मिर्गौला प्रत्यारोपितको समूहले चिकित्सकलाई ४-१ गोल अन्तरले हरायो


काठमाडौँ, २७ फागुन । विश्व मिर्गौला दिवसको अवसरमा विहीबार मिर्गौला प्रत्यारोपित समूह र चिकित्सक तथा कलाकार सम्मिलित समूहबीच मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । स्वास्थ्य अभियान नेपालको आयोजनामा सात दोवाटोस्थित अखिल नेपाल फुटवल संघको मैदानमा भएको उक्त खेलमा प्रत्यारोपित समूहले चिकित्सक तथा कलाकार सम्मिलित समूहलाई ४ -१ गोल अन्तरले पराजित गरेको छ ।

प्रतियोगितामा प्रत्यारोपित समूहका तर्फबाट विशेष आचार्यले ह्याट्रिक गरेका थिए । प्रतियोगिताका म्यान अफ दि म्याच घोषित भएका उनले नगद पुरस्कार समेत पाएका थिए ।

उक्त कार्यक्रममा एघार बर्ष अघि दोश्रो मिर्गौला प्रत्यारोपण गरेका धर्मराज पौडेल, पहिलो कलेजो प्रत्यारोपण गर्ने श्री बलराम नागा, दुई परिवार बीच साटासाट गरी मिगौला प्रत्यारोपण गर्ने खेमराज निरौला र बिष्णुबाबु श्रेष्ठ, मस्तिष्क मृत्युबाट प्राप्त अंगदानबाट मिर्गौला प्रत्यारोपण गर्ने मिलन श्रेष्ठ र गोबिन्द तिमिल्सिना, उनीहरुका अंगदाता र परिवारलाई विशेष सम्मान गरिएको थियो । कोभिड -१९ लाई विशेष ध्यानमा राखी सवै शुभचिन्तक र विशेष गरी प्रत्यारोपितहरुलाई सामाजिक दुरी कायम गरी भाग लिन आव्हान गरिएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका राष्ट्रिय गौरवका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सांसद पम्फा भुषाल, वरिष्ठ कालाकार श्री मदनकृष्ण श्रेष्ठ, ललितपुर म.न.पा.का मेयर चिरीबाबु महर्जन, पूर्व मुख्य सचिव लिलामणि पौडेलको उपस्थिति थियो । उनीहरुले अंगदान र प्रत्यारोपणमा व्यापक जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।

मिर्गौला रोग विशेषज्ञ एवं प्रत्यारोपणविद् डा पुकार चन्द्र श्रेष्ठले मिर्गौला रोगबारे जनचेतना फैलाउने, प्रत्यारोपण गर्न प्रोत्साहन गर्ने र प्रत्यारोपण गरेका व्यक्ति पनि अरु सरह नै सक्षम हुन्छन् भन्ने सन्देश दिन खेलकुद प्रतियोगिता आयोजना गरिएको बताए । उनले आफूहरुले विगत ११ बर्ष देखि यस किसिमको कार्यक्रम गर्दै आएको समेत जानकारी दिए । उनले प्रत्यारोपित र अंगदाताहरुको मनोबल उच्च राखी देशको सात वटै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्नको लागि सरकारको ध्यानाकर्षण गरे ।

अंग प्रत्यारोपित समुहका तर्फबाट झमक बहादुर श्रेष्ठले मिर्गौला रोगको उपचारमा सरोकारवाला सवैले उचित ध्यान दिनुपर्ने कुरा औंल्याए ।

कार्यक्रमका अध्यक्ष एवं पूर्व स्वास्थ्य सचिव डा प्रविण मिश्र जनचेतना जगाउन प्रत्येक बर्ष आयोजना हुँदै आएको नेपाल प्रत्यारोपण खेलकुद यसपटक गैर नाफामुलक संस्था स्वास्थ्य अभियान नेपालले आयोजना गर्न पाएकोमा खुशी व्यक्त गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *