कोभिडका कारण कक्षा १२ को परीक्षा स्थगित
काठमाडौँ, २३ साउन । शिक्षा मन्त्रालय अन्तरगतको राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले दिएको निर्देशन र मापदण्ड अनुसार परीक्षा सञ्चालन गर्ने तयारी गरे पनि परिस्थित प्रतिकुल भएका कारण तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको बताए ।
यसअघि स्वास्थ्य मन्त्रालयले शिक्षा मन्त्रालय र सीसीएमसीलाई परीक्षा स्थगित गर्न अनुरोध गर्दै पत्र पठाएको थियो । सचिव थपलियाले स्थिति सहज हुनासाथ १५ दिनको म्याद राखेर सूचना जारी गरी नयाँ परीक्षाको मिति सार्वजनिक गरिने बताए ।
उनले भने, ‘परीक्षाको सबै तयारी भएको छ । अवस्था सहज हुनासाथ १५ दिन अघि सूचना जारी गर्दै परीक्षा लिन सक्छौँ ।’
सम्पर्क इमेल : [email protected]