मस्तिष्क मृत्युपछि झिकिएको अङ्ग प्रत्यारोपित व्यक्तिहरु डिस्चार्ज

भक्तपुर, २७ फागुन । मस्तिष्क मृत्यु भएको व्यक्तिबाट झिकिएको कलेजो प्रत्यारोपण गराएका व्यक्ति डिस्चार्ज भएका छन् । ललितपुर महानगरपालिका–२५ का ६८ वर्षीय किरण थापा शुक्रबार डिस्चार्ज भएका हुन् । उनको १० दिन अघि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण गरिएको थियो ।
त्यस्तै सोही दिन मस्तिष्क मृत्तुबाट प्राप्त दुईवटा मिर्गौला प्रत्यारोपण गराएका अरु दुई जना व्यक्ति पनि डिस्चार्ज भइसकेका छन् । अस्पतालका निर्देशक डा पुकारचन्द्र श्रेष्ठका अनुसार मिर्गौला प्रत्यारोपित दुई जनामध्ये एक जना प्रत्यारोपण गरेको पाँचौ दिनमा र अर्को दशौँ दिन (शुक्रबार) डिस्चार्ज भएका हुन् । त्यसबेला झिकिएको दुईवटा मिर्गौला क्रमश ३५ र ४७ वर्षका पुरुषमा प्रत्यारोपण गरिएको थियो ।
प्रत्यारोपण केन्द्रमा विसं २०७४ बैशाख २८ गते पहिलो पटक मस्तिष्क मृत्यु भएको व्यक्तिबाट झिकिएको अङ्ग प्रत्यारोपण गरिएको थियो । त्यस यता हालसम्म पाँच जना व्यक्तिबाट प्राप्त १० वटा मृर्गौला र ३ वटा कलेजो प्रत्यारोपण भएको छ ।
केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले अङ्ग फेल भएका र अंग नपाएर प्रत्यारोपण गर्न नपाई मृत्युवरणसम्म गर्नु पर्ने बाध्यताको अन्त गर्न मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग उपयुक्त विकल्प हुने भन्दै यसका लागि जनचेतना बढाउन आवश्यक रहेको बताए ।
उनले अंग दान गर्न र मस्तिष्क मृत्यु पश्चात प्राप्त हुने अङ्ग प्रत्यारोपण कार्य सूचारु गर्न सबैमा अनुरोध गर्दै मिर्गौला, कलेजो लगायतका अङ्ग फेल भएका व्यक्तिहरु समय समयमा जाँच गरी प्रत्यारोपणका लागि हाल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा रहेको समन्वय इकाईमा सम्पर्क राखी प्रतीक्षाको सूचीमा नाम लेखाउन समते आग्रह गरे ।
सम्पर्क इमेल : [email protected]