नाम सिफारिस गर्ने बेलामा स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको विज्ञापन नै रद्ध
काठमाडौँ, १२ भदौ । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि पेश भएका सबै दरखास्त रद्ध भएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार प्राविधिक कारण जनाउँदै सबै दरखास्त रद्ध भएको जनाएको छ ।
बीमा बोर्डको रिक्त निर्देशक पदमा स्वास्थ्य बीमा ऐन २०७४को दफा २० अनुसार (खुल्ला प्रतिस्पर्धाबाट) नियुक्त गर्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत एक साताको म्याद दिएर २८ साउनमा दरखास्त आवहान गरेको थियो । सो अवधीमा १९ जनाले दरखास्त हालेका थिए । तर अवधी सकिएको आठ दिनपछि मन्त्रालयले विज्ञापन रद्ध भएको सूचना निकालेको छ ।
यसअघि शुक्रबार लोक सेवा आयोगले विज्ञापनको प्रक्रिया नमिलेको भन्दै स्वास्थ्यका अधिकारीहरुसंग प्रश्न उठाएको थियो । शुक्रबार नै लोकसेवा आयोगका अध्यक्षतामा बसेको बैठकले विज्ञापन रद्ध गर्ने निर्णय गरेको थियो ।
‘खासमा कार्यविधि बनाएर विज्ञापन खोल्नुपर्ने रहेछ त्यो भएन् । त्यसबारेमा पहिले लोकसेवा आयोगसंग परामर्स पनि गरिएन । विज्ञापन खोलियो र लोकसेवा आयोगसंग परामर्स लिन गइयो । उसले यो प्रक्रियागत नै त्रुटि भयो भनेर खारेज गर्न निर्देशन दियो,’ मन्त्रालयका एक अधिकारीले भने ।
त्यसो त सिफारिस समितिमा समेत लोक सेवा आयोगको अध्यक्ष संयोजक, विज्ञ समूहबाट एक जना र स्वास्थ्य सचिव सदस्य सचिव हुने प्रावधान छ ।
स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले केही प्राविधिक कारणबस पहिलेको विज्ञापन रद्ध गरिएका बताइन । उनले अव पुन विज्ञापन हुने र इच्छुकले पुन दरखास्त हाल्न सक्ने बताइन ।
सिफारिस समितिमा को को छन् ?
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक खुल्ला प्रतिस्पर्धाबाट नियुक्तिका लागि नाम सिफारिस गर्न तीन सदस्यीय सिफारिस समिति गठन भएको छ । स्वास्थ्य बीमा सम्वन्धमा व्यवस्था गर्न बनेको ऐनको दफा २२ अनुसार समिति बनेको हो ।
सो दफा अनुसार संयोजकमा लोक सेवा आयोगको अध्यक्ष वा निजले तोकेको आयोग सदस्य संयोजक , अर्थशास्त्र, व्यवस्थापन, वित्त कानून, स्वास्थय अर्थशास्त्र तथा बीमा विषयमा स्नातकोत्तर उपाधि हासिल गरी सम्वन्धित क्षेत्रमा कम्तिमा सात बर्षको अनुभव प्राप्त व्यक्तिहरु मध्येबाट मन्त्रालयले मनोनित गरेको एक जना सदस्य र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव सदस्य सचिव हुने प्रावधान छ ।
सोही अनुसार स्वास्थ्य मन्त्री उपेन्द्र यादवले विज्ञ समूहबाट कानुनविद् बीरेन्द्रकुमार यादवलाई सिफारिस समितिको सदस्य नियुक्त गरिसकेका छन् । संयोजक भने लोक सेवा आयोगको अध्यक्ष वा त्यहाँबाट तोकिएको व्यक्ति हुनेछ ।
बोर्डको निर्देशक बन्न न्युनतम योग्यता के हो ?
क) मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, कानुन, चिकित्साशास्त्र, जनस्वास्थ्य वा स्वास्थ्य अर्थशास्त्र सम्वन्धी विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी सम्वन्धित क्षेत्रमा कम्तीमा १० बर्षको अनुभव प्राप्त गरेको ।
ख) दफा १८ को खण्ड क. ग. र घ. बमोजिमको योग्यता पुगेको भनिएको छ । सो अनुसार क. मा नेपाली नागरिक हुनुपर्ने ,ग. मा भ्रष्टाचार, जवरजस्ती करणी, मानव बेचविखन तथा ओसारपसार लागू औषध विक्री वितरण तथा निकासी वा पैठारी सम्पत्ती शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्वन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय नपाएको व्यक्ति भनिएको छ । त्यस्तै घ. मा चार बर्ष देखि निरन्तर स्वास्थ्य बीमा गरेको उल्लेख छ ।
कार्यकारी निर्देशकका लागि ६५ बर्ष ननाघेको व्यक्ति हुुनुपर्नेछ ।
सम्पर्क इमेल : [email protected]