गर्भावस्थामा व्यायम किन ?

 

मानव स्वास्थ्यका लागि शारीरिक व्यायम (फिजिकल एक्सरसाइज) अति आवश्यक छ भनेर भनिरहनु नपर्ला । किनभने स्वास्थ्यका लागि व्यायमको महत्व कति छ भनेर प्राय सबैलाई थाहा छ ।

स्वस्थ मान्छेलाई आफ्नो शारीरिक तन्दुरुस्तीका लागि होस या नसर्ने रोग लाग्ने सम्भावनालाई न्युन गर्न होस व्यायम जरुरी छ । नसर्ने रोग लागि सकेकाहरुलाई रोग नियन्त्रण गर्न व्यायम आवश्यक छ । र, यसको महसुस गरेर अचेल धेरै महिला पुरुष दैनिक व्यायममा क्रियाशिल रहेको देखिएको छ ।

तर हामीले यहाँ निर बुझ्नु पर्ने कुरा के हो भने शारीरिक व्यायम स्वस्थ, निरोगी र रोग नियन्त्रण गर्न कस्सिएका व्यक्तिहरुका लागि मात्रै होइन, यो भन्दा बढी आवश्यक गर्भवतीका लागि पनि छ ।

थाहा नभएको वा बुझाईमा कमि रहेकोले पनि हुन सक्छ हाम्रो समाजमा अहिले पनि कतिपयले गर्भवतीलाई व्यायम होइन आरामको चाहिन्छ भन्ने गरेका छन् ।

हो, आराम चाहिन्छ, तर व्यायम पनि चाहिन्छ ।

स्पार्क हेल्थ होम अस्पताल कालिमाटीले अहिले गर्भावस्थाका महिलाहरुलाई व्यायम सिकाई रहेको छ । यसले गर्भवती महिला र पेटमा हुर्कदै गरेको शिशुको स्वास्थ्यमा मात्रै होइन नर्मल डेलिभरी हुन्, डेलिभरी हुने बेलामा अन्य जोखिम कम गर्नलाई समेत मद्धत पुग्दछ ।

गर्भवतीले कहिले र कसरी गर्ने व्यायम ?

गर्भावस्थाको २० औँ हप्ता पार गरेपछि गर्भवती महिलाहरु व्यायममा सहभागी हुन सक्छन् । यो क्रमलाई ३२ हप्तासम्म लैजान सकिन्छ । लगभग २८ हप्ता पुगेपछि एन्टीनेटल प्रिन्याटल कक्षा पनि लिन सकिन्छ । यसले आमा र बच्चाको स्वास्थ्यमा निकै लाभ प्रदान गर्दछ ।

व्यायम किन त ?

गर्भावस्थामा व्यायमको कुरा गर्दा हाम्रो समाजमा अहिले पनि कतिपय घरका आमा/हजुरआमाहरुले आफू सुत्केरी हुँदाको अनुभव सुनाउने र आफूले कुनै व्यायम नगरी बच्चा पाएको बताउने गर्नु हुन्छ । तर,  म के भन्छु भने, उहाँहरुको त्यो समय र हाम्रो पालाको यो समय निकै फरक छ ।

पहिले अहिलेको जस्तो दिनभर ‘टेवल वर्क’ गर्ने चलन व्यवस्था पक्कै थिएन होला, हिडाई भन्दा बढी सवारी साधनको प्रयोग गर्ने गरिन्नथ्यो होला । पक्कै पनि त्यसबेला हाम्रा आमा हजुरआमाहरु दैनिक हिडने, शारीरिक परिश्रम गर्ने, उकाली ओराली गर्ने, खेती किसानी गर्ने जस्ता क्रियाकलापमा सरिक हुनुहुन्थ्यो होला । त्यसबेला उहाँहरुले गर्ने यहि क्रियाकलापले नै उहाँहरको शारीरिक व्यायम भइरहेको हुन्थ्यो । तर अहिले त्यस्तो छैन् । हाम्रो शारीरिक क्रियाकलाप छैन भन्दा हुन्छ । त्यसैले व्यायम आवश्यक छ भनिएको हो ।

शारीरिक व्यायमले गर्भवतीलाई के के कुरामा फाइदा हुन्छ ?

पहिलो कुरा गर्भवती महिलालाई फाइदा हुन्छ । सुत्केरी हुन एकदमै सजिलो हुन्छ । शिशुको बढ्ने दरमा बृद्धि हुन्छ । यस्तै पोष्ट डेलिभरीपछि रिकोभरी अर्थात सुत्केरी पछि नर्मल अवस्थामा आउने दर छिटो हुन्छ । व्यायम हुँदा शल्यक्रियाद्धारा सुत्केरी हुने सम्भावना निकै नै कम हुन्छ ।

हामीले शरीरलाई एकदमै लचकदार कसरी बनाउन सकिन्छ भनेर सिकाउँछौँ । यसले गर्दा नर्मल डेलिभरी हुने सम्भावना अत्यधिक रहन्छ । व्यायम गर्दा गर्भावस्थामा देखिन सक्ने उच्च रक्तचाप, मधुमेह जस्ता रोग देखिने सम्भावना पनि कम हुन्छ ।

गर्भवतीले व्यायम कहिले देखि गर्ने ?

सामान्य अवस्थाका गर्भवतीहरु जसको गर्भ वसेको २० हप्ता पुगेको छ, उनीहरुले व्यायम गर्न मिल्छ । हामीले गर्भावस्थामा के के व्यायम गर्ने ? कसरी गर्ने ? कहिलेसम्म गर्ने ? कस्तो व्यायम गर्दा आमा र शिशुको लागि फाइदा हुन्छ सबै कुरा सिकाउँछौँ ।

तर, यदि गर्भवती हुँदा केही समस्या छ, चिकित्सकले आराम मात्रै गर्ने सल्लाह दिएको छ, प्रेसर सुगर बढेको अवस्थाको अर्थात हाई रिस्क प्रेग्नेन्सी छ भने हामीले व्यायम गर्न भन्दैनौँ । इमरजैन्सी स्वास्थ्य समस्या देखियो भने पनि यस्तो बेलामा व्यायम गर्न मिल्दैन ।

व्यायम सुरु गर्नु अघि महिलाको ‘एनोमल्ली स्क्यान’ गर्दछौँ । त्यसले गर्भावस्थाको बारेमा पूर्ण जानकारी लिएर मात्रै यो व्यायम सुरु गराउँछोँ ।
माथि नै उल्लेख गरेका छौँ, गर्भ रहेको २० हप्ता पछि सुरु गर्ने यो व्यायममा १० वटा क्लास गर्दछौं । यो व्यायम हामीले स्पार्क अस्पतालमै सिकाउने गरेका छौँ । कम्तीमा हप्तामा दुई देखि तीन दिन यहि आएर सिक्नु पर्छ । अरु बेला घरमै प्राक्टिस गर्न पनि सकिन्छ ।

जुन बेला सजिलो र उपयुक्त हुन्छ उहाँले त्यसबेला नै व्यायम गर्न सक्नुहुन्छ । गर्भवतीलाई मैले जहिले पनि भन्ने गरेकी छु, ‘लिस्टन टू योर बडी’ पहिले आफ्नो शरीरलाई सुन्ने भन्ने हो ।

हामीले व्यायम गर्दा पेटमा रहेको मासुको लियर पेल्भिक फ्लोरलाई बलियो बनाउँछौँ । यो जति बलियो भयो गर्भावस्था, सुत्केरी र सुत्केरी पछि महिलामा देखिन सक्ने विभिन्न समस्याहरुलाई हुने सम्भावना कम भएर जान्छ ।

गर्भावस्थाका बेला कति खाने ?

हामी कहाँ अहिले पनि गर्भवती हुनासाथ धेरै खुवाउन पर्छ भन्ने मान्यता छ । तर त्यसो होईन, बिस्तारै बढाउँदै लैजान सकिन्छ । सामान्यत हामीलाई दैनिक १२०० क्यालोरी भए पुग्छ । गर्भवती भएपछिको तीन महिनासम्म हामीले त्यसमा करीव ६०० क्यालोरी थप गरे पुग्छ । अर्थात गर्भवती भएको पहिलो तीन महिना १८०० क्यालोरी बनाए पुग्छ । त्यसपछिको दोस्रो तीन महिनामा २२०० र तेस्रो तीन महिनामा २४०० क्यालोरी थपे पुग्दछ ।

कहिलेकाँही क्यालोरी मिलाउन नजान्दा सुत्केरी हुन समेत अफ्टेरो पर्न सक्छ । चाहिने भन्दा बढी क्यालोरी दिएर बच्चा ठूलो बनायो भने पनि त नर्मल डेलिभरी हुन गाह्रो हुन्छ । सीएस गर्नु पर्छ । कम क्यालोरीले पनि समस्या निम्त्याउन सक्छ । त्यसैले ठिक्क खाउँ, भिटामिन, मिनरल्स सबै चिजहरु ठिक्क मात्रामा खाने गरौँ । खाना र व्यामय मिल्यो भने गर्भावस्था र सुत्केरी सहज रुपमा हुन सक्छ ।

#फिजियो थेरापिस्ट कायस्थ स्पार्क हेल्थ होम अस्पताल सोल्टीमोडमा कार्यरत छिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *