अब जिल्लाहरुले पाँच लाख सम्मको औषधि सोझै खरीद गर्न सक्ने

काठमाडौँ, २६ पुस ।  सरकारले जिल्ला (स्वास्थ्य/ जनस्वास्थ्य)लाई एक पटकलाई पाँच लाखसम्मको औषधि सोझै खरीद गर्न सक्ने अधिकार दिएको छ । औषधि सकिएको बेला परेको र खरीद गर्न समय लाग्ने भन्दै कतिपय जिल्लाले अभाव भएको बताउन थालेपछि स्वास्थ्य मन्त्रालयले यस्तो व्यवस्था मिलाएको हो ।

स्वास्थ्य सेवा विभाग पुर्नजागरण महाशाखाका निर्देशक मोहमद दाउदले अव कुनै पनि जिल्लाले औषधि अभाव भयो भन्न नमिल्ने भन्दै अभाव भएका औषधि नजिकका पसलबाट सोझै खरीद गर्न सक्ने बताए ।

संसोधित सार्वजनिक खरीद नियमावली (चौथो संसोधन) २०७३ को नियम ८५(१) क ले ५ लाख रुपैयाँ सम्मको औषधि सोझै खरीद गर्न सक्ने र सोही नियमावलीको नियम ८४(२)(१क) अनुसार ५० लाख सम्मको औषधि बोलपत्र आवहान गरी खरीद गर्न सक्ने व्यवस्था छ ।

निर्देशक दाउदले डेन्टरमा खर्च नभएको रकमबाट खरीद गर्न सकिने स्पष्ट पारे । उनले भने, ‘मानौँ ५० लाखको डेन्टर खोल्दा ३० लाखको मात्रै परयो भने २० लाख त बाँकी रह्यो, त्यहि बाँकी रकमबाट ५ लाखको औषधि सोझै खरीद गर्न पाइन्छ । तर बाँकी १५ लाखको तत्काल डेन्टर गर्नुपर्छ ।’

यसपटक समयमै औषधि खरीदका लागि बजेट पठाए पनि जिल्लाहरुले डेन्टरको प्रक्रियामा ढिलासुस्ती गरेका छन् । जसले गर्दा कतिपय जिल्लामा औषधि अभाव देखिन थालेको छ ।

स्वास्थ्य मन्त्री गगन थापाले कुनै पनि बहानामा औषधि अभाव हुन नदिन पटक पटक निर्देशन दिइरहेका छन् । पछिल्लोपटक पाँच लाखसम्मको व्यवस्था त्यसैको विकल्प भएको निर्देशक दाउदले बताए ।

औषधि खरीदमा ढिलाई र अभावका समाचार सार्वजनिक भएपछि स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले पुन जिल्लाहरुलाई पाँच लाख र पचास लाखको व्यवस्था बारे निर्देशनात्मक पत्र पठाइसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *