डा. देवकोटालाई गोरखा लैजाँदा मेडिसिटीका डाक्टर टोली संगसंगै
काठमाडौँ, २६ जेठ । बरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई गोरखा पुरयाउन नेपाल मेडिसिटी हस्पिटलले ‘एभियसन’ तालिम प्राप्त डा सञ्जय कार्कीको नेतृत्वमा दुई जनाको टोली पठाएको जनाएको छ ।
मेडिसिटीबाट डा कार्की संगै पारामेडिक्स रमेश न्यौपाने समेत हेलिकप्टरमा गोरखा गएका छन् ।
‘मेडिसिटीको हेलिकप्टर इमरजेन्सी मेडिकल सर्भिसबाट हामी यहाँ खटिएका हौँ,’ डा. कार्कीले टेलिफोनमा अगाडी थपे, ‘अहिले हामी डा देवकोटाको घरको आगनमै छौँ ।’
डा देवकोटालाई लिएर डा कार्की र न्यौपाने बाहेक न्युरो अस्पतालकै डा मायुस, श्रीमती मधु देवकोटा र तीन जना छोरीहरु पनि गोरखा गएका छन् ।
गोरखामा हेलिप्याडबाट झण्डै २५ मिनेट दुरीमा रहेको डा देवकोटाको जन्मघर (पालुङटार नगरपालिकाको आँप पिपलस्थित पण्डित गाँउ) को आगनमा अहिले उनलाई हेर्न आउनेको ठूलो भिड लागेको डा कार्कीले बताए ।
डा देवकोटाले घरमै पुगेर स्थानीय सिस्नेधाराको पानी खाएका छन् । दुईवटा हेलिकप्टर लिएर गएको डा देवकोटाको टोली अवको केही क्षणमै काठमाडौँ फर्किने डा. कार्कीले बताए ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com