‘बाहिर पढेका अधिकांश नर्स सैद्धान्तिकमा फिट, प्रयोगात्मकमा कमजोर’

लक्ष्मी राई, रजिष्ट्रार : नेपाल नर्सिङ परिषद

नेपालमा नर्सहरु कति छन् ? अहिलेको अवस्था के छ ?
नेपाल नर्सिङ परिषदमा दर्ता भएको नर्सहरुको संख्या हेर्ने हो भने अहिलेसम्म ७० हजार ८८८ जना नर्स दर्ता भएका छन् । तर यीमध्ये कति नर्स स्वदेशमै छन वा कति विदेशमा छन भन्ने यकिन भन्न सक्ने अवस्था छैन ।

हाम्रो अनुमान चाहि सरकारी निकायमा ३० हजार बढी कार्यरत होलान, विदेश जानेको संख्या ५ हजारको हाराहारीमा होला र बाँकी सबै स्वदेशकै निजी क्षेत्रमा कार्यरत होलान् भन्ने छ । हाम्रो अनुमानले सबैभन्दा नर्सहरु निजी क्षेत्रमै कार्यरत छन भन्ने हो ।
नेपालमा नर्सहरुको श्रम शोषण भएको छ भन्ने आवाज धेरै सुनिन्छ ? काउन्सिलले कत्तिको सुनेको छ ?
हो हामीले पनि सुनेका छौँ । सुनेका मात्रै होइन महसुस नै गरेका छौँ । र यसलाई सुधार्न हाम्रा तर्फबाट गर्नुपर्ने कामहरु पनि अघि बढाएका छौँ ।

हामीलाई के लाग्छ भने समाधानका लागि नीतिगत रुपमै अघि बढ्नुपर्छ । हुन त स्वास्थ्य मन्त्रालयले निर्देशिका त बनाएको छ । त्यसले यो यो खालका दरबन्दी स्थानीय तहसमम पुरयाउने पनि भनेको छ ।

तर गाँउमा पुगेका छैनन् । अनमी र स्टाफ नर्सकै भरमा गाँउ चलेको छ भन्दा पनि हुन्छ । न व्याचलर नर्सको दरवन्दी छ न त उनीहरु जाने अवस्था नै बनेको छ ।

हेल्थपोष्ट र प्राथमिक स्वास्थ्य केन्द्रमा अधिकृत तहको नर्सको दरबन्दी राखिदिनु पर्छ भनेका छौँ । मिडवाईफ पठाउनुपर्छ भनेका छौँ । तर काम एकेडेमिक तर्फ केन्द्रीत हुन्छ । श्रम शोषणकै कुरा गर्दा निजी क्षेत्रमा बढी देखिएको सुनिएको छ । यद्धपी सरकारी क्षेत्रपनि अछुतो छैन् । भोलेन्टियर राख्ने कम तलव दिने जस्ता समस्याहरु नर्सले बेहोर्नु परेको छ ।

नर्स विरामी अनुपात पनि मिलेको छैन एउटै नर्सले धेरै विरामी हेर्नुपर्ने अवस्था छ, भनिन्छ नि हो ?
तपाईँले ठिकै भन्नु भयो । एक जनाले नर्सले विहान र बेलुका गरेर ६ जना विरामी हेर्न सक्छ भन्ने अन्तरष्ट्रिय मापदण्ड छ । तर नेपालमा भने एक जना नर्सले ४० /५० जना विरामी एक दिनमा हेर्नुपर्ने बाध्यता छ । काठमाडौँकै केही अस्पतालको कुरा गरेर हुँदैन समग्र देशको कुरा गर्दा अवस्था भयावह नै छ । नर्सहरुले धेरै दुख गर्नुपरेको छ ।

पछिल्लो समय नर्सिङ पेशामा गुणस्तर खस्किदै गएको छ भन्ने पनि गुनासो छ नि ?
यसलाई यसरी बुझौँ । गुणस्तरीय नर्स उत्पादन गर्न न्युनतम रुपमा गुणस्तरीय अस्पताल तथा स्वास्थ्य संस्थाहरु अनिवार्य छ । त्योसंगै शिक्षण संस्थामा दक्ष शिक्षक, प्रयोगात्मकका लागि चाहिने उपकरणहरु पनि हुनुपर्छ । तर सबै संस्थाहरुमा त्यस्तो व्यवस्था पाइदैन ।

सैद्धान्तिक ज्ञान राम्रा भएकाहरुले पनि प्रयोगात्मक अभ्यासको अवसर कम पाएका कारण गुणस्तरमा समस्या परेको हो जस्तो लाग्छ ।
एउटा नर्सले १० वटा डेलिभरी गराउनु पर्छ भने १० वटै गराउनु परयो २ वटा गराएर अनुभव हुँदैन । सुई लगाउने कुरा नै हेरौँ न डमीमा सुई लगाउन सिकाएर त भएन नि । मान्छेमै लगाउन सिक्नु परयो नि होइन र ?

तर अहिले यस्ता सामान्य सिकाई समेत नगराउने र मापदण्ड विनाका धेरै संस्थाले नर्सहरुको अध्ययन गराउने गरेका छन् । त्यस्ता ठाँउमा अध्ययन गरेका नर्सहरु स्वभावैले प्रयोगात्मक अभ्यास कम हुने भयो । अभ्यास कम हुने वित्तिकै त्यसले गुणस्तरमा असर गर्छ ।

यद्धपी नेपालको अवस्था बाहिरबाट अध्ययन गरि आउनेको भन्दा केही राम्रो मान्न सकिन्छ । बाहिरबाट आउनेहरुको अवस्था त झनै बिजोक छ । बाहिरबाट आउनेहरु सैद्धान्तिकमा फिट तर प्रयोगात्मकमा जिरो अवस्थाका समेत भेटिन्छ । लाईसेन्स परीक्षा लिनु अघिको भाईवामा उनीहरु आफैले भनेको कुरा हो यो ।

नर्सहरुलाई भोलेन्टियर राख्ने गरेको कुरा उठी रहेको छ, परिषद किन मौन ?
परिषद् स्वास्थ्य मन्त्रालय अन्तर्गतको निकाय हो । यसले गर्ने काम स्वास्थ्य मन्त्रालयले तयार पारेको निर्देशिका गाईड लाईनको आधारमा हो । र नर्सिङको हक हितको लागि नै गर्ने हो । त्यै पनि कलेजहरु अस्पतालहरु निरीक्षण गर्न जाँदा हामीले सम्वन्धीत निकायको ध्यानकर्षण गराउने गरेका छौँ । नर्सहरुलाई भोलेन्टियर राख्नु भएको छ भने कारबाही गर्नेछौँ भनेर चेतावनी दिएका छौँ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *