विश्वभर दादुराका बिरामीको संख्या ३०० प्रतिशतले वृद्धि

272
Shares

जेनेभा, ३ बैशाख । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अघिल्लो वर्षको तुलनामा सन् २०१९ को तीन महिनामा विश्वभर दादुराका बिरामीको संख्या ३०० प्रतिशतले वृद्धि भएको जनाएको छ ।

दादुराको दुई वटा खोप लगाउँदा यस रोगलाई पूर्ण रुपमा नियन्त्रण गर्न सकिन्छ । तर खोपको दरमा कमी भएपछि दादुराका बिरामीको संख्या एकाएक वृद्धि भएको डब्लुएचओको भनाई छ ।

विश्वभरबाट सङ्कलित प्रारम्भिक तथ्याङ्क विश्लेषण गर्दा सन् २०१९ को पहिलो तीन महिनामा दादुराका बिरामी ३०० प्रतिशतले बढेको पाइयो, डब्लुएचओले भनेको छ । “विगत दुई वर्षदेखि नै दादुराका बिरामीको संख्या बढ्दै गएको पाइएको थियो, र त्यसैको निरन्तरता अहिले पनि देखिएको छ ।”

डब्लुएचओको वक्तव्यमा भनिएको छ, “सङ्कलित तथ्याङ्क प्रारम्भिक विवरण हो, तर यसले बढ्दो प्रवृत्तिलाई सङ्केत गरेको छ । धेरै देशमा दादुराका बिरामी निकै ठूलो संख्यामा देखिएका छन् । विश्वका सबैजसो क्षेत्रमा दादुराका बिरामी पाइएको छ ।”

यस वर्ष विश्वका १७० देशबाट सङ्कलित तथ्याङ्कमा एक लाख १२ हजार १६३ जनामा दादुरा पाइएको छ । गत वर्ष १६३ देशको तथ्याङ्कमा २८ हजार १२४ जनामा दादुरा देखिएको थियो ।

हावाबाट सङ्क्रमण हुने दादुराबाट मानिसमा ज्वरो आउने, खोकी लाग्ने र शरीरमा राता फोकाहरु उठ्ने गर्दछ । कतिपय अवस्थामा समयमै उपचार नभए घातक हुने गर्दछ । धेरै विकसित देशमा दादुरा रोग उन्मूलन भइसकेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार दादुरा विरुद्धको पहिलो खोप ८५ प्रतिशतले कमी भएको छ भने करिब ६७ प्रतिशतले मात्र दोस्रो खोप लिने गरेका छन् । एएफपी

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *