डा. केसीले अनशनलाई निरन्तरता दिने

काठमाडौँ, ३ साउन । स्वास्थ्य उपचारका लागि भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएका डा. गोविन्द केसीले आफ्नो अनशन जारी राख्ने बताएका छन् ।

अघि बेलुका एक विज्ञप्ती जारी गर्दै आफ्नो अनशन जारी राख्ने बताएका हुन् । डा. केसीलाई अहिले शिक्षण अस्पतालको इएनटी विभागको माथिल्लो तल्लामा राखिएको छ ।

उनले विज्ञप्तीमा ओली नेतृत्वको बर्तमान सरकारले अमानवीय रुपमा क्रुरतापूर्वक सत्याग्रहीको इच्छा विपरित अस्पताललाई युद्धभूमि जस्तो बनाई अपहरण शैलीमा बल प्रयोग गरी आफूलाई काठमाडौँ ल्याएको उल्लेख गरेका छन् ।

 विज्ञप्ती

चिकित्सा शिक्षा सुधारको माग गर्दै म जुम्लामा २० दिनदेखि अनसनसहितको सत्याग्रह गरिरहेको सबैलाई विदितै छ। त्यसै क्रममा खड्गप्रसाद ओलीको नेतृत्वको वर्तमान सरकारले अमानवीयरूपमा क्रूरतापूर्वक सत्याग्रहीको इच्छा विपरीत अस्पताललाई युद्धभूमि जस्तो बनाई अपहरण शैलीमा बल प्रयोग गरी जुम्लाबाट काठमाडौं ल्याएको छ। सरकारले गरेको ज्यादतीपूर्ण व्यवहारको घोर भर्त्सना गर्दछु।

यस सत्याग्रहमा ऐक्यबद्धता जनाउने जुम्ला लगायत देश तथा विदेशमा रहनुहुने नेपालीहरूप्रति आभारी छु। सरकारको ज्यादतीबाट घाइते हुनुभएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। ज्यादतीमा संलग्न हुने दोषीहरूलाई कारवाहीको माग गर्दछु।

माग पूरा नहुँदासम्म सत्याग्रह जारी रहने कुरा जानकारी गराउँछु। साथै, आम नागरिकहरूलाई सदा जस्तै ऐक्यबद्धताको लागि हार्दिक आह्वान गर्दछु।

प्रा. डा. गोविन्द केसी
शिक्षण अस्पताल, महाराजगञ्ज
२०७५/४/३

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *