नेपाल र भारतबीच कोभिड-१९ बिरुद्ध लड्न निरन्तर सहयोग आदान प्रदान गर्ने
काठमाडौँ, २७ चैत । नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच आज टेलिफोन वार्ता भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेश मन्त्री एस. जयशङ्करबीच आज भएको वार्तामा कोभिड–१९ को महामारीविरुद्ध लड्ने तथा त्यसलाई परास्त गर्ने कार्यमा निरन्तर सहयोग आदानप्रदान गर्न सहमति भएको छ ।
दुबै देशका परराष्ट्रमन्त्रीले कोभिड–१९ महामारीविरुद्धको लडाइँमा थप सहयोगको अभिवृद्धि गर्नेसहित खोपको आपूर्तिबारे विचारविमर्श गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री ज्ञवालीले कोभिड महामारीविरुद्धको नेपालको लडाइँमा १० लाख मात्रा कोभिशिल्ड खोप उपलब्ध गराएकामा भारत सरकारप्रति हार्दिक आभार व्यक्त गरे ।
साथै उनले कोभिडको उच्च जोखिममा परेका नेपालीलाई दोस्रो मात्रा खोप लगाउन आवश्यक पर्ने थप खोपको आपूर्तिका निम्ति सहजीकरण गर्न भारतका विदेश मन्त्रीसंग अनुरोध गरेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रत्युत्तरमा बाह्यमामिला मन्त्रीले खोप आपूर्तिसहित महामारीबाट पार पाउन नेपालको प्रयासमा भारतको निरन्तर साथ र सहयोग रहने आश्वासन दिइएको उल्लेख छ ।
सम्पर्क इमेल : [email protected]