स्वास्थ्य मन्त्रालयका सहसचिव दामोदर रेग्मीलाई सचिवमा बढुवा गर्न सिफारिस
काठमाडौँ, १५ असार । लोक सेवा आयोगले स्वास्थ्य मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव दामोदर रेग्मीलाई सचिव बढुवाका लागि सरकार समक्ष सिफारिस गरेको छ ।
लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहेको सचिव बढुवा सिफारिस समितिको सोमबार बसेको बैठकले सहसचिव रेग्मीलाई सचिव बढुवाका लागि सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
रेग्मीलाई निजामती सेवा ऐनअनुसार कुल पदको २० प्रतिशत ज्येष्ठताका आधारमा बढुवा गर्ने प्रावधानअनुसार स्वतः सचिवमा बढुवा गर्नेगरी सिफारिस गरिएको हो । रेग्मीलाई अब बस्ने मन्त्रिपरिषद् बैठकले स्वतः सचिवमा वढुवा गर्नेछ ।
विभिन्न मन्त्रालय, निकाय र प्रदेशमा लामो समयदेखि विभिन्न सेवा समूहका गरी ८ सचिव पद रिक्त रहँदै आएको छ । प्रशासन सेवाका ५ , इन्जियरिङ सेवाका २ र वन तथा कृषि सेवाका १ गरी ८ सचिव पद रिक्त रहेकामा लोकसेवा आयोगका पदाधिकारी आउनासाथ बढुवा प्रक्रिया सुरु भएको हो ।
यसअघि समयमा नै पदपूर्ति नहुँदा सचिव बढुवाको मुखमै रहेका वरिष्ठ सहसचिवहरुलाई पर्का परेको थियो ।
सम्पर्क इमेल : [email protected]