गम्भीर घाईते १७ जनाको उपचार नेपालगञ्ज मेडिकल कलेजमा

नेपालगञ्ज, २७ फागुन । जाजरकोट गाडी दुर्घटनाका गम्भीर घाइते १७ जनालाई थप उपचारका लागि नेपालगञ्ज ल्याइएको छ । उनीहरुको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

गृह, स्वास्थ्य र रक्षा मन्त्रालयको संयोजनमा सेनाको नाईट भिजन हेलिकप्टर राती साढे १२ बजे रुकुमस्थित चौरझहारी अस्पतालमा गम्भीर घाइते १७ र ४ जना कुरुवा गरी २१ जनालाई नेपालगञ्ज ल्याएको हो । ती मध्ये ४ जना बालबालिका छन् ।

बाँकेका जनस्वास्थ्य प्रमुख खिमबहादुर खड्काका अनुसार ल्याइएका मध्ये २ जनाको अवस्था चिन्ताजनक छ । उनीहरुलाई आइसियुमा राखेर उपचार गरिएको छ ।

त्यसअघि राती ११ बजे घाइते लिन पुगेको नाइटभिजन मौसम खराविले चौरझहारी अवतरण हुन नसकेपछि रुपन्देही आएर बसेको थियो । सेनाले रातीनै दोस्रो पटक प्रयास गरी साढे १२बजे घाइते ल्याएको हो ।

नेपालगञ्जमा घाइते आउँदैछन् भनेर जिल्ला जनस्वास्थ्यको समन्वयमा विशेषज्ञ चिकित्सक, एम्बुलेन्स र अस्पताल बेलुका देखिनै तयारी अवस्थामा रहेका थिए । खड्काले भने, ‘घाइते जतिलाई एकै ठाँउमा राखेर उपचार गर्न सजिलो हुने भएकोले राप्ती अञ्चल अस्पतालका डाक्टर नर्स समेत बोलाएर नेपालगञ्ज अस्पतालबाट सेवा दिइएको छ ।’

यसअघि विहीबार दिउसो ४ बजे जाजरकोट सदरमुकामबाट साल्मा गाविस खारा तर्फ जाँदै गरेको भेरिमालिका ४ पासागडको घुमाउरो सडक खण्डबाट ४ सय मिटर तल खसेको थियो । सो दुर्घटनामा परि २६ जनाको ज्यान गईसकेको छ ।

खड्काले रुकुमको अस्पतालमा अहिले ६ जना खतरामुक्त घाइते रहेको र ६ जना सामान्य घाईते हिजो नै डिस्चार्ज भई अन्यत्र लागेको बताए ।
स्वास्थ्य मन्त्री गगन थापाले राती ट्वीट गर्दै विरामीलाई नेपालगञ्ज ल्याउने व्यवस्था मिलाएको जानकारी गराएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *