पदमुक्त भएकी उपकुलपति भण्डारी माथि दैनिक कार्यसञ्चालन गरेको आरोप
काठमाडौँ, २१ साउन । पदमुक्त भएको २५ दिन भएपनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति प्राडा संगिता भण्डारीले अहिलेसम्म दैनिक कार्य गरिरहेको आरोप लागेको छ । भण्डारीले भने पदमुक्त भएको आधिकारिक पत्र नपाएको बताउँदै आएकी छन् ।
गत २० असारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका सिलसिलामा निर्वाचन आयोगबाट आचारसंहिता लागू भएको मिति १४ भदौ २०७४ देखि २ फागुनसम्मको राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो ।
भण्डारीलाई उपकुलपत नियुक्ति गर्ने निर्णय २६ मंसिर २०७४ मा बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो ।
‘असार २० मा निर्णय भयो, २८ असारमा पदमुक्त गरिएको चिठी पठाइएको छ । अब उहाँले पाउनु भएको छैन कि लिनु भएको छैन, त्यो हामीलाई थाह भएन,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने, ‘तर उहाँले अहिले उपकुलपतिको हैसियतमा कामकाज गर्न मिल्दैन ।’
स्वास्थ्य मन्त्रालयका अधिकारीले पनि आफूकहाँ भण्डारीलाई पदमुक्त गरिएको चिठी आईसकेको बताए ।
पदमुक्त गरिएको चिठीमा उपसचिव विष्णुप्रसाद घिमिरेको हस्ताक्षर छ ।
बर्खास्तमा परेपछि उपकुलपति र शिक्षाध्यक्षबीचको लफडा सतहमा
केही दिन अघि शिक्षाध्यक्ष प्राडा रतिन्द्र श्रेष्ठले उपकुलपतिले प्रतिष्ठानको नाममा अवैध ढंगले काम गरिरहेकोले कारबाही गरिपाँउ भन्दै सहकुलपति रहेका उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव समक्ष उजुरी दर्ता गरे । त्यसको चार दिन पछि प्रतिष्ठानले प्राडा श्रेष्ठलाई तत्काल हाजिर हुन वा कारबाही वेहोर्न चेतावनीमुलक सूचना एक दैनिक पत्रिकामा प्रकाशित गरयो ।
पत्रमा २३ असार (शनिबार) देखि लगातार प्रतिष्ठानमा अनुपस्थित रहेको र १, ४ र ८ साउनका दिन अनुपस्थित रहनुको औचित्य र पर्याप्त कारण समेत प्रष्ठ पार्न सचेत गराउँदै अविलम्ब हाजिर हुन निर्देशन गराईकोमा नआएको र गैर जिम्मेवार वक्तव्य र समाचार प्रकाशित भएको भन्दै २४ घण्टा हाजिर हुन भनिएको छ ।
डा श्रेष्ठले भने २४ गते स्वास्थ्य मन्त्रालयमा पुगेर राजिनामा पत्र बुझाएको बताएका छन् । उनले बर्खास्तीमा परेको व्यक्तिले अहिले आएर पत्र काट्ने, कारबाही गर्छु भन्ने अधिकार छैन भन्दै यो सूचना निकाल्नु समेत गैरकानूनी रहेको बताए ।
सम्पर्क इमेल : [email protected]