तिलोत्तमा नगरपालिका भित्र गुट्खा प्रतिवन्ध, बेचे ५० हजार रुपैयाँ सम्म जरिवाना

बुटवल, ८ चैत । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र गुट्खा बिक्री गर्नेमाथि ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने निर्णय गरको छ । नगरपालिकाले मंगलबार (हिजो) सूचना प्रकाशित गरी सो जानकारी दिएको हो ।

यसअघि गत १ चैतमा आयोजित हरियाली प्रवद्र्धन तथा नगर सरसफाई अभियानको १०० औँ श्रृङ्खलाको अवसरमा आयोजित विशेष समारोहमा नगरप्रमुख रामकृष्ण खाँणले तिलोत्तमा क्षेत्रमा गुड्खा खरीद विक्री तथा प्रयोगलाई पूर्ण रुपमा प्रतिवन्ध गरिएको घोषणा गरेका थिए ।
सोही घोषणालाई कार्यान्व्यनमा ल्याउन नगरपालिकाले सूचना जारी गर्दै जरिवानाको दर रेट तोेकेको हो ।

गुट्खाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने तथा सो बाट निस्कने फोहरले नगर क्षेत्रको सौन्दर्यतामा समेत प्रतिकुल असर पर्ने भएकोले यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

मंगलबार प्रकाशित सूचनामा नगरपालिकाले पहिलो, दोस्रो र तेस्रो पटक गरी जरिवानाको फरक दर निर्धारण गरेको छ । त्यसमा डिलर व्यवसायीहरुलाई पहिलो पटक १० हजार, दोस्रो पटक २० हजार र तेस्रो पटक ५० हजार रुपैयाँ जरिवाना तोकेको छ । यस्तै अन्य व्यवसायीहरुलाई पहिलो पटक १५ सय, दोस्रो पटक ३ हजार र तेस्रो पटक ५ हजार रुपैयाँ जरिवाना तोकिएको उल्लेख छ ।

सूचनामा यो निर्णय १५ भित्रै पूर्ण रुपमा कार्यान्वयनमा आउनु पर्ने भन्दै त्यसपछि गरिने अनुगमनमा निर्णय विपरितका गतिविधि भएको पाइए जरिवाना तोकिने उल्लेख छ ।

नेपालमा प्रत्येक वर्ष २७ हजार ३३७ जनाको मृत्यु सुर्तीजन्य पदार्थको सेवनकै कारणले हुने रोगहरुबाट हुने गरेको छ । नगरपालिकाले पछिल्लो समय सबैभन्दा बढी प्रयोग हुने गुट्खा रोक्ने निर्णयले त्यस क्षेत्रको स्वास्थ्य र वातावरण बिग्रनबाट जोगिएको छ भने अन्य नगरपालिकाहरुबीच भने उदाहरण बनेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *