नेताका नाममा खुलेका अस्पताललाई अनुदान दिन निर्देशिका नै परिवर्तन ?

काठमाडौँ, ६ असार । स्वास्थ्य मन्त्रालयले नेताका नाममा खुलेका अस्पताललाई अनुदान दिन यसपटक निर्देशिका नै परिवर्तन गरेको छ । नेताका नाममा खुलेका अस्पताललाई अनुदान रोक्ने गरि आएको सामुदायिक अस्पातलहरूलार्इ अनुदान दिने सम्वन्धी (प्रथम संशोधन) निर्देशिका दुई महिना पनि टिक्न नदिई दोस्रो संसोधन गरिएको छ र नेताका नाममा ढुक्कले अनुदान दिइएको छ ।

कांग्रेस नेतृ सुजाता कोइराला अध्यक्ष रहेको काठमाडौँको साखुँस्थित सुषमा कोइराला मेमोरियल अस्पतालले गत फागुनमा सेवा विस्तारका लागि भन्दै स्वास्थ्य मन्त्रालयसंग १० करोड रुपैयाँ अनुदान मागेको थियो ।

तर सामुदायिक अस्पतालहरुलाई अनुदान दिने सम्वन्धी निर्देशिका अनुसार उपत्यका भित्रका अस्पताललाई १० करोड होइन कत्तिपनि रकम अनुदान दिन सकिदैनथ्यो । तर नेतृ सुजाताको अडानको अगाडी मन्त्रालय निरीह देखियो र दुई महिना अघिको संसोधनलाई पुन दोस्रो संसोधन गर्दै अनुदान दिन मिल्ने व्यवस्था बनाइयो ।

साँखुमा रहेको सुषमा कोइराला मेमोरियल अस्पतालले आर्थिक बर्ष सकिन एक महिना बाँकी छदा गत ३१ जेठमा दुई करोड ११ लाख रुपैयाँ अनुदान लिएर छाड्यो । यसपटक दुई करोड उछिट्याएको सुषमा कोइरालाले दुई बर्ष अघि अर्थात आव २०७१/२०७२ मा पनि रातो किताबबाट सिधै एक करोड रकम पाएको थियो ।

२०७३ माघमा पहिलो संसोधन निर्देशिकामा काठमाडौँ उपत्यका, त्यस्तै महानगरपालिका र उपमहानगरपालिका भित्र खोलिएका सामुदायिक अस्तपाललाई अनुदान दिन नमिल्ने व्यवस्था थियो । तर सोही बर्ष चैतमा दोस्रो पटक संसोधन गरियो र निर्देशिकामा महानगरपालिका भित्रबाहेक सबै अस्पतालले अनुदान पाउने उल्लेख गरियो । पहिले व्यवस्था भएको उपमहानगरपालिका र उपत्यका भन्ने शव्द पनि हटाइयो ।

सोही दफालाई टेकेर स्वास्थ्य मन्त्री गगन थापाले अनुदानको लिष्टमा सुषमा कोइराला मेमोरियल अस्पताल र जोरपाटीमा रहेको नेपाल अर्थोपेडिक अस्पताललाई अटाउन हालेका छन् ।

सुषमा संगै लिष्टमा परेको अर्थोपेडिक अस्पतालले पनि २ करोड ११ लाख रुपैयाँ पाएको छ । त्यसो त गगन स्वास्थ्य मन्त्री भएकै बेला मापदण्ड विपरित नै तत्कालिन गृहमन्त्री बिमलेन्द्र निधी अध्यक्ष रहेको महेन्द्र नारायण निधी मेमोरियल अस्पताललाई ३ करोड अनुदान दिने निर्णय मन्त्रीपरिषदले गरेको थियो । यो अस्पताल अझ महानगरपालिका भित्र नै पर्दछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *