कामदारको स्वास्थ्य बुझ्न चिकित्सकको टोली मलेसिया जाँदै

काठमाडौँ, ११ असार । मलेसियामा रोजगारीका लागि पुगेका नेपाली युवाको मृत्युको कारण पत्ता लगाउन सरकारी चिकित्सकसहितको टोली मलेसिया जाने भएको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका युवाहरूको स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेपछि सरकारले चासो देखाएको हो ।
प्रतिवर्ष चार सयभन्दा बढी मलेसियामा कामका लागि पुगेका कामदारको मृत्यु कुनै न कुनै रोगका कारण हुने गरेको अनुमान गरिएको छ ।
स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठले मलेसिया सरकारले नेपाली कामदारको स्वास्थ्य अवस्था बुझ्न आउन भन्दै नेपाल सरकारलाई औपचारिक पत्र पठाएपछि विशेषज्ञ चिकित्सकसहितको टोली त्यसतर्फ जान लागेको जानकारी दिए ।
आगामी शुक्रबार जाने सरकारी चिकित्सकसहितको टोलीले एक साता लगाएर मलेसियामा काम गर्ने नेपाली कामदार र सम्बन्धित कम्पनीका मालिकसँग छलफल गर्नेछ ।
‘मलेसियामा काम गर्ने धेरै नेपाली युवा राति सुतेर बिहान उठ्ने समयमा मृत अवस्थामा फेला पर्ने गरेका छन्,’ श्रेष्ठले भने, ‘यस्ता घटना बढ्न थालेपछि मलेसियाली सरकारले हामीलाई अध्ययनका लागि बोलाएको हो । हामीले पाएको जानकारीअनुसार बढी कामदार हर्टअट्याकका कारण मृत्यु हुने गरेका छन् ।’
पहिलोपटक अध्ययन हुँदै
वैदेशिक रोजगारीमा गएका कामदारको स्वास्थ्य अवस्थाप्रति सरकार पछिल्लो समय गम्भीर बनेको छ । सरकारको आग्रहमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार प्राडा केदार बराल, सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा रामेश कोइराला, स्वास्थ्य मन्त्रालयका सनद केसी, राजीव पोखरेललगायतको टोली मलेसिया जान लागेको हो ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार बरालले नेपाली कामदारको स्वास्थ्य अवस्थाबारे जानकारी लिने सरकारी टोली पहिलोपटक मलेसिया जान लागेको बताए ।
पहिलोपटक सरकारले पाँच सदस्यीय टोली नेपाली कामदारको स्वास्थ्य अवस्था बुझ्न फिल्डमै पठाउने निर्णय गरेको जानकारी दिए । ‘एयरपोर्टबाट विभिन्न रोगका कारण सिधै नेपाल फर्कनु परेको यथार्थलाई पनि नेपाली टोलीले केलाउनेछ,’ बरालले भने, ‘के कारण रहेछ, औपचारिक जानकारी लिएर फर्कनेछौँ ।’
हाल मलेसियामा सात लाखको हाराहारीमा नेपाली कामदार रहेको सरकारी तथ्यांक छ ।
- आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीको समाचार
सम्पर्क इमेल : nepalihealthnews@gmail.com



नेपाली हेल्थ 
