बालेनले स्वास्थ्य मन्त्री बस्नेतलाई भने, ‘नियम नमान्ने अस्पताललाई तपाईँ कानूनी दायरामा ल्याउनुहुन्छ कि हामीले कारवाही गरौँ ?’
नि:शुल्क उपचारको विवरण नबुझाउने ६८ स्वास्थ्य संस्थाको सूची तयार

काठमाडौँ, १७ जेठ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले महानगरभित्र रहेका अस्पताललगायत विभिन्न स्वास्थ्य संस्थाहरुलाई कानुनी दायरामा ल्याउन स्वास्थ्यमन्त्रीलाई एक साताको अल्टिमेटम दिएका छन् ।
महानगरले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराएको भन्दै ६८ स्वास्थ्य संस्थाहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर मेयर बालेनले उक्त अल्टिमेटम दिएका हुन् ।

‘स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुन अनुसार यदि मन्त्रीज्युले ७ दिनभित्र उनीहरुलाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौं,’ बालेनले भनेका छन् ।
‘नेपालको संविधान र प्रचलित कानुनले आधारभूत स्वास्थ्य सम्बन्धी मौलिक हक राज्यले प्रत्याभूति गर्नुपर्ने र सो अधिकारको कार्यान्वयन गर्ने दायित्व तीनै तहको सरकारको रहेको छ।
स्वास्थ्यमा सर्वसाधारणको पहुँच अभिवृद्घि गर्दै सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरु उपलब्ध गराउने तर्फ माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउँदै काठमाडौँ महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरुको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न अनुरोध गरेको छौ,’ मेयरले भनेका छन्।
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाहरुले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुन अनुसार विपन्न एवं लक्षित वर्गहरुलाई दिनुपर्ने कुल शैयाको १० प्रतिशत छुट्याई निशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य सुविधाहरु उपलब्ध गराउने सम्बन्धमा काठमाडौँ महानगरपालिकाले यही जेठ ६ गते सार्वजनिक सूचना जारी गरेको थियो ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



