चिकित्सक संघ निर्वाचन : २२ बुँदे प्रतिवद्धता अघि सार्दै समावेशी समूहले भन्यो, ‘जीत सुनिश्चित छ’
काठमाडौँ, १६ भदौ – नेपाल चिकित्सक संघको शुक्रबार (भोलिबाट) सुरु हुन लागेको निर्वाचनमा आफूहरुको जीत सुनिश्चित भएको पेशागत समावेशी समूहले दावी गरेको छ ।
विहीबार पत्रकार सम्मेलन गरि समूहले आफूहरुले परिवर्तनको एजेण्डा अघि सारेको भन्दै जीत सुनिश्चित भएको दावी गरेको हो । निर्वाचनमा समावेशी समूहबाट डा. रमेश ढकाल अध्यक्ष, डा. सन्तोष पौडेल बरिष्ठ उपाध्यक्ष, डा. शिबेन्द्र झा उपाध्यक्ष, डा. अजयकुमार मिश्र महासचिव, डा. शैलेशमणी पोखरेल सहसचिव र डा. रक्षा श्रेष्ठ कोषाध्यक्ष छन् ।
त्यसैगरी सदस्यहरुमा डा. समिर शर्मा, डा. अमल बस्नेत, डा. अशोक श्रीपाइली, डा. अवधेशकुमार साह, डा. महेश महासेठ, डा. सुजया गुप्ता, डा. यज्ञराज सिग्देले उम्मेदवारी दिएका छन् ।
अध्यक्षका उम्मेदवार डा. ढकालले आफ्नो प्यानलले चिकित्सकको सेवा सुविधा सुरक्षा, चिकित्सा शिक्षा, स्वास्थ्य संस्था संरचना, सामाजिक उत्तरदायित्व तथा पेशागत आचरण र नेपाल चिकित्सक संघको कार्यसञ्चाल सम्वन्धी विषयमा २२ बुँदे प्रतिवद्धता अघि सारेको बताए । उनले अहिलेसम्म संघको नेतृत् वगर्न आएका पुरानै ढर्राबाट अघि बढेको भन्दै आफूहरुको उम्मेदवारी त्यसलाई चिर्नका लागि भएको दावी गरे ।
‘हामी युवा छौँ , परिवर्तनकामी छौँ, हाम्रो कामगराईको स्पिरिट नै हेर्नुभयो भने पनि फरक छ । त्यसैले हामीले आफ्नो दावेदारी प्रस्तुत गरेका हौँ । बहुसंख्यक चिकित्सकहरुले हामीलाई समर्थन गर्नुभएको छ,’ उनले भने ।
बरिष्ठ उपाध्यक्ष डा. सन्तोष पौडेलले आफ्नो समूहको उम्मेदवारहरु ३० देखी ४० बर्ष बीचको युवाहरु भएको भन्दै नेतृत्वमा आउन कपाल फुलाउनुपर्ने परिपाटीको अन्त्य गर्न लागेको बताए । उनले चिकित्सक संघ चिकित्सकहरुको पेशागत हक हितका लागि काम गर्ने संस्था भएको भन्दै आफूहरुको नेतृत्व आएपछि त्यसको महसुस व्यवहारमै गराउने बताए ।
महासचिवका उम्मेदवार डा. अजयकुमार मिश्रले आफूहरुको प्यानल विशुद्ध पेशागत भएको भन्दै पूर्व देखी पश्चिम उत्तर देखि दक्षिण सम्मका विभिन्न भुगोलबाट उम्मेदवार खडा भएको भन्दै यो प्यानलले सम्पूर्ण क्षेत्रका चिकित्सकको प्रतिनिधित्व गरेको दावी गरे । देशमा १७ हजार चिकित्सक भएपनि चिकित्सक संघमा ५ हजारको हाराहारीमा चिकित्सकहरु मात्रै रहेको भन्दै १७ हजार चिकित्सकलाई समेटनको लागि पनि आफूहरुको प्यानल आउनुपर्ने ठोकुवा गरे ।
संघको केन्द्रीय कार्यकारिणी समिति २०७२ ०७५ का लागि निर्वाचन उपत्यका बाहिर १७ र १८ गते तथा उपत्यका भित्र २१ देखी २५ भदौसम्म चल्नेछ । यो निर्वाचनमा प्रजातान्त्रिक समूहबाट डा. मुक्तिराम श्रेष्ठको नेतृत्वमा अर्को समूहले उम्मेदवारी दिएको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com



नेपाली हेल्थ 


