अस्पतालमा नक्कली बम राखी तीन करोड फिरौती माग्ने तीन जना पक्राउ

अस्पतालको सीसीटीभीमा कैद भएका कुँवर दाजुभाई

काठमाडौं, २७ भदौ । पुरानो बानेश्वरस्थित मात्रिका आँखा अस्पतालमा नक्कली बम राखी फिरौती असुल्न खोज्ने तीन जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

आइतबार परिसरमा पत्रकार सम्मेलन गरी प्रहरीले घटनामा सम्लग्नहरुलाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाँउपालिका वडा नं ५ घर भई काठमाडौँको फुटुङ बस्ने २५ बर्षीय आशिष कुँवर, उनका भाई २० बर्षीय अभिषेक र रोल्पा खोलावाङका ४० बर्षीय अम्मबहादुर रोक्का रहेका छन् । तीमध्ये कुँवर दाजुभाई होटलमा मजदुरी गर्ने कामदार हुन भने रोक्का होटल सञ्चालक हो ।

प्रहरीका अनुसार विहीबार आशिषले अस्पतालका एक डाक्टरलाई बारम्बार फोन गरेका थिए । फोनमा ३ करोड पैसा नदिए अस्पताल र घरमा बम राखेर पड्काइदिने धम्की दिएका थिए । उनले तीन करोड रुपैयाँ लिएर थानकोट आउन भनेका थिए । उनीहरुले सोही दिन अस्पतालको रिसेस्पनिष्ट पूर्णबहादुर दोङलाई फोन गरी अस्पतालमा बम राखेको बताएका थिए । उनीहरुले भनेकै लोकेसनमा गएर हेर्दा बम जस्तै देखिने शंकास्पद बस्तु फेला परेको थियो । उक्त बस्तुलाई नेपाली सेनाको डिस्पोजल टोलीले अनुसन्धान गर्दा बम नभएको स्पष्ट भएको थियो ।

प्रहरीले त्यसपछि उनीहरुको खोजीलाई तिब्रता दिएको थियो । मोवाइल ट्रयासिङ गर्दै अनुसन्धानलाई साँघुरो पारेको प्रहरीले शनिबार राती पक्राउ गर्न सफल भएको जनाएको छ ।

शनिबार पक्राउ परेकामध्ये आशिषले सोही अस्पतालमा आफ्नो आँखाको शल्यक्रिया गरेको र डाक्टर तथा कर्मचारीको जानकारी राखेको थाहा भएको प्रहरीले बताएको छ ।

होटलमा काम गर्ने कुवरले कुनै सहकारी मार्फत १७ लाख ऋण लिएको र उक्तरकम चुक्ता गर्न नसकेको, यस्तै बेल्जियम जानका आवेदन गरेको तर तत्काल व्यहोर्न पर्ने रकम नभएको समेत अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *