चिकित्सकीय अनुसन्धानका विषयमा स्वास्थ्य पत्रकारलाई प्रशिक्षण

काठमाडौँ, १० फागुन । नेपालमा चिकित्सकीय अनुसन्धान (क्लिनिकल रिसर्च) गर्ने क्रम बढी रहँदा सञ्चारमाध्यममा त्यस विषयका समाचारले प्राथमिकता पाउन थालेका छन् । तर, कतिपय सञ्चारमाध्यम र सञ्चारकर्मीले त्यस्ता अनुसन्धान प्रतिवेदनको सहि विश्लेषण गर्न नजान्दा त्यसले जनस्वास्थ्यमा गम्भीर असर पर्ने गरेको सरोकारवालाले बताउने गरेका छन् ।

स्वास्थ्य पत्रकार मञ्च नेपालले सरोकारवालाको यहि गुनासो र स्वास्थ्य पत्रकारहरुको चासोलाई ध्यान दिएर दुई दिने कार्यशालाको आयोजना गरेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्संगको सहकार्यमा धुलिखेलमा आयोजित कार्यशालालाई प्राविधिक तर्फ सोलिड नेपालको सहयोग थियो ।

कार्यशालाको पहिलो दिन सोमबार उद्घाटन सत्रमा बोल्दै मञ्चका अध्यक्ष सरोज ढुंगेलले स्वास्थ्य पत्रकारहरुको ज्ञानको दायरा बढाउनका लागि कार्यशालाको आयोजना गरिएको बताए । उनले स्वास्थ्य विषय बढी प्राविधिक विषय रहेको भन्दै भविस्यमा पनि विभिन्न संस्थासंग सहकार्य गर्दै यस्ता खालका तालीम गोष्ठी र प्रशिक्षणलाई निरन्तरता दिने बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवालीले राज्यको स्वास्थ्य नीति स्वास्थ्य अनुसन्धानले निर्देशित हुनुपर्ने बताए । उनले नेपालमा भने नीतिले अनुसन्धानलाई निर्देशित गर्न खोजेको टिप्पणी गरे । राज्यले स्वास्थ्य अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने उनको जोड थियो ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम) का सहप्राध्यापक डा खेम बहादुर कार्कीले चिकित्सकीय अनुसन्धान र यसले स्वास्थ्य क्षेत्रका लागि दिने योगदानको चर्चा गर्दै सञ्चारमाध्यमले विषय बस्तुको गाम्भिर्यतालाई समेत ध्यान दिनु पर्ने बताए । उनले अनुसन्धानमा सहभागिता भएका स्वयंसेवकहरुको गोपनीयताका विषय, अनुसन्धानको प्रकार तथा तरिकाका विषयमा समेत सञ्चारकर्मीले विशेष ध्यान दिनु पर्ने बताए ।

मञ्चका निवर्तमान अध्यक्ष रामप्रसाद न्यौपानेले स्वास्थ्य पत्रकारितालाई थप परिस्कृत र विश्वसनीय बनाउन पत्रकारहरुको क्षमता अभिबृद्धि आवश्यक रहेको बताए । उनले भविस्यमा पनि मञ्चले स्वास्थ्यका विविध विषयमा पत्रकारहरुलाई प्रशिक्षण दिने व्यवस्था मिलाउन सुझाव दिए ।

दोस्रो दिन प्रशिक्षण सत्रमा प्राडा रमेशकान्त अधिकारी, सहप्राडा खेमबहादुर कार्की र स्वास्थ्य पत्रकार प्रवीण ढकालले स्वास्थ्य अनुसन्धानका विषयमा प्रस्तुति राखेका थिए ।

प्रशिक्षणका क्रममा परिषद्का इथिकल रिभ्यु बोर्डका अध्यक्ष समेत रहेका प्राडा अधिकारीले कुनै पनि अध्ययन अनुसन्धान गर्दा त्यसको नैतिकतालाई भुल्न नहुनेमा जोड दिए । उनले अनुसन्धानको बैद्यता, तरिका र महत्वको बारेमा समेत चर्चा गरे । प्राडा अधिकारीले सञ्चारमाध्यमले अनुसन्धानका विषय उठान गर्दा ध्यान दिनु पर्ने विषयका बारेमा समेत प्रशिक्षण दिए ।

यस्तै आइओएमका सहप्राडा कार्कीले चिकित्सकीय अनुसन्धानबारे प्रस्तुतीकरण दिएका थिए । उनले कुनै पनि औषधि वा खोपको अन्तर्राष्ट्रिय अध्ययनको निष्कर्षलाई समाचार बनाउनुअघि कुन चरणको ट्रायल हो भन्ने कुरा बुझ्न जरुरी रहेको उनले बताए ।

परिषदका निमित्त निर्देशक नमिता घिमिरेले विगतको तुलनामा परिषदले प्रभावकारी कार्य गर्दै आएको दाबी गरिन् । ‘विगतमा परिषदले अध्ययन अनुसन्धानसम्बन्धी मापदण्ड नबन्दा आफ्नै खालको अनुसन्धान गर्ने र विचार प्रस्तुत गर्ने प्रवृत्ति थियो,’ उनले भनिन्, ‘मापदण्ड बनेपछि त्यसैअनुरुप काम हुँदै आएको छ ।’

पत्रकार ढकालले सञ्चार माध्यमले स्वास्थ्य अनुसन्धानका विषय कसरी प्रस्तुत गरिरहेको छ ? गर्नु पर्ने के छ ? भन्ने विषयमा प्रस्तुति राखेका थिए । कार्यशालामा ४५ जना भन्दा बढी स्वास्थ्य पत्रकारको सहभागिता थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *