प्रदेशले स्वास्थ्यको सचिव मागे कसलाई पठाउने ? सूची तयार गर्दै स्वास्थ्य मन्त्रालय
काठमाडौँ, १९ बैशाख । लुम्बिनी प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गठन भएपछि स्वास्थ्य सचिवको रुपमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा विकास देवकोटा नियुक्त भएका छन् ।
‘अब लुम्बिनीमा जस्तै गरी अरु प्रदेशले पनि स्वास्थ्य मन्त्रालय बनाउन सक्छन् । र, त्यहाँ स्वास्थ्य समूहका सचिव राख्न खोज्दछन् । त्यसबेला हामीले कसलाई पठाउने त ? त्यसैले को को सिनियर रहेछ भनेर सूची तयार गर्न लागेका मात्रै हौं,’ संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव दामोदर रेग्मीले शुरु मै भने ।
उनले सामान्य प्रशासन मन्त्रालयसंगको सामान्य छलफल पछि स्वास्थ्य समूहबाट बरिष्ठतम व्यक्तिहरु को को हुनुहुँदो रहेछ भनेर खोजी गरिएको बताए ।
‘कोरोना महामारी छ । धेरैवटा प्रदेशमा स्वास्थ्य मन्त्रालय चाहिन्छ भनेर आवाज उठेको पनि छ । स्वास्थ्य समूहकै अर्थात डाक्टर, नर्स, पव्लीक हेल्थका जो भएपनि स्वास्थ्य बुझेको व्यक्ति स्वास्थ्य सम्वन्धी व्यक्ति हुुनुपरयो भन्ने आवाज पनि उठेको छ । त्यो अवस्थामा आएमा र सामान्यले सूची मागेमा हामीले तत्कालै पठाउनु पर्यो,’ रेग्मीले भने ।
यसअघि प्रदेशको मन्त्रालयको संरचना बनाउँदै गर्दा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बनाउने र स्वास्थ्य समूहको सचिव रहने भनिएको थियो । तर बीचमा त्यो सम्भावना हराएको थियो ।
पछिल्लो पटक कोरोना महामारीले अत्याय पछि भने प्रदेशहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य समुहकै सचिवको खोजी गर्न लागिएको छ ।
सम्पर्क इमेल : [email protected]