बढदै जाने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *