चालु आवकै ऋण तिर्न विपन्न उपचार कोषले माग्यो १ अर्व १० करोड रुपैयाँ
काठमाडौँ, १२ जेठ । विपन्न नागरिकले सहुलियत पाउने ८ वटा जटिल रोगका लागि चालु आर्थिक बर्षमा मात्रै १ अर्व १० करोड रकम अभाव देखिएको छ । चालु आर्थिक बर्षमा सरकारले यी रोगको उपचारका लागि १ अर्व १८ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
विपन्न नागरिकका सरकारले मिर्गौला, क्यान्सर, मुटु, अल्जाइमर्स, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमिया रोगको उपचार गर्न सहुलियत दिने गरेको छ । मिर्गौला बाहेक अरु रोगका लागि सरकारले प्रति विरामी एक लाख रुपैयाँ उपचार सहयोग दिने गरेको छ । मिर्गौलाको लागि भने डायलासिस, प्रत्यारोपण खर्च तथा प्रत्यारोपण पछि खानुपर्ने औषधि खर्च समेत उपलव्ध गराउँदै आएको छ ।
विपन्नको उपचार सहुलियतको व्यवस्था मिलाउने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरर्गत विपन्न नागरिक औषधि उपचार कोष सचिवालयका फोकल पर्सन प्रकाश अधिकारीले आगामी आर्थिक बर्षका लागि १ अर्व १० करोड बजेट थप चाहिने देखिएको बताए । उनले उपचार गरिरहेका सूचिकृत अस्पतालहरुलाई गत मंसिर देखि सोधभर्ना रकम तिर्न बाँकी रहेको भन्दै असारसम्मका उक्त थप रकम आवश्यक रहेको बताए ।
‘गत मंसिर देखि चैत मसान्तसम्म ७३ करोड ९२ लाख ७० हजार १३४ रुपैयाँ भूक्तानि गर्न बाँकी थियो । त्यसमध्ये ८ करोड १९ लाख ५८ हजार ९०६ रुपैयाँ मात्रै भुक्तानी भयो । बाँकी साढे ६५ करोड र बैशाख जेठ असारका लागि प्रतिमहिना करीब १५ करोडको दरले ४५ करोड गरी १ अर्व १० करोड जति बजेट अभाव देखिएको हो,’ उनले भने ।
चालु आर्थिक बर्षको चैत मसान्तसम्म विभिन्न सूचीकृत अस्पतालमा उपचार गराई सोधभर्नाका लागि निवेदन दिनेको संख्या ३१ हजार २४९ जना रहेको विपन्न उपचार कोष सचिवालयले जनाएको छ ।
नाम विपन्न भएपनि ८ प्रकारका रोगको उपचारका लागि सबैजसो व्यक्तिले निवेदन हालि सुविधा लिने गरेका छन् ।
सम्पर्क इमेल : [email protected]