विश्व मिर्गौला दिवसको अवसरमा भएको मैैत्रीपूर्ण फुटवल प्रतियोगिता :

अङ्ग प्रत्यारोपित टोलीद्धारा चिकित्सक तथा कलाकार सम्मिलित टोलीलाई ४ – १ गोल अन्तरले पराजित

काठमाडौँ, २५ फागुन ।  विश्व मिर्गौला दिवसको अवसर पारेर विहीबार अङ्ग प्रत्यारोपित व्यक्तिहरुको टोली र चिकित्सक तथा कलाकार सम्मिलित टोलीबीच मैत्रीपूर्ण फुटवल प्रतियोगिताको आयोजना गरिएको छ । उक्त प्रतियोगितामा अङ्ग प्रत्यारोपित टोलीले ४ – १ गोल अन्तरले चिकित्सक तथा कलाकारको टोलीलाई पराजित गरेको छ ।

सात दोवाटोस्थित एन्फा कम्लेक्समा भएको प्रतियोगिताको उद्घाटन ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गरेका थिए । प्रतियोगिताको मुख्य आयोजक शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, स्वास्थ्य अभियान नेपाल र अंग प्रत्यारोपण समाज रहेका थिए ।

प्रतियोगितामा चिकित्सक तथा कलाकार टोलीको नेतृत्व प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले गरेका थिए । यता अङ्ग प्रत्यारोपित टोलीको नेतृत्व झङ्क श्रेष्ठले गरेका थिए ।

प्रत्यारोपित टोलीसंग फुटवल खेल्न बरिष्ठकलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य समेत पुगेका थिए ।

‘अङ्ग प्रत्यारोपित व्यक्ति पनि सक्षम छन्, कोही भन्दा कम हुँदैनन् भन्ने सन्देश दिनका लागि हामीले प्रतियोगिता गर्ने गरेका हौँ । आजको प्रतियोगिताको नतिजाले स्पष्ट सन्देश दिएकै छ । डाक्टर तथा कलाकारहरुलाई प्रत्यारोपित व्यक्तिहरुले फराकिलो गोल अन्तरले हराईदिनु भयो,’ प्रतियोगिताबारे प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकार चन्द्र श्रेष्ठले भने ।

कार्यक्रमको प्रमुख अतिथि बनेका ललितपुर महानगरका मेयर चिरिवाबु महर्जनले प्रत्यारोपण केन्द्रले चलाएको अभियानको प्रशंगा गरे । उनले यस्तो अभियान आगामी दिनमा पनि चलाउनु पर्ने बताए । उनले स्वस्थ जीवन शैली अपनाई समय समयमा आफ्नो स्वास्थ्य जाँच गराउनु पर्ने कुरामा जोड दिए ।

जनचेतना अभिबृद्धि गर्न प्रभातफेरी


यसैबीच विश्व मृर्गौला दिवसमा अवसरमा बिहीबार विहानै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, स्वास्थ्य अभियान नेपाल र अङ्ग प्रत्यारोपण समाजले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । केन्द्रका निर्देशक डा श्रेष्ठको अगुवाईमा भएको जनचेतनामुलक प्रभातफेरीमा चिकित्सक, नर्स, प्रत्यारोपित व्यक्ति, सामाजिक अगुवा, कलाकार तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

स्थापनाको १० वर्षमा १०२६ जनाको मिर्गौला प्रत्यारोपण, ९ जना को सफल कलेजो प्रत्यारोपण तथा मस्तिस्क मृत्यु भएको व्यक्तिबाट समेत अङ्ग प्रत्यारोपण गरिसकेको प्रयारोपण केन्द्रले हरेक वर्ष विभिन्न सन्देशका साथ विश्व मिर्गौला दिवस मनाउँदै आएको छ ।

गैर नाफामूलक संस्था स्वास्थ्य अभियान नेपालले र अङ्ग प्रत्यारोपण समाज नेपालले अङ्ग फेल हुनबाट बचाउन तथा  अङ्ग दान सम्बन्धि सेवा तथा जनचेतना जगाउने कार्यक्रमा आफ्नो स्थापनाकाल देखि नै यस केन्द्र सँग हातेमालो गर्दै आएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *