रुपान्तरित विकार अर्थात हिस्टेरिया समस्या के हो ? समाधान कसरी गर्ने ?

रुपान्तरित विकार (conversion Disorder ) एक प्रकारको मानसिक स्वास्थ्य समस्या हो । यो मानिसको मनमा हुने तनाब, चिन्ता, डर, आदिबाट सृजित भावनात्मक समस्याबाट हुने गर्दछ । जसमा मन भित्र दविएको डर–त्रास वा मानसिक द्वन्द्वको कारण शारीरिक वा संवेगात्मक क्रियामा नियन्त्रणको अभाव हुन गइ प्रभावित व्यक्ति एक्कासी कम्पन भई बेहोस हुने, बर्बराउने, देवी देउता र झाँक्री आएको भनेर बक्ने देखिने गर्दछ ।
conversion Disorder लाई हिस्टेरिया पनि भन्ने गरिन्छ । हिप्पोक्रेटस (Hippocrates) भन्ने ग्रीक चिकित्सकले हिस्टेरिया महिलाहरुको प्रजनन अंङ्ग पाठेघर (Uterus) संग सम्बन्धित हुन्छ भनी त्यतिबेला हिस्टेरिया भनेर नामाकरण गरेका थिए ।
हाम्रो समाजमा पनि पौराणिक विचारधारा र मान्यता अनुरुप पनि हिस्टेरियाको समस्या महिलाहरुलाई मात्र हुने गर्दछ र यो विवाह गरिदिए ठिक हुन्छ भन्ने एक किसिमको अन्धविश्वास र गलत धारणा रहेको पाइन्थ्यो तर, पछि हिस्टेरिया, बच्चाहरु, किशोर किशोरिहरु, वयस्क, बृद्धबृद्धा आदी सबै उमेरका व्यक्तिहरुलाई हुने गरेको पाइयो । यसले यो समस्या विवाहले मात्रै ठिक हुन्छ भन्ने भ्रम चिरिँदै गएको छ ।
हिस्टेरिया भनेर बुझिने रुपान्तरित विकार कसैलाई तनावका कारण विवाह अघि हुन्छ भने कसैलाई विवाह भै सकेपछि तनावयुक्त वातावरणले उत्पन्न हुने गर्दछ । कुनै पनि व्यक्तिलाई तनाव, चिन्ता डर बढेमा रुपान्तरित विकार हुन सक्छ र तनाव घट्दै गएमा यो आफै कम हुँदै जान्छ ।
तनाव नभई रुपान्तरित विकार हुँदैन । र यो समस्या पुरुष भन्दा महिलाहरुमा बढी मात्रामा रुपान्तरित विकार भएको पाइन्छ । त्यसको कारण, महिलाहरु पुरुषले जस्तो आफ्नो मनको दुुख पिडा खुलेर राख्न सक्दैनन् । सामाजिक र मनोबैज्ञानिक रुपमा प्रष्टसंग कुरा नसक्ने भएकोले उनीहरुमा मनको दुख, पीडाहरु अव्यक्त रुपमा मन मनै गुम्सिने हुनाले गर्दा महिलाहरुमा बढि रुपान्तरित विकार हुने मानिएको छ ।
कतिपय बाहिरी देशका महिलाहरुमा भने धेरै खुलेर कुरा गर्ने हुनाले उनीहरुमा रुपान्तरित विकार कम मात्रामा भएको देखिने गरेको छ ।
अर्को अर्थमा भन्ने हो भनें व्यक्तिको मनका कुराहरु वा आफ्ना समस्याहरु अरुलाई भन्न नसकेर मनमनै दबिएर बसेका हुन्छन् । आफूलाई कुनै कठिनाई परि आउला भन्ने थाहा हुँदैन अथवा आफूलाई कुनै कठिनाही परि आउला भन्ने डरले भन्न सक्दैनन् ।
आफ्नो पिर मर्का अरुले थाहा पाउन र आफूलाई लाई सहानुभूती तथा सहयोग गरुन् भन्ने सोचाई राख्दछन् ।
यस्ता व्यक्तिहरुमा अरु बिमारीमा झैँ विभिन्न शारीरिक समस्या देखा पर्न सक्छ तर यी समस्याहरुको लागि कुनै शारीरिक कारण हुँदैन तर पनि यसले गर्दा मानसिक तनाव उत्पन्न हुन्छ ।
शरीर र मनमा नजानिदो रुपमा असर पार्नै भएको गर्दा चाहि विभिन्न प्रकारका शारीरिक लक्षणहरु देखिन थाल्दछन् ।
रुपान्तरित विकारमा विभिन्न मानसिक र शारीरिक लक्षणका कारण हुने गर्दछ :
रुपान्तरित विकारका लक्षणहरुः
- बोल्न नसक्नु वा बर्बराउनु
- देउता चढ्नु, बोक्सी बक्नु
- आँखा पोल्नु, पेट पोल्नु, छाति पोल्ने
- असामान्य उदासीनता
- बिना कारण एक्कासी रुनु
- बिना कारण एक्कासी हाँस्नु
- स्वास बढ्नु, हातखुट्टा बाउँडिनु,
- घाँटीमा कुनै बस्तु अट्किएको जस्तो हुनु
- असामान्य रुपमा पेटको माँम्सपेशी बाउँडिनु
- अनुहारमा रगत सोरिएको जस्तो अनुभब हुनु
- हातखुट्टा चिसो र कडा हुनु
- एक्कासी चिच्याउनु
- कपडा च्यात्ने, वाकवाकीलाग्ने,पेट पोल्ने
- संझने शक्ति हराउने,
- हात खुट्टा झमझम गर्ने
- जता मन लाग्यो त्यतै हिडने
- मानसिक तनाव बढने
- भुईंमा लडिबुडि गर्नु र बेहोस भएर लड्नु तर लड्दा एक्कासी नभएर विस्तारै सुरक्षित साथ लड्नु
- यसमा छारे रोगको जस्तो दाह्रा किट्ने, मुखबाट फिंज आउने, एक्लै जहाँपनि बेहोस भएर लड्ने नभई अरु मानिस भएको ठाउँमा सुरक्षित साथ लड्छ र यो समस्या यदि मानिसको भीड बढ्यो भनें अझ लामो समय सम्म रहिरहन सक्छ । यदि उसलाई एक्लै छाड्ने हो भनें केहि समय पछि आफै छाड्छ ।
- अदृश्य शक्तिले छोप्ने ,
- विरामीले आफुले जानेर गरेको हुँदैन् ।
- यो अचेतन मनबाट उत्पन्न हुन्छ ।
नेपालको सन्दर्भमा कुरा गर्दा विशेष गरी विद्यालयहरुका बालबालिकामा यस्तो समस्याहरु देखिएको पाइन्छ । सञ्चारमाध्यमबाट प्रसारहुने गलत अन्धविश्वासिलो खबर पनि यसको प्रमुख कारण हो । जसले गर्दा समानप्रकारका धर्म–संस्कृति र संस्कार मान्ने युवा छात्राहरुमा यस्तो समस्या रहेको कुरा अहिले सम्मको तथ्याङ्कले देखाउँछ ।
अहिले सम्म देखिएका समस्याहरुमा नेपाली संस्कारले विश्वास गरेका धर्म–साँस्कृतिक कु–प्रभाब देखिन्छ, कुनै ठाउँमा महिनावारी भएको अवस्थामा मन्दिर गएको कारण, कुनै ठाउँमा बोक्सी लागेको कारण, कुनै ठाउँमा नजिकको देव–देवीलाई अपहेलना गरेको कारण कुनै ठाउँमा नागबाबाको प्रतिक सर्प मारेको कारण नै प्रमूख देखिएका छन् ।
यसरी बाल्य अवस्था देखी युवा अवस्था सम्मआई पुग्दा मन मस्तिष्कमा परेको गलत अवधारणा नै यो समस्याको मूल जड् हो त्यसैले कुनै पनि अभिभावक–शिक्षक वा व्यक्तिले यस्ता गलत अन्धविश्वासलाई बालबालिका अगाडि भन्नु हुँदैन । यसले कहिलेकाँही बाल मस्तिष्कमा नराम्ररी जरा गाड्न सक्छ र कुनै पनि कठिन परिस्थितिमा यस्तो लक्षण देखिन सक्छ ।
रुपान्तरित बिकार / हिस्टेरिया कहिलेकाँही एक समूहका एकभन्दा बढी सदस्यहरुलाई हुन सक्दछ जसलाई ‘मास हिस्टेरिया’ भनिन्छ । यसमा समूहमा एउटा पहिलो व्यक्ति जो तनावले ग्रस्त भएको हुन्छ र हिस्टेरिया भएको हुन्छ, त्यो पहिले व्यक्तिलाई हिस्टेरिया भएपछि समूहमा अन्यलाई पनि हिस्टेरिया हुन थाल्दछ ।
यसरी पहिलो हिस्टेरिया भएको व्यक्तिसंग भावनात्मक सम्बन्ध भएकासंग अरुको सम्बन्ध हुन्छ समूहमा उनीहरु डर त्रासको कारण सो अवस्थामा पुग्ने गर्दछन् । उदाहारणको रुपमा विद्यालय तथा छात्रावासहरुमा समुहमा हुने किशोर किशोरीहरुलाई मास हिस्टेरिया हुने गर्दछ ।
कसरी गर्ने समाधान ?
- बिरामीलाई सुरक्षित र शान्त वातावरणमा राखेर आराम लिन दिने ,
- भिडभाड हुन नदिने ,
- विरामीलाई अरुले चोट नलाग्ने ठाउँमा आराम गर्न दिने,
- केहि समयमा उ होसमा आउँछ र होसमा आउने वितिकै अन्य व्यक्तिले उसलाई उसको तनाबबारे नसोधि हाल्ने,
- बेहोस हुन लागेको जस्तो देखेमा विरामलिाई तुरुन्तै शान्त कोठामा लगेर सुताएर राख्ने ,
- अरु व्यक्तिले विरामीको हात खुट्टा नसमाउने र वरिपरि नबस्ने ।
- विरामी सामान्य अवस्थामा आएपछि उसको समस्या र अपठ्यारालाई बुझ्ने प्रयास गर्ने तर कर र कचकच गरी उसलाई झर्कौ लाग्ने गरी तनाब बारे नसोध्ने ।
- मनोविमर्शद्वारा तनावलाई कम गर्ने र मन र शरीरलाई हल्का गरउने तरिकाहरु सिकाउनु पर्दछ । सामान्य समस्याको समाधानमा मनोविमर्शबाट सहयोग पुग्दछ ।
- हिस्टेरिया बारे समूदायमा सचेतना जगाउने कार्य गर्नु पर्दछ ।
- विरामीलाई घरपरिवारले माया, ममता सर्पोट गर्नु पर्छ र मनोवलदिनु पर्दछ ।
- यसरी रुपान्तरिक विकार/ हिस्टेरियाभएको विरामीको तनावको सहि पहिचान गर्नु र त्यसपछि यसको उपयुक्त निदान नै हो यसको समधान हो जसको लागि मनोचिकित्सक र मनोविमर्श कर्ताको सहयोगको आवश्यक्ता पर्दछ ।
# मनोविमर्शकर्ता भट्टराई कोशिश नेपाल संस्थामा कार्यरत छिन् ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



