जाल भित्र सुत्केरी

बाजुरा १५ पुस – बीचमा कर्णाली नदी । वारि बाजुराको तिथिचौर, पारि मुगुको बिन गाउँ । यही बिन गाउँकी नौरती शाहीलाई सुत्केरी व्यथा सुरु हुनेबित्तिकै स्वास्थ्य संस्था लैजानुको साटो परिवारका सदस्यले हत्तपत्त गोठमा सारे ।

पशु चौपायालाई अन्यत्र सारेर नौरतीलाई गोठ पुर्‍याइएको ४ घण्टापछि उनी सुत्केरी भइन् । तेस्रो सन्तानका रूपमा बल्ल छोरा जन्मिएपछि परिवारमा हर्षबढाइँ भयो । नौरतीले त्यही गोरु गोठभित्र यसअघि दुई छोरी जन्माएकी थिइन् ।

छोरा जन्मिएपछि परिवारमा खुसियाली छाए पनि जन्म दिने आमालाई भने शारीरिक कष्ट सुरु भयो । चौपायाले रात बिताउने गरेको हिलाम्मे गोठमा दुर्गन्ध खपिनसक्नु थियो । आँगन छेवैबाट बग्ने कर्णाली नदीबाट सिधै गोठैभित्रै पुग्ने पुस महिनाको चिसो सिरेटोको सास्ती उस्तै । नौरतीले शिशुसँगै पूरापूर एक महिना यही जेलको छिँडीजस्तो गोठभित्र गुजार्नुपर्ने भयो ।

सामाजिक परम्पराअनुसार गोठको मूल ढोकामा तरबार ठड्याइएको छ । माथिबाट माछा मार्ने जाल ढोकामा फिँजाइएको छ । तरबार र जालले नै सुत्केरी र शिशुलाई भूतप्रेत र कपटबाट सुरक्षा गर्ने जनविश्वासअनुसार परिवारले यसो गरेका हुन् । नौरती पनि ढोकामा राखिएको त्यही जाल र तरबारले आफू र शिशुको सुरक्षा हुनेमा ढुक्क छिन् । ‘यो तरबार र जाल मेरो सुरक्षा घेरा हो,’ उनले भनिन्, ‘केही डर हुँदैन ।’

सुत्केरीले पूरा गर्नुपर्ने सामाजिक र पारिवारिक परम्पराको बन्धनमा बाँधिएकी नौरतीलाई टसमस गर्ने विकल्प छैन । गोरु गोठमा बस्नुपर्ने परम्परा गलत लागे पनि उनमा यो परम्परागत मान्यता तोड्ने हिम्मत छैन । ‘नियम नमाने गाउँलेले मान्दै आएको रसिकल देउताले सराप्ने डर हुन्छ,’ नौरतीका श्रीमान् रणबहादुरले भने ।

१२ कक्षासम्म पढेकी नौरतीलाई सुत्केरी भएका बेला गोरु गोठमा बस्दा आफू र शिशु दुवैको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने कुरा राम्रै थाहा छ । तर गाउँको प्रचलनले अरूभन्दा फरक छुट दिएको छैन । ‘पढेलेखेको भनेर के गर्नु रु’ उनले भनिन्, ‘गाउँ समाजको मान्यताविपरीत जान सकिँदैन ।’

बाजुरा, हुम्ला र मुगु जोडिएका क्षेत्रमा छुवाछूत हुने चलनले सुत्केरीले महिना दिनसम्म कडा बन्धनमा बाँधिनुपर्ने नियम छ । अरूलाई छुन नमिल्ने, आफैंले पकाएर खानुपर्ने, दूधदही खान नहुने लगायत नियमसमेत उनीहरूले कडाइका साथ पालना गर्नैपर्छ ।

  • आजको कान्तिपुर दैनिकमा अर्जुन शाहको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *