रौतहटको नि:शुल्क स्वास्थ्य शिविरमा घटेन भिड

रौतहट ११ चैत । सामान्य त निशुल्क स्वास्थ्य शिविरमा सुरुका दिनमा जस्तो भिड पछिल्ला दिनहरुमा देखिदैन तर रौतहटको गौरमा सञ्चालित निशुल्क स्वास्थ्य शिविरमा भने दृश्य बेग्लै छ । शिविर सुरु भएको चौथो दिन वितिसक्दा समेत भिड कुनै कमी आएको छैन ।

शिविर व्यवस्थापनमा खटिएका नेपाली सेनाका महासेनानी दीपक अधिकारी भन्छन्, ‘परीक्षण गराउन आउनेको संख्या घटला भन्यो झन भन्दा झन बढी भए जस्तो देखिन्छ ।’

हुन पनि पहिलो दिन नौ सय बढीको उपचार भएको शिविरमा दोस्रो दिन एक हजार ३ सय बढीले उपचार लिएका थिए । तेस्रो दिन एक अप्रेशन बाहेक झण्डै एघार सयले सेवा लिए । चौथो सो संख्या साढे ८ सयको हाराहारीमा रहयो । सेनाको नेतृत्वमा आएको चिकित्सकहरुको टोलीले हरेक दिन औषत २० जनाको दरले अप्रेशन गरिरहेका छन् ।

स्वास्थ्य मन्त्रालयका सहसचिव डा भोलाराम श्रेष्ठले पहिलो पटक सघन उपचार सहितको बृहत शिविर राख्दा सेवाग्राहीहरु बढेको बताए । उनले क्षमताले भ्याएसम्मकालाई सोही दिन र नभ्याउनेहरुलाई अर्को दिन उपचारका लागि बोलाउने गरेको बताए ।

शिविरका लागि नेपाली सेनाले मोवाईल अस्पताल खडा गरेको छ । जसमा १२ वटा कन्टेनर प्रयोग गरिएको छ । त्यस्तै अप्रेसन र भर्ना हुने विरामीका लागि जिल्ला अस्पताललाई समेत प्रयोग गरिएको छ ।

शिविरमा नेपाली सेनाले २१ जना चिकित्सक सहितको १०५ जनाको टोली परिचालन गरेको छ । स्वास्थ्य मन्त्रालयले छुट्टै १९ जना चिकित्सक सहितको टोली परिचालन गरेको छ ।

मन्त्रालयले बीर अस्पताल, भरतपुर अस्पताल, हेटौडा अस्पताल र गौर अस्पतालबाट चिकित्सकहरु परिचालन गरेको हो ।
रौतहट सहित बारा पर्सा, सप्तरी, धनुषा, महोत्तरी,सर्लाही लगायतका तराईका झण्डै ८ जिल्ल्लाका नागरिकहरु परीक्षणका लागि आएका छन् ।
उपचारका लागि आएकामध्ये झण्डै ३० प्रतिशत भारतीय
भारतीय सीमानासंग जोडिएको रौतहट सदरमुकाम गौरमा सञ्चालित निशुल्क स्वास्थ्य शिविरमा नेपाली मात्रैले होइन भारतीयले समेत उपचार सेवा लिएका छन् । स्थानीयहरुका अनुसार सिमा पारि बैरगनिया तथा सितामणीबाट भारतीयहरु उपचारका लागि आएका हुन् ।

स्थानीय रामबाबु यादव भन्छन्, झण्डै एक तिहाई त पारिबाट आएकाहरु नै छन् । स्वास्थ्य टोलीको नेतृत्व गरेका सेनाका महासेनानी डा उदय बज्राचार्यले विरामीहरु वारी पारीको खोजीवन गर्न साध्य नभएको बताए । विरामीहरु आएका छन, ‘हामीले उपचार गरिहेका छौँ । को कति कताबाट आए भनेर हेर्न भ्याइएको छैन । आउने जतिले स्वास्थ्य लाभ लिएका छन् ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *