चालु आर्थिक वर्षमा १६ जिल्लामा फैलियो दादुरा
हजार भन्दा बढी संक्रमित, एक जनाको ज्यान गयो
काठमाडौँ, २७ जेठ । चालु आर्थिक वर्षमा देशका १६ जिल्लामा दादुराको प्रकोप फैलिएको छ । पछिल्लो पटक यो प्रकोप संघीय राजधानी काठमाडौँमा नै देखा परेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन र काठमाडौँमा यो प्रकोप देखा परेको छ । यस्तै कपिलवस्तु, अर्घाखाँची, दाङ, बर्दिया, सुर्खेत, कैलाली, बाँके, कञ्चनपुर र बाजुरामा पनि दादुरा देखिईसकेको छ ।
मन्त्रालयले अहिलेसम्म कुल १ हजार ३ जना दादुराको विरामी भेटिएको र बाँकेको नेपालगञ्जमा एक जनाको ज्यान गएको उल्लेख गरेको छ ।
एक जनाको ज्यान गएपछि भने बाँकेमा गत पुस महिनामा ६ महिनादेखि १५ वर्ष उमेर समूहका कुल १ लाख ७३ हजार ३२४ जना बालबालिकाहरुलाई दादुरा विरुद्धको खोप लगाइएको छ ।
कहाँ कहाँ बढी देखियो प्रकोप ?
मन्त्रालयले कैलाली सुनसरी र महोत्तरी गरी तीन जिल्लामा बढी प्रक्रोप फैलिएको बताएको छ । यसमा कैलालीको धनगढी उपमहानगर पालिका, गौरीगंगा, गोदावरी बर्जु नगरपालिका भेरी र गौशाला नगरपालिकाको वडा नं २ र ५ मा पनि यो प्रकोप बढी देखिएको छ ।
प्रकोप बढी देखिएको क्षेत्रमा खोप लगाइएको बताएको छ ।
यसैबीच मन्त्रालयको परिवार कल्याण महाशाखाले चालु आर्थिक वर्ष भित्र दादुराबाट अति प्रभावित ९ जिल्लामा खोप सञ्चालन गर्ने बताएको छ । त्यसमा मोरङ, सुनसरी, महोत्तरी, दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरा रहेका छन् ।
यी जिल्लाहरुमा कुल १६ लाख ८१ हजार ८५१ जना बालबालिकाहरुलाई खोप दिईने भएको छ ।
सम्पर्क इमेल : [email protected]