मेदान्तामा दश दिन लामो उपचार पछि राष्ट्रकवि घिमिरे स्वदेश फर्किए
काठमाडौँ, १९ जेठ । भारतको दिल्लीस्थित मेदान्ता अस्पतालमा १० दिन लामो उपचार पछि राष्ट्रकवि माधवप्रसाद घिमिरे स्वदेश फर्किएका छन् । दिउसो करीब सवा १ बजे नेपाल बायुसेवा निगमको नियमित उडानबाट उनी स्वदेश फर्किएका हुन् ।
परिवारका अनुसार राष्ट्रकविको स्वास्थ्य अवस्था अहिले निक्कै सुधार भएको छ । ‘केही गल्नु त भएको छ तर समस्या पहिचान भयो । उपचार पछि अहिले निको हुने क्रममा हुनुहुन्छ,’ छोरा राजिव घिमिरेले बताए ।
आन्तरिक रक्तश्रावको समस्यामा परेका राष्ट्रकविको मेदान्तामा इन्डोस्कोपी गरिएको थियो । ‘त्यसले आन्द्राबाट रक्तस्राव भएको पत्ता लाग्यो र सोही अनुसार औषधि भयो र छिटो निको पनि भयो । अहिले जाउलो खान थाल्नु भएको छ,’ छोरा घिमिरेले भने ।
दिल्ली लैजानु अघि राष्ट्रकवि घिमिरेको उपचार धापासीस्थित ग्राण्डी अस्पतालमा भएको थियो । प्रधानमन्त्री केपी ओली त्यतिवेला नै ग्राण्डी पुगेर राष्ट्रपतिको सम्पूर्ण खर्च सरकारले वेहोर्ने बताएका थिए ।
‘बुवाको उपचार खर्च सरकारले बेहोर्ने भनेको छ । यद्धपी अहिले हाम्रै तर्फबाट खर्च गरेका छौँ । सम्भवत त्यसको सोधभर्ना गर्छ होला,’ छोरा राजिवले भने ।
सम्पर्क इमेल : [email protected]