अति पुराना उपकरणबाट स्वास्थ्य जाँच गर्दै ठूला सरकारी अस्पताल

काठमाडौँ, ३१ असार । उपत्यकाका ठूला सरकारी अस्पतालमा स्वास्थ्य जाँच गर्ने कतिपय  उपकरण ३० वर्षभन्दा पुराना छन् । त्यस्ता उपकरणको आयु औसत दुईदेखि पाँच वर्षको हुन्छ ।

वीर, टिचिङ, सिभिललगायतका अस्पतालले वर्षौं पुराना उपकरण प्रयोग गरिरहेका छन् । ‘दुईदेखि पाँच वर्ष मात्रै औसत आयु हुने भए पनि सरकारी अस्पतालमा पुराना उपकरण प्रयोगमा छन्,’ सिभिल अस्पतालका निर्देशक डा दीर्घराज आरसीले भने ।

त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताल महाराजगन्जमा पनि पुराना उपकरण प्रयोगमा आइरहेका छन् । अस्पतालका मेन्टिनेन्स शाखाका इन्जिनियर अमितकुमार चौधरीले स्थापनादेखिका उपकरणबाटै बिरामीको स्वास्थ्य जाँच भइरहेको बताए । ‘पुराना मेसिनबाटै हामीले बिरामीको स्वास्थ्य परीक्षण गरिरहेका छौँ,’ उनले भने ।

इन्जिनियर चौधरीले निश्चित आयुभन्दा बढी समय चलेका उपकरणको क्षमतामा कमी आउने भएकाले यस्ता मेसिनले बिरामीको स्वास्थ्य परीक्षण गर्दा गम्भीर समस्या उत्पन्न हुन सक्ने बताए ।

सबैभन्दा पुराना उपकरण टिचिङ अस्पतालमा रहेका छन् । यस्ता उपकरणलाई सबै अस्पतालले विस्थापन गरी अत्याधुनिक उपकरण जडान गर्नुपर्ने चौधरीको भनाइ छ । टिचिङ अस्पतालमा २५ वर्षदेखि अटो क्लेभ मेसिन सञ्चालनमा रहेको छ । यसलाई वर्षौँवर्षसम्म सञ्चालनमा ल्याउनु उपयुक्त नभएको प्राडा लोकविक्रम थापा बताउँछन् ।

‘उपचारमा जाँदा प्रयोग हुने कपडालाई सफा बनाउन यो मेसिन प्रयोग गरिन्छ । तर, पुरानो मेसिनबाट उल्टै संक्रमण हुन सक्ने अवस्था छ । यसलाई हल्का रूपमा लिनुहुँदैन,’ उनले भने ।

  • आजको नयाँ पत्रिकामा प्रकाशित समाचार ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *