शुल्क विषयमा विद्यार्थीले आन्दोलन चर्काउन थालेपछि केएमसी पुगे शिक्षामन्त्री पौडेल

काठमाडौँ, २२ पुस ।  एमबीबीएसमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको गुनासो आएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज(केएमसी) पुगेका छन्।

विद्यार्थीबाट अतिरिक्त शुल्क लिएको भन्दै विद्यार्थीहरुले आन्दोलन छेडेपछि मन्त्री पौडेल अनुगमनका लागि भक्तपुरस्थित मेडिकल कलेज पुगेका हुन्।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित केएमसी पुगेका शिक्षामन्त्री पौडेलले केएमसीको शुल्क विवादबारे जानकारी लिएका थिए।

मन्त्री पौडेलले कलेजका प्रधानाध्यापक रविन्द्र श्रेष्ठलाई भेटी अतिरिक्त शुल्कका बारेमा जानकारी मागेका थिए । प्रधानाध्यापक श्रेष्ठले भने आफूहरुले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क नलिएको मन्त्रीसमक्ष दाबी गरेका थिए । त्यसपछि मन्त्री पौडेलले कलेजलाई सरकारले तोकेभन्दा बढी शुल्क नलिएको प्रमाणित गर्न निर्देशन दिएका छन्। उनले बढी शुल्क नलिएको प्रमाणित गर्न नसके कारबाही गर्ने प्रस्ट पारेका छन्।

यता केएमसीले अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले बुधबारदेखि प्रदर्शन गरिरहेका छन्।

काठमाडौं मेडिकल कलेज (केएमसी) र नोबेल मेडिकल कलेजले छात्रवृत्तिमा भर्ना भएका विद्यार्थीसँग पनि होस्टेल शुल्कका नाममा अतिरिक्त शुल्क उठाइरहेको खुलेको थियो। कलेजले नियमित विद्यार्थीबाट होस्टेलबाहेक पनि अतिरिक्त दुई लाख ३२ हजार पाँच सय ७९ रुपैयाँ उठाइरहेका छन्।

रजिस्ट्रेसन, परीक्षा शुल्क, एफिलेसनबापत यो रकम लिन लागिएको हो। तर, चिकित्सा शिक्षा आयोगले यो रकम कुल शुल्क ४० लाख २३ हजारभित्रै पर्ने बताएको छ।

एमबीबीएस अध्ययन सक्दा पाँच वर्षमा प्रत्येक विद्यार्थीबाट होस्टेल र अतिरिक्त शुल्कसमेत गर्दा २० लाख बढी उठाउन खोजिएको छ। चिकित्सा शिक्षा आयोगले कलेजकै होस्टेलमा बस्नुपर्ने अनिवार्य नभएको स्पष्ट पारेको छ । तर, केएमसीले होस्टेल अनिवार्य गरी मासिक २५ हजार शुल्क मागेको विद्यार्थीले बताउँदै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *