विभागबाट तलव नगएपछि हुम्लाको स्वास्थ्य संस्था छ महिना देखि बन्द

हुम्ला । जिल्लाको सिमकोट गाउँपालिका– १ र २ अन्तर्गत रहेको कुम्लिङ सामुदायिक स्वास्थ्य एकाइ छ महिनादेखि बन्द रहेको छ । साविक ताक्ला, बाम्टा, ठेहे, बैजिबाडा, दोजामलगायत बासिन्दाले देउसीभैलो खेलेर जम्मा गरेको रु एक लाखले जग्गा खरिद गरी भवन बनाएका थिए । २०७२ सालमा सो एकाइ सञ्चालनमा आएको थियो ।

स्थानीय पर्वल बोहराले कुम्लिक ज्युला ताक्ला, बाम्टा, बैजिबाडा, दोजाम, कुम्लिक, ठेहे गाउँका करिव ९०० स्थानीयको पाएक पर्ने ठाउँमा स्वास्थ्य एकाइ खोलिएको र अहिले उपचार गर्न नपाउँदा जिल्ला अस्पतालमा पुग्नुपर्ने बाध्यता रहेको बताए ।

एकाइमा एक-एक जना अहेव, अनमी र कार्यालय सहयोगी गरी तीनको दरबन्दी रहेको छ । गाउँमा रुघाखोकीका बिरामीको सङ्ख्या बढिरहेको छ । स्वास्थ्यकर्मी नहुँदा समस्यामा परेका छन् ।

एकाइमा दैनिक १०-१२ सम्म बिरामी उपचारमा जाने गर्दथे । स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही निराश भएर घर फर्कनुपरेको खार्पुनाथ गाउँपालिका–५ ताक्ला गाउँका गोरख भण्डारीले बताए । घाँटी, टाउको दुख्ने र ज्वरो आएको एक हप्ता भइसक्यो स्वास्थ्य एकाइमा जाँदा ताला लगाएको देख्दा रित्तो हात लिएर घर फर्कनुपरेको बिरामी जोरसिंह बोहराको गुनासो गरे ।

छ महिनादेखि तलब नपाएपछि एकाइ बन्द
एकाइमा कार्यरत स्वास्थ्यकर्मीले गत भदौदेखि तलब खान नपाएपछि स्वास्थ्य एकाइ बन्द भएको प्रमुख धनजित भण्डारीले जानकारी दिए । उनका अनुसार पहिले सिमकोट गाउँपालिकाले नै स्वास्थ्यकर्मीलाई तलब खुवाउने गरेको थियो ।

सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामा र प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले स्वास्थ्य सेवाविभागबाट रकम नआएकाले गाउँपालिकाले तलब खुवाउन सक्ने अवस्था नरहेको जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *