पोलियो विरुद्धको नयाँ खोप एफआईपीभी आगामी साउन देखि शुरु हुँदै

644
Shares

काठमाडौँ, १२ जेठ । सरकारले पोलियो बिरुद्धको नयाँ खोप फ्र्याक्सनल डोज इनएक्टीभेटेड पोलयो भ्याक्सिन (एफआईपीभी) आगामी साउन देखि शुरु गर्ने भएको छ ।

ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेशन (गाभी)को सतप्रतिशत सहयोगमा प्राप्त खोप साउन देखि शुरु गर्न लागेको हो । त्यसका लागि स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाले क्षेत्रगत रुपमा पुगेर स्वास्थ्यकर्मीहरुलाई तालिम दिन सुरु गरिसकेको छ ।

त्यसो त सरकारले करीब तीन बर्ष अघि मात्रै पोलियोविरुद्ध नयाँ भनिएको खोप इनएक्टीभेटेड पोलियो भ्याक्सिन (आइपीभी) सुरु गरेको थियो । सो खोप सुरु गरेको एक बर्ष नपुग्दै विश्वव्यापी रुपमा अभाव (ग्लोबल सर्टेज) भएपछि विकल्पको रुपमा नयाँ खोप एफआईपीभी सुरु गर्न लागेको हो ।

बाल स्वास्थ्य महाशाखा अन्तरगर्त रहेको खोप शाखा प्रमुख कृष्णबहादुर चन्द भन्छन्, ‘आइपीभी खोप ग्लोबल सर्टेज हुँदै बन्द भएपछि विकल्पको रुपमा एफआईपीभी ल्याइएको हो ।’ उनले एफआईभीको प्रभावकारी दर आइपीभीको भन्दा केही बढी रहेको समेत दावी गरे ।

आइपीभी एक चरणमा दिइने गरेको भएपनि एफआईपीभी खोप भने बालबालिकाहरुलाई दुई चरणमा दिइने बताए । यो खोप शिशु जन्मेको ६ हप्तामा पहिलो डोज र १४ हप्तामा दोस्रो डोज दिएर पुरा गर्छौै । चन्दले अगाडी थपे, ‘आईपीभी खोप शिशुको मासुमा दिइन्थ्यो भने यो खोप छालामा दिइन्छ ।’

खोप शाखाले पहिलो लटमा एक बर्ष मुनिका ६ लाख २३ हजार बालबालिकाका लागि खोप दिने तयारी गरेको छ । त्यसबाहेक पहिलेको खोप आइपीभी छुटेका करीब १३ लाख बालबालिकालाई समेत यो खोप दिइने तयारी भएको चन्दले बताए ।

खोपबारे जानकारी दिन महाशाखाले सुदुरपश्चिमका स्वास्थ्यकर्मीलाई ओरिन्टेनशन तालिम दिइसकेको छ । अव क्रमश अरु क्षेत्रमा पनि गएर तालिम दिइने चन्दले बताए । यो खोप पनि नियमित खोप तालिकामा समावेश छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *