‘अंग प्रत्यारोपण सम्वन्धी कानुन सयौँ मानिसको ज्यान बचाउने कानुन’
सरकारले केही दिन अघि मात्र मस्तिष्क मृत्यु अर्थात ब्रेन डेथ भएकाहरुबाट अंग झिकेर प्रत्यारोपण गर्न मिल्ने कानुन ‘अंगप्रत्यारोपण नियमित तथा निशेध नियमावली २०७३’ पास गरेको छ । कानुन पास भएसंगै अब परिवारले चाहेको खण्डमा ब्रेन डेथ भएका व्यक्तिबाट मिर्गौला, मुटु, कलेजो, फोक्सो, सानो आन्द्रा, पेङक्रियाज लगायतका अंगहरु झिकेर अंग फेल भएका व्यक्तिमा प्रत्यारोपण गर्न सकिने बाटो खुलेको छ ।
तर अहिले पनि ब्रेनडेथ बारे कतिपय व्यक्तिमा भ्रम छ । मुटु चलेको छ शरीर तातो छ तर चिकित्सकले मृत्यु भएको अर्थात ब्रेनडेथ भएको भनिदिन्छन् भन्ने कतिपयको बुझाई छ । खासमा के हो त ब्रेनडेथ ? बरिष्ठ न्युरोसर्जन डा.बसन्त पन्तसंग नेपाली हेल्थले गरेको कुराकानीको सार सक्षेप :
बास्तवमा के हो ब्रेन डेथ ?
सिधा भाषामा ब्रेन डेथ भनेको मस्तिष्कको मृत्यु हुनु हो । मस्तिष्कको मृत्यु हुनु भएको मृत्यु हुनु बराबर हो । मस्तिष्क मृत्यु भएपछि मानिस व्युतिन सक्दैन ।
तर ब्रेन डेथ भएको भनिएको व्यक्तिको भेन्टिलेटर प्रयोग गरिएको भएपनि शरीर छाम्दा तातो रहने, मुटु चल्ने श्वासप्रस्वास पनि भई रहने देखिन्छ नि ? यस्तो अवस्थाले भ्रम सिर्जना गर्दैन र ?
सही भन्नु भयो, ब्रेन डेथ अर्थात बिरामीको मृत्यु भयो भनेर आफन्तलाई बुझाउन सबैभन्दा समस्या पर्ने यहि निर हो । मुटु चलेको छ, फोक्सो भेन्टिलेटरले चलाएको छ । सास फेरेकै देखिन्छ । शरीर छाम्दा तातो पनि छ । कसैको त आँखाबाट आसु समेत आउने गर्छ । यो अवस्था देख्दा शंका लाग्नु स्वभाविक हो ।
तर के बुझ्नु जरुरी छ भने, मुटु यस्तो अंग हो त्यो चलाउन मस्तिष्कको जरुरत पर्दैछ । पेशमेकर भए पुग्छ । फोक्सो भेन्टिलेटरले चलाई हाल्छ । यसरी लामो समयसम्म चलाउन सकिन्छ । यद्धपी यो अवस्था खर्चिलो र अप्ठेरो अवस्था हो । यद्धपी मानिसको मृत्यु भने भईसकेको हुन्छ ।
अझ सजिलो गरि बुझौँ मानिसको मृत्यु निर्धारण गर्ने मुख्य तीनवटा अंग छन् । मस्तिष्क, मुटु र फोक्सो । तर कहिलेकाही मस्तिष्क बाहेकका बाँकी दुई अंगलाई कृतिमरुपमा चलाउन सकिन्छ । भेन्टिलेटरबाट बन्द भईसकेको फोक्सो पनि चलाउन सकिन्छ । मुटुपनि चल्छ । तर मस्तिष्क मृत्यु भईसकेपछि त्यो अर्को उपाय छैन् । अर्थात ब्रेन डेथ इक्वेल्स टू डेथ हो ।
ब्रेन डेथ भएको कसरी निर्धारण गरिन्छ ?
ब्रेन डेथ भएको हो भनि निर्धारण गरिने विभिन्न सूचकहरु छन् । जस्तो चाल, धडकन, आँखाको नानी, भेन्टिलेटर बन्द, लगायतका धेरै परीक्षणहरु छन् । ती सबैमा सून्य रिपोर्ट आउनुपर्छ र एकपटकको परीक्षणले मात्रै निर्धारण गरिदैन् । पहिलोपटक सून्य रिपोर्ट आएपछि दोस्रो पटक पुन परीक्षण गरिन्छ ।त्यसमा पनि सून्य रिपोर्ट आएपछि ब्रेन डेथ भएको एकीन गरिन्छ ।
ब्रेन डेथ भएको भनिएको व्यक्तिको मस्तिष्क चाँही कस्तो हुन्छ ? पुन व्युतिने सम्भावना हुँदैन ?
ब्रेन डेथ भएको भएको व्यक्तिको टाउको खोल्यो भने त्यहाँ भित्र केही पनि हुँदैन अर्थात मस्तिष्क रहने ठाँउ खाली हुन्छ । थोरै पानी जस्तो तरल पदार्थ हुन्छ । मस्तिष्क अर्थात गिदी पग्लिइसकेको अवस्था हुन्छ । त्यसैले ब्रेनडेथ हुनु भनेको मृत्यु नै हो ।
मैले अध्ययनका क्रममा जापानमा रहँदा ब्रेनडेथ भएका धेरै व्यक्तिहरुको टाउको खोलेको छु । मेडिकल कलेजमा ब्रेनडेथ भएकाहरुको अटोप्सी गर्नुपथ्र्यो र हामी विद्यार्थीहरुलाई त्यसमा सहभागी गराइन्थ्यो ।
ब्रेन डेथ भएको अवस्थामा मस्तिष्क अर्थात गिदीमा रगत पुग्दैन । जब रगत पुग्दैन त्यसपछि गिदी लिक्युफाई अर्थात पग्लिन थाल्छ ।
हामी झुक्किनु हुँदैन । ब्रेनडेथ भएको व्यक्तिको मुटु चलिरहेको हुन्छ । स्वासप्रस्वास पनि भेन्टिलेटले गराईरहेको हुन्छ । छाम्दा शरीर तातै हुन्छ ।कहिलेकाँही आँखाबाट आसु समेत बगेको हुन्छ । नङ बढेको हुन्छ , रौँ बढेको हुन्छ । तर मानिस मरिकेको हुन्छ ।
नेपाल सरकारले ब्रेनडेथ भएका व्यक्तिको अंग झिकेर प्रत्यारोपण गर्न सकिने कानून पास गरेको अवस्था छ, यसले नेपालको स्वास्थ्य क्षेत्रमा के फाईदा हुन्छ ?
ब्रेन डेथ हुनु भनेको मृत्यु हुनु नै हो भन्ने कुरा चिकित्सा विज्ञानले धेरै अघि प्रमाणित गरेपनि कानूनीरुपमा आएको थिएन । तर अहिले आयो । यो कानून विज्ञहरुद्धारा झण्डै तीन चार बर्ष लगाएर ल्याइएको हो । त्यसमा कुन अवस्था ब्रेन डेथको अवस्था देखि कसरी अंग झिक्ने, कसले पाउने ? कसरी पाउने ? आदी सबै कुराहरु उल्लेख छ ।
काठमाडौँका अस्पतालमा मात्रै बर्षमा १ हजार बढी ब्रेनडेथको केश आउने हुने गर्छ । अहिलेसम्म कानून अभावमा त्यो केशको प्रयोग हुनसकेको थिएन । तर अव कानून आइसकेपछि परिबारले चाहेको खण्डमा ब्रेनडेथ भएको व्यक्तिबाट ७ ८ वटा महत्वपूर्ण अंगहरु झिकेर अरु बिरामीमा प्रत्यारोपण गर्न सकिन्छ । मिर्गौला, मुटु, फोक्सो, कलेजो, सानो आन्द्रा, प्रेंक्रियाज लगायतका अंगहरु प्रत्यारोपण गर्न मिल्छ ।
कानूनले दिएपनि यतिवेला मिर्गौला बाहेक अन्य अंगको प्रत्यारोपण हुने अवस्था छैन् । त्यसैले मिर्गौला नै सहि यसको प्रयोग गर्न सकियो भने नेपालको चिकित्सा क्षेत्रमा ठूलो उपलव्धी मान्नुपर्छ । किनभने यसले अंगफेल भई प्रत्यारोपण गर्न नसकी मृत्युबरण हुन पुग्ने अवस्थाका सयौँ मानिसको ज्यान जोगाउने एउटा विकल्प खोलिदिएको छ । यो कानून अंग प्रत्यारोणमा कोशेढुंगा हो ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com
Great