सरकारले सुर्तीजन्य पदार्थमा झन् घटायो करको दर

सुर्तीजन्य पदार्थमा कर बढाउँछु भन्ने स्वास्थ्य मन्त्री बस्नेतको भाषण गफ मै सिमित

काठमाडौँ, १६ जेठ । स्वास्थ्य मन्त्रीमा नियुक्त भएपछिका हरेक भाषणमा मोहनबहादुर बस्नेतले सधै दोहोरयाउने एउटा शब्द थियो ‘सुर्तीजन्य पदार्थमा करको दर बढाउँछु ।’

पद बहाली लगत्तै मन्त्रालयमा भएको परिचयात्मक कार्यक्रममा मात्रै होइन, त्यसपछिका कैयौ छलफल र कार्यक्रमका भाषणमा उनले सोही कुरा दोहोरयाए । त्यति मात्रै होइन सिन्धुपाल्चोकमा खानेपानी ट्यांकी उद्घाटन गर्न जाँदा होस् या विश्व स्वास्थ्य संगठन डब्लुएचओको ७६ औँ महासभामा भाग लिन स्वीजरल्याण्डको जेनेभा जाँदा होस् उनले सुर्तीजन्य पदार्थमा करको दर बृद्धि गर्ने भनेकै हुन्थे ।

त्यसका लागि विज्ञहरुसंग सुझाव लिए जस्तो पनि गर्दथे ।

सुर्तीजन्य पदार्थको बारेमा नियुक्ती भएकै दिन देखि नै सुर्तीजन्य पदार्थलाई यति महत्व दिएर चासो देखाएका सायद उनी नै पहिलो मन्त्री थिए ।

सुर्तीजन्य पदार्थ विरुद्ध उनको यो सक्रियता देखेर स्वास्थ्य क्षेत्रका विज्ञहरु तथा नसर्ने रोग विरुद्धका अभियानमा खटिएका निकै खुशी देखिन्थे, जेनेभामा उनको प्रस्तुति पछि डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयससले समेत ट्वीट गरेर नेपालले सुर्तीजन्य पदार्थमा कर बढाउन लागेको भन्दै खुशी व्यक्त गरेका थिए ।

तर,  सोमबार सार्वजनिक भएको बजेट भाषणमा अर्थमन्त्री डा प्रकाशशरण महतले सुर्तीजन्य पदार्थमा करको दर बढाउनुको सट्टा घट्ने गरी रेट प्रस्तुत गरिदिए । अर्थमन्त्रीले ल्याएको यो बजेटले स्वास्थ्य मन्त्रीको भाषण र प्रतिवद्धतालाई गफ मै सिमित गरिदिएको छ ।

बजेटमा उल्लेखित मुद्रास्फितिलाई राखेर विश्लेषण गर्दा सुर्तीजन्य पदार्थमा नेपालले अपनाएको करको दरमा यसपटक ५ देखि ६ प्रतिशतमा कम हुने देखिएको छ । सुर्तीजन्य पदार्थमा यो खालको करको दर पछिल्लो केही वर्ष यताकै सबैभन्दा खराव अवस्था हो ।

एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले सुर्तीजन्य पदार्थमा करको दर घट्नु लज्जाको विषय भएको बताए । ‘देशले राष्ट्रिय अन्तराष्ट्रिय प्रतिवद्धता गरेको छ । जनताको जीउ धनको सवाल छ । तर व्यापारीलाई फाइदा पुग्ने गरी करको दर तोकिन्छ । यसले सरकारका मन्त्रीहरु व्यापारीको प्रभावका परेका छन् भनेर शंका गर्न मिल्ने कि नमिल्ने ?’ उनले प्रतिप्रश्न गर्दै भने ।

उनले  हाल सुर्तीजन्य पदार्थमा करको दर करीव ३३ प्रतिशतमा रहेको भन्दै मुद्रास्फिति बढेर दर ७.७७ प्रतिशतमा पुग्दा सुर्तीजन्य पदार्थमा अहिले बढाइएको भनिएको करको दर घटेर ५ देखि ६ प्रतिशत कम हुने बताए । यसले नेपालमा सुर्तीजन्य पदार्थमा लाग्दै आएको करको दर २७ देखि २८ प्रतिशतको हाराहारीमा रहने ठोकुवा गरे ।

उनले मन्त्री बस्नेतको कुरा र काम गराईमा तादम्यता नमिलेको समेत बताए । चन्दले अगाडी थपे, स्वास्थ्य मन्त्री ज्यूले यसपटक सुरु देखि नै सुर्तीजन्य पदार्थमा करको दर बढाउने भन्दै आउनु भएको थियो । हामी आशावादी पनि थियौँ तर न्युनतम रुपमा समेत बृद्धि नहुन, यथास्थितिमा समेह नरहने गरी कर घटेर आयो । यो देशकै लागि समेत लज्जाको विषय भयो ।’

अर्को संस्था नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडीआरआई)का कार्यकारी निर्देशक डा. जयकुमार गुरुङले सुर्तीजन्य पदार्थको करको दरमा सरकारले लिएको निर्णय ईतिहासमै नालायकी भएको बताए । उनले भने, ‘सरकारले यसपटक मौका गुमायो, राजश्व बृद्धि गर्ने मौका थियो, करको दर बढाएर कम्तीमा छिमेकी मुलुकभन्दा कम छैनौँ भन्ने अवस्था समेत हुन्थ्यो तर गरेन । उनले नेपालबाट अवैध व्यापार बढ्ने र राज्यलाई नोक्सान र व्यापारीलाई फाइदा हुने अवस्था हुने ठोकुवा गरे ।’

त्यसो त मन्त्री बस्नेतले सुरु देखि नै घटेर आएको स्वास्थ्यको बजेट सिलिङ लाई सुधार गर्ने र स्वास्थ्य क्षेत्रको बजेट बढाउँन आफू क्रियाशिल रहेको बताउने गरेका थिए । तर यसपटक बजेट गतवर्ष भन्दा करीव २० अर्व कम भएर आयो ।

बजेट कम हुँदा सुर्तीजन्य पदार्थमा करको दरमा भारी बृद्धि गर्ने र स्वास्थ्य सेवालाई चुस्त बनाउने उनको सुरु देखिको भाषण अर्थमन्त्री मन्त्रीको बजेट भाषणले हावामै सिमित गरिदियो ।

यस विषयमा स्वास्थ्य मन्त्री बस्नेतको प्रतिक्रिया लिने प्रयास भने सफल हुन सकेन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *