एकचालिस वर्षको उमेरमा ५०औँ पटक रक्तदान

- ध्रुवसागर शर्मा
म्याग्दी, २२ चैत । मानिसहरु धर्मका लागि मन्दिरमा जान्छन्, देवतालाई पुज्छन्, दान गर्छन् र आत्मसन्तुष्टि लिने गर्छन् । तर, अरुलाई सहयोग गर्ने र आफ्नै शरीरको रगत दिएर अरुलाई बचाउने मानिस भने विरलै पाइन्छन् । यिनै विरलै पाइने मानिसमध्येका एक हुन् म्याग्दीका समाजसेवी सुरत केसी ।
एकचालिस वर्षीय केसीलाई म्याग्देलीले ‘म्याग्दीका दधिचि’ (अरुका लागि आफ्नो शरीरको अङ्गसमेत काटेर दिनसक्ने दानी व्यक्ति) भन्छन् ।
विसं २०५४ मा महेन्द्ररत्न क्याम्पस ताहाचलमा अध्ययनरत रहँदा पहिलो पटक रक्तदान गरेको बताउने केसीले अहिलेसम्म ५०औँ पटक रक्तदान गरेर अरुलाई नयाँ जीवन दिएका छन् ।
केसीले हाइपोप्लाष्टिक एनिमिया भएर थलिएका, क्यान्सर भएर किमो गर्नुपर्ने अवस्थामा पुगेका, शल्यक्रिया गरेर सुत्केरी गराउनु पर्ने महिला, गाडी दुर्घटना भएकालगायत दर्जनौँ व्यक्तिलाई आफ्नो रगत दिएर बचाएका छन् ।
सामान्यतयाः रक्तदान गरेको तीन महिनापछि मात्र पुनः रक्तदान गर्न मिल्ने चिकित्सकको परामर्श रहने गर्छ । तर अरुको दुःख देख्नै नसक्ने केसीले तीन महिना नपुग्दै पुनः रक्तदान गरेर यही चैत १८ गते एकजना युवतीको ज्यान बचाएका छन् ।
केसीको रगत ‘ए’ पोजेटिभ समूहको हो । रक्त सञ्चार केन्द्र बेनीमा ‘ए’ पोजेटिभ समूहको आठ प्वाइन्ट रगत हुँदाहुँदै पनि ‘प्लेटलेट्स’ बढी भएका (७० किलोभन्दा बढी तौल भएका व्यक्ति)को रगत आवश्यक परेपछि केसीले ती युवतीलाई रक्तदान गरेर जीवन बचाइ दिएका हुन् । उनी जिल्लामा सबैभन्दा बढी रक्तदान गर्ने व्यक्तिको परिचय बनाएका छन् ।
केसीलाई उदार हृदय भएका सहयोगी मान्छे भनेर उनलाई नजिकबाट चिन्नेहरुले बताउने गर्छन् । अनेरास्ववियुका केन्द्रीय सदस्य एवं म्याग्दीका युवा समाजसेवी प्रकाश पौडेलले केसीलाई अरुको दुःख देख्नै नसक्ने र आफ्नो सुखको ख्यालै नगर्ने ‘विन्दास मान्छे’ को रुपमा चिन्ने गरेको बताए ।
केसी पत्रकार महासंघ म्याग्दीको पूर्व अध्यक्षसमेत हुन् । यातायात व्यवसायी र माउण्ट एभरेष्ट आवासीय माविका सञ्चालकसमेत रहेका उनी नेपाल रेडक्रस सोसाइटी म्याग्दीमा समेत आबद्ध छन् । (रासस )
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



